उल्लेरीको थाप्ले सिद्धमा पूजा

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
Siddha baba

पोखरा । कोजाग्रत पूर्णिमाको अवसरमा पोखरा–२२ उल्लेरीको थाप्लेडाँडास्थित सिद्धबाबा मन्दिरमा पूजा गरिएको छ । उक्त मन्दिरमा जेठको चण्डी पूर्णिमा र दसैंको कोजाग्रत पूर्णिमामा गरी २ पटक परम्परागत रुपमा पूजा हुँदै आएको छ ।

पछिल्लो समय उक्त स्थानमा बौद्ध स्तूप निर्माण भएपछि गत ३ वर्षदेखि सिद्धबाबाको साथै स्तूपमा पनि पूजा हुने गरेको पूजारी प्रेम शर्मा पौडेलले जानकारी दिए । रोगव्याधी नलागोस्, दैवी विपत्ति नपरोस्, अन्नबाली, पशुचौपायको संरक्षण होस् भन्ने कामनाका साथ सिद्धपूजा हुने गरेको उनले बताए ।

थाप्लेमा पहिले सिद्ध तपसीले तपस्या गरेको स्थल भएको हुँदा उक्त स्थानको दर्शन मात्रले पनि मनोकांक्षा पूरा हुने तथा आँटे ताकेको काम पूरा हुने जनविश्वास छ । उक्त स्थानको विकासको लागि सिद्धबाबा थाप्ले टाइगर हिल धार्मिक तथा पर्यटन विकास समिति गठन भएपछि थाप्लेमा विभिन्न निर्माणका कामहरु भएका छन् ।

समितिबाट उक्त स्थानमा मचान (टावर), स्तूप, पौवा, भान्सा, शौचालय तथा उल्लेरीदेखि सिँढी निर्माण गरिएको अध्यक्ष मनबहादुर गुरुङ (मनसिंग) ले बताए ।
प्रसिद्ध धार्मिक स्थल सिद्धबाबाको भव्य मन्दिर बनाउने समितिको सोच रहेको कोषाध्यक्ष गौरीप्रसाद गुरुङले जानकारी दिए ।

पोखराबाट सिद्धार्थ राजमार्गको १५ किलोमिटर दूरीमा रहेको कुभिण्डे भञ्ज्याङदेखि ३ किलोमिटर उत्तरतर्फको यात्रापछि पर्यटकीय गाउँ उल्लेरी पुगिन्छ । उल्लेरीबाट एक घन्टा पदयात्रा गरेपछि सिद्धबाबा थाप्ले पुग्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग