प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८०
muktak

काठमाडौं । मुक्तककार प्रतिमा केसी ‘प्रवासी’ बेलायतमा साधनारत छन् । पर्वको छेको पारेर उनी नेपाल आइन् । आफन्त र साथीभाइका लागि कोसेली त पक्के ल्याइन्, त्यो भन्दा ठूलो मुक्तक पारखीका लागि उनले कृति बोकेर आइन् । नेपालमै जन्मे हुर्के पनि कामका सिलसिलामा उनी परदेशमा बस्छिन् । आखिर नेपाली मन न हो, यहाँको माटोको सुगन्धले उनलाई पछ्याइरह्यो । मनमा अनेक भावना उद्वेलित भए । तिनै भावनालाई उनले मुक्तकाकार दिइन् । तिनै मुक्तकको संगालेर प्रतिमा घरदेश फर्किइन् ।

केसीद्वारा लिखित १ हजार १ सय १२ मुक्तक समेटिएको मुक्तक कृति ‘प्रवासी मन’ मंसिर ५ गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा लोकार्पण गरियो ।

प्रज्ञाकोे लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनबीच आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार उषा शेरचनले कृति लोकार्पण गरिन् ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको उक्त कृतिमा केसीले करिब एक दशकको अवधिमा सिर्जना गरेका मुक्तक समेटिएको छ ।

प्रमुख अतिथि उषा शेरचनले यो कृति मुक्तकको एउटा महाग्रन्थ भएको र यसका सर्जक नेपाली भावना बोकेकी एउटा सशक्त डायस्पोरिक नारी हस्ताक्षर भएको बताइन् । बेलायतमा बसोबास गर्ने साहित्यकार प्रतिमा प्रवासीले नेपाली मुक्तक साहित्यमा बेजोड कृति पस्केर एउटा फरक पहिचान स्थापित गरेको चर्चा गरिन् ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार तथा प्रवासी मन कृतिका भूमिका समेत लेखेका डा. रुपक श्रेष्ठले मुक्तककार प्रतिमा केसी ‘प्रवासी’ को व्यक्तित्व र कृतित्व बारेमा चर्चा गरे । यसमा संग्रहित सबै मुक्तकहरू आफूले पढेको र ती सबै अत्यन्तै स्तरीय र पठनीय रहेको डा. श्रेष्ठको भनाइ थियो । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको सरुभक्तका मुक्तक संग्रह पोखरामा यसै साता लोकार्पण गरिएको छ ।

प्रतिमासँग अझै पनि हजारौं मुक्तक रहेको भन्दै डा. श्रेष्ठले अंग्रेजीमा आफ्नो जन्म गते र महिनालाई (११ डिसेम्बर) बुझाउने सांकेतिक अर्थमा १११२ मुक्तक समावेश गरेको प्रस्ट्याए ।

साहित्यकार तथा पुस्तकका समीक्षक ज्ञानु अधिकारीले नाम प्रवासी मन राखिए पनि यसले घरदेशको राजनीतिक अवस्था, सामाजिक चेतना, नारीका वेदना, परदेश रहँदा घरदेशको सम्झना, गाउँघरको याद, आध्यात्म चेत, सिंगो जीवन र जगतको विषय बोलेको एउटा संग्रहनीय कृति रहेको चर्चा गरिन् ।

कृतिका सर्जक प्रतिमा केसी प्रवासीले परिवारजनको हौसला, मुक्तक प्रेमीहरूको साहित्यिक संगत र मेरो आफ्नो निरन्तरको लगनले दोस्रो कृतिको जन्म सम्भव भएको बताइन । लोकार्पणकै क्रममा उनले संग्रहबाट रोज्जा मुक्तकहरू वाचन गरिन् । उनले आयोजक, भूमिका लेखक, शुभकामना लेखक, अग्रज साहित्यिकारहरू र उपस्थित आफन्तजनलाई धन्यवाद् व्यक्त गरिन् ।

कार्यक्रममा साहित्यकार तथा कलाकार रमेश पौडेलले यस कृतिको सम्पादन गर्ने क्रममा सम्पूर्ण मुक्तकहरू आफूले पढेको र यसले पोखरा घोषणालाई आत्मसात् गरेको बताए । २०७० मा जारी पोखरा घोषणपत्रमा मुक्तक चतुष्पदीय हुने उल्लेख छ ।

जसरी एउटा सफल पुरुषको सफलतामा नारीको ठूलो भूमिका हुन्छ त्यस्तै यो कृतिले पुस्तकाकार पाउनुमा प्रतिमा प्रवासीको जीवनसाथी कुमार केसीको ठूलो भूमिका रहेको पौडेलको भनाइ थियो । प्रतिष्ठानका पूर्वमहासचिव समेत रहेका पौडेलले नेपाल मुक्तक प्रतिष्ठान अब सानो गोरेटोबाट राजमार्ग भइसकेको यसमा हजारौं मुक्तककारहरूले यात्रा गर्ने तर मुक्तक लेखनको गुणस्तरबारे निकै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा हातेमालो संगमका अध्यक्ष सुनिल अधिकारीले विमोचित कृतिका केही थान मुक्तकहरू वाचन गर्दै कृतिले नेपाली मुक्तकको क्षेत्रमा सुनौलो आयाम थप्ने कुरा बताए ।
रहरको सहर यो मनबाट सपनाहरु खसेपछि
एक एक यादहरु हृदयमा सूल बनेर पसेपछि
विष नभए पनि लाग्छ सर्पले जस्तै मार्छ फेरि
खुसी आफै भाग्दो रहेछ आँसुमा लत बसेपछि ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रामकाजी कोनेले प्रवासीको प्रवासी मनको संक्षिप्त चर्चा गर्दै कृति सफलताको मुक्तकिलो बधाई तथा शुभकामना व्यक्त गरे । उनले नेपाल मुक्तक प्रतिष्ठान र सर्जकको निमन्त्रणामा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । फोटोमा मुक्तकका अभियन्ता तथा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले कृतिको विविध पक्ष बारेमा चर्चा गरेका थिए । नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईको सञ्चालन र प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width