‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
Gaidakot buddha

नवलपुर । २५६८ औं बुद्ध जयन्तीको अवसरमा गैंडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला कार्यशाला, प्रदर्शनी एवं कला संवाद भएको छ । बिहीबारबाट सुरु चित्रकला प्रदर्शनीमा स्थानीय १३ जना कलाकारले बनाएका १३ वटा तस्बिर राखिएका छन् ।

अहिंसा र सत्यको बाटो अंगालेर हामी अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिने गरी स्थानीय कलाकारले सिर्जना गरेको तस्बिर प्रदर्शनीमा राखिएको गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले बताए । कमल हिलोमै फुलेर सुन्दर फूल भएको जस्तै गौतम बुद्ध पनि दरबार छोडेर जमिनमै पुगेपछि फुल्नुभएको भन्ने सन्देश चित्रकलाबाट प्राप्त गर्न सकिने उनले बताए । ‘हिलोमा फुलेर कमलले प्रसिद्धि, सुन्दरता मात्रै पाएन यो पवित्र पनि छ,’ विनोदीले भने, ‘दरबार छोडेर जमिनमा पुगेपछि प्रसिद्धि कमाउनुभएको बुद्धलाई कमलसँग तुलना गरिएको छ ।’ संस्कृति र कलाको उत्थान नभएसम्म राष्ट्रको उन्नती हुन नसक्ने भन्दै विनोदीले प्राचीन कलाले नेपाललाई चिनाएको बताए ।

हाम्रो मौलिक पहिचान कलाबाट स्थापित गर्नुपर्ने भन्दै उनले पछिल्लो समय कला सिर्जना भए पनि प्रचारप्रसार हुन नसकेको गुनासो गरे । काठमाडौंमा हुने कला सिर्जना र त्यसबाहिर हुने कला सिर्जनाको गुणस्तरमा भिन्नता नभए पनि काठमाडौं बाहिर रहेका कलाकार र चित्रकला प्रदर्शनीबारे आमसञ्चार माध्यमले समेत कम महत्व दिने गरेको उनको भनाइ छ ।

कला संवादका क्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान सदस्यसचिव कलाकार भीम शर्माले संस्कृति, कला, कौशल र प्राकृतिक सम्पदाबाट ठाउँ चिनाउन सकिने बताए । मोफसलमा हुने कलासम्बन्धी प्रदर्शनीमा दर्शकको संख्या न्यून हुने भन्दै त्यस्ता प्रदर्शनीमा दर्शकबाट चित्रबारे प्रतिकृयासमेत नआउने बताए । ‘हामीले कोरेको चित्र हेर्ने मान्छे न्यून हुँदा र चित्रबारे प्रतिक्रिया नआउँदा हामीमा उत्साह थपिँदैन,’ उनले भने, ‘प्रदर्शनीमा राखिएका चित्रहरु बिक्रीसमेत हुँदैनन् र कलाकारको ऊर्जा ओइलाउँछ ।’
मोफसलमा कला बुझ्ने मान्छेको समेत कमी रहेको कलाकारको भनाइ छ । यस्तै, कला संवादमा साहित्यकार एवं समीक्षक उदय अधिकारीले साहित्यकार सरिता तिवारी, कलाकार प्रकाश थापा र पत्रकार रमेशकुमार पौडेलसँग संवाद गरे । पत्रकार रमेशकुमार पौडेलले मोफसलमा हुने कलासम्बन्धी कार्यक्रमबारे पत्रकारलाई कम जानकारी हुँदा सञ्चारमाध्यमबाट प्रचारप्रसार न्यून हुने गरेको बताए ।

कलाकार प्रकाश थापाले राजधानीबाहिर चित्र बुझ्ने मानिस न्यून हुँदा पनि प्रदर्शनीमा मानिसको संख्या न्यून हुने गरेको बताए ।

साहित्यकार सरिता तिवारीले कला महँगो हुँदा सबैको पहुँचमा पुग्न नसकेको बताइन् । स्थानीय सरकारको समेत कलाकारलाई प्रवद्र्धन गर्ने कार्यक्रम नहुनु, कलाकारले समुदायसँग सहकार्य नगर्नुलगायतका कारण चित्रकलाप्रति मान्छेको रुचि नबढेको भन्दै कलाकारलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

१० दिनसम्म हुने प्रदर्शनीमा राखिएका चित्रमा गौतम बुद्ध र कमलको सम्बन्ध देखाइएको छ । प्रदर्शनीमा कलाकार गोविन्दराज विनोदी, दामोदर (डी) बराल, प्रकाश थापा, बरुणबाबु घिमिरे, आकृति घिमिरे, भीम शर्मा, प्रमेश कँडेल, गोपाल तामाङ, सन्तोष श्रेष्ठ, नारायण सापकोटा, रामहरि श्रेष्ठ, सुलभ पौडेल र सुशील गुरुङले कोरेका चित्र राखिएका हुन् । ती चित्र बिक्रीको लागि खुला छ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान आयोजनामा सुरु प्रदर्शनीलाई हामी कलाकार नामक संस्थाले सहयोग गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…

hero news full width