मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर   

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
gandharba ghar

गण्डकी ।  कुनै समय घुमाउने (गोलो घर) नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो । ढुङ्गा, माटो र काठले ती घर बन्थे । छानो खरको हुन्थ्यो । पहाडे वास्तु झल्काउने खालका झ्याल–ढोका हुन्थे । तर हिजोआज त्यस्ता मौलिक रुपमा घर देख्नै मुस्किल हुन थालेको छ । कतिपय ठाउँमा त घुमाउने घर संरक्षणको अभियान नै सुरु गरिएको छ । गन्धर्व जाति मात्र नभएर अन्य समुदायमा पनि छिटपुट रुपमा घुमाउने घर देख्न पाइन्छ ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौर पनि पुस्तौँदेखि गन्धर्व जातिको थातथलो रहेको ठाउँ हो । नेपाली लोकसङ्गीतका प्रसिद्ध गायक एवं सर्जक झलकमान गन्धर्वदखि सारङ्गीवादनमा ख्याती आर्जेका धनबहादुर गन्धर्वसम्मको जन्मथलो पनि बाटुलेचौर हो । त्यही बाटुलचौर नजिकै रहेको धार्मिक तथा ऐतिहासिक महत्वको महेन्द्र गुफा परिसरमा पर्यटकीय आकर्षण थप्न बनाइएको ‘ नमूना गन्धर्वघर’ भने मौलिकता बिर्सेर बनाइएको छ ।

उक्त गुफाको सौन्दर्यीकरण योजनाअन्तर्गत गन्धर्व सङ्ग्रहालय स्थापनाका लागि निर्मित उक्त घर कङ्क्रिटबाट बनेको छ । घरको संरचना गोलो आकारको भएपनि निर्माण सामग्री र अन्य संरचना बनाउँदा परम्परागत शैली अपनाएको देखिन्न । घरको पिढीँछेउ सिमेन्टका पिल्लर ठडाइएको छ । काठको ठाउँमा फलाम प्रयोग गरिएको छ । खर या ढुङ्गाले छाउनुपर्ने छाना जस्ताले छाइएको छ ।

महेन्द्र गुफा–चमेरे गुफा पर्यटकीय विकास समितिका सदस्य सचिव शिशिर पौडेलले गन्धर्व सङ्ग्रहालयको उद्देश्य अनुरुप घरको बाहिरी संरचनाले मेल नखाएको बताउनुभयो । “गन्धर्व जातिको परम्परागत घरको नमुना देखाउने गरी घुमाउने घर बनाइएको हो, तर कङ्क्रिट प्रयोग गर्दा मौलिकता देखिएन”, उहाँले भन्नुभयो, “सुरुमा लागत अनुमान गर्दा नै कमजोरी भएकाले पछि परिवर्तन गर्न सकिएन ।”

लागत अनुमान फेरेर ढुङ्गा, माटो र काठबाट मौलिक शैलीको गन्धर्वघर बनाउने विषयमा कुरा उठेपनि त्यसका लागि सहरी विकास तथा भवन कार्यालय तयार नभएको सदस्य सचिव पौडेलले बताउनुभयो । उहाँले गन्धर्व जातिको लाकप्रिय बाध्ययन्त्र सारङ्गीसहित मौलिक कला, संस्कृति, रहनसहन आदि झल्काउने सामग्री सङ्ग्रहालयमा राखिने बताउनुभयो । “बाटुलेचौर गन्धर्व जातिको प्रमुख बसोबास रहेको ठाउँ हो, अति कम जनसंख्या भएको लोपोन्मुख गन्धर्व जातिको पहिचान झल्काउने गरी सङ्ग्रहालयलाई व्यवस्थित गर्छौँ”, उहाँले भन्नुभयो । महेन्द्र गुफा सौन्दर्यकरण योजनाका लागि संरचना बनाउने जिम्मा पाएको लुना बिल्डर्सका सुपरभाइजर सुपीप खत्रीले ८५ प्रतिशत काम पूरा भएको बताउनुभयो । “भौतिक संरचना निर्माणको काम करिब सकिएको छ, अब रङ्रोगन, विद्युतीकरण, साजसज्जालगायतको काम बाँकी छ”, उहाँले भन्नुभयो, “यही महिनाभित्र काम सक्ने लक्ष्य छ ।”

गण्डकी प्रदेश सरकारको रु. आठ करोड ५८ लाखको बजेटमा महेन्द्र गुफामा पर्यटकीय संरचना निर्माणको काम भइरहेको हो । समितिका अनुसार सङ्ग्रहालय, गन्धर्वघर, खुला डबली, ढुङ्गे धारा, शिव लिङ्ग, सभाकक्ष, बगैँचा, विश्रामस्थल, पानीको फोहोरालगायतका संरचना निर्माण गरिएको छ । महेन्द्र गुफा परिसरमा निर्मित ती संरचनाले त्यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढ्ने समितिका सदस्य सचिव पौडेलले बताउनुभयो । “महेन्द्र गुफा आफैमा प्राचिन र प्राकृतिक महत्वको पर्यटकीय गन्तव्य हो, यहाँ नयाँ बनेका पूर्वाधारले पर्यटक थप वृद्धि हुने अपेक्षा लिइएको छ”, उहाँले भन्नुभयो ।

पोखरा–१६ बाटुलेचौरमा पर्ने महेन्द्र गुफा र चमेरे गुफालाई जोडेर गुरुयोजनामार्फत पर्यटकीय विकासको काम भइरहेको उहाँले बताउनुभयो । विसं २०७९ भदौमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले महेन्द्र गुफामा संरचना निर्माणको काम सुरु गरेको थियो । प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले केआइसिँह पुलदेखि महेन्द्र गुफासम्म अपाङ्गतामैत्री पैदलमार्ग निर्माणको काम पनि भइरहेको जानकारी दिनुभयो ।

विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले राजालाई गुफाको अवलोकन गराउन लगेपछि पछि गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो । एक सय २५ मिटर लम्बाइको महेन्द्र गुफामा देखिने विभिन्न देवीदेउताका आकृतिले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो समय महेन्द्र गुफामा भारतीतसहित विदेशी पर्यटकको संख्या पनि उल्लेख्य रुपमा बढेको समितिका सदस्य सचिव पौडेलले बताउनुभयो ।    रामबहादुर थापा /रासस

Related News

सम्बन्धित समाचार

  • पूर्व बैंकर सञ्जीवको ‘छोटु’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    चितवन । कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’ सार्वजनिक भएको छ । निर्वाचन आयोगका प्रमुख…
  • एसइई डान्स च्याम्पियनसिप उपाधि सृष्टिलाई

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । गण्डकी प्रदेशस्तरीय एसइई डान्स च्याम्पियनसिप उपाधि सृष्टि गुरुङले जितेकी छन् । यस्तै, प्रतिष्ठा कार्की दोस्रो र नीलकसना श्रेष्ठ…
  • सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ बारे परिचर्चा

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ बारे परिचर्चा गरेको छ । पत्रकार रीना थापा…
  • पुतलीबजारमा साहित्यिक गोष्ठी

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८१
    स्याङ्जा । पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यिक गोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगितासहित स्रष्टा सम्मान…
  • स्याङ्जाको चापाकोटमा सिर्जनशीलको कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्मय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा मंगलबार स्याङ्जाको चापाकोटमा विविध कार्यक्रम भएको छ…

hero news full width