काठमाडौं । वरिष्ठ अर्थशास्त्री एवं लेखक स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसर सार्वजनिक गरिएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आइतबार आयोजित एक विशेष समारोहमा पुस्तक लोकार्पण गरिएको हो । नेपाली कांग्रेस नेता एवं सांसद् गगन थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झा र लेखक वाग्लेले पुस्तक लोकार्पण गरे । पुस्तक फाइनप्रिन्ट बुक्सले प्रकाशनमा ल्याएको हो ।
पुस्तक लोकार्पणसँगै पत्रकार अमीत ढकालको सहजीकरणमा समसामयिक अर्थ–राजनीतिक विषयमा विमर्शसमेत गरियो । कार्यक्रममा नेता गगन थापाले भने वाग्लेको यो पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि बढी उपयोगी रहेको बताए ।
‘पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीमा आधारित छ । नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे पुस्तकमा अभिव्यक्त विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन्,’ उनले भने, ‘तथ्यसंगत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु ।’
शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ–राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्व चिरस्थायी रहेको थापाको दाबी छ ।
योजना आयोगकी पूर्व सदस्य झाले अल्पकालीन सरकारका कारण विकासमा हुने गरेका अवरोध चिर्न दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । अतृप्त अवसर पुस्तकले पनि यही किसिमको विचार अभिव्यक्त गरेको उनको भनाइ छ । ‘हामीकहाँ विशेषगरी मेरो सरकार भन्ने परिपाटी छ । छोटो अवधिमा आउने सरकारले भने जस्तो एकै पटक विकास गर्न सक्दैन,’ उनले भनिन्, ‘त्यसैले एउटा सिस्टम बसालेर राजनीतिक दलहरुलाई त्यसको फेसिलेटरका रुपमा अघि बढाउँदा बढी उपयोगी हुन सक्छ । विकास पनि राम्ररी हुन सक्छ ।’
नेपालमा उत्कृष्ट नीति बन्ने तर कार्यान्वयनको तहमा कच्चा भइदिँदा समस्या हुने गरेको उनको भनाइ छ । अब पाँच वर्ष होइन, २५ वर्षसम्मका योजना बनाएर नेपालको विकासमा अघि बढ्नुपर्ने र सबै राजनीतिक पार्टीहरुले त्यसमा प्रतिबद्धता जनाएर कार्यान्वयनको तहमा जानुपर्ने उनले बताइन् । जुन पार्टी आए पनि तिनले जनताकै हितमा काम गर्ने भएकाले एउटा नेतृत्वले उठाएका एजेन्डालाई अर्काे नेतृत्वले निरन्तरता दिनुपर्ने व्यवस्था उपयोगी हुने पनि उनको भनाइ छ ।
नेपालको इतिहासमा जुद्धशमशेरपछि अपूर्व अवसरकासाथ केपी ओली नेतृत्वको सरकार आएको उल्लेख गर्दै लेखक वाग्लेले यस्तो अवस्थामा पनि सोचेअनुसार गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राखे । तत्कालीन ओली नेतृत्वको सरकारका अवसर र उनका समयमा गर्न सकिने तर नगरिएका विषयलाई आफूले पुस्तकमा समेटेको लेखक वाग्लेको भनाइ छ । साथै नेपालको विकासका लागि अपनाउन सकिने विकासको मोडल र पद्धतिका विषयलाई पनि आफूले पुस्तकमा समेटेको वाग्लेले बताए । बोलीचालीको सरल एवं सहज भाषामा आफूले लेख तयार गरेको र तिनलाई सर्वसाधारणले समेत बुझ्ने तहमा प्रस्तुत गर्ने जमर्काे गरेको उनले जानकारी दिए ।
सन् १९७४ मा गोरखाको बुङ्कोटमा जन्मिएका वाग्लेले लन्डन स्कुल अफ इकोनमिक्स (बेलायत)बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । सन् २०२० देखि २०२२ सम्म न्युयोर्कस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को मुख्यालयमा एसिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार रहेका वाग्ले त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्य थिए ।
२५ वर्षदेखि अन्तर्राष्ट्रिय विकासमा सक्रिय वाग्ले विश्व बैंक (वासिङटन) र युएनडिपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका छन् । उनी काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य एवम् सर्वाङ्गीण विकास अध्ययन संस्था (आइआइडिएस)का अध्यक्ष छन् । सन् १९९० को एसएलसीमा नेपाल दोस्रो (बोर्ड सेकन्ड) भएका वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिमण्डलको मन्त्रीस्तरीय नेतृत्व गरेका छन् । अर्थशास्त्र, राजनीति र इतिहासमा प्राज्ञिक रूचि राख्ने वाग्लेले विश्वका ६० देश र नेपालका सबै क्षेत्रको भ्रमण गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१