वालिङले बनायो ६१ कानुन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
waling-nagarpalika

वालिङ । वालिङ नगरपालिकाले ६१ कानुन बनाई लागु गरेको छ । संघीय संरचनाको सुरुवातसँगै स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग नबाझिने गरी कानुन बनाउने प्रावधान छ । सोही अनुरुप आफैंले कानुन बनाउन पाउने भएपछि ५ वर्ष अवधिमा गाउँपालिकाले ६१ वटा बनाएको जनाएको छ ।

नगरपालिकाले २०७४ देखि हालसम्म १८ ऐन, ६ नियमावली, ३ निर्देशिका र ३४ वटा कार्यविधि बनाएर लागु गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । १८ ऐन नगर सभाबाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएसँगै कार्यान्वयनमा ल्याइएको हो भने नियमावली, निर्देशिका र कार्यविधि कार्यपालिकाको बैठकबाट स्वीकृत गरी राजपत्रमा प्रकाशनपश्चात कार्यान्वयनमा आएका हुन् ।

‘स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाको ४ वटा आयाममध्ये स्मार्ट गभर्नेन्स पनि एउटा हो,’ प्रमुख खाँणले भने, ‘स्मार्ट गभर्नेन्समध्येको ४ वटा आयाममध्ये विधिको शासनअन्तर्गत स्थानीय पालिकाको एकल अधिकारभित्र पर्ने क्षेत्र समेटेर ऐन, नियमावली, निर्देशिका, कार्यविधि बनाएर कार्यान्वयनमा छ ।’

कानुन निर्माणक्रममा सरोकारवाला तथा समुदायसँग छलफल गरी सम्बन्धित विषयविज्ञको सहायतामा कानुन निर्माण गर्दा त्यसको प्रभावकारी कार्यान्वयन, नागरिकले अपनत्व गर्ने खालको हुनुका साथै दीगोपना हुने दावी प्रमुख खाँणको छ ।

स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले संघ र प्रदेशसँग नबाझिने गरी आवश्यकताका आधारमा कानुन निर्माण गर्दै आएको उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले बताइन् । ‘नगरपालिकामा कानुन निर्माण गर्दा विधायन समिति तथा सम्बन्धित विषयका विशेषज्ञको राय, सुझाव तथा परामर्श तथा सरोकारवाला निकायलाई पनि सहभागी बनाएर छलफल गर्छांै,’ उपप्रमुख तिवारीले भने, ‘छलफलबाट प्राप्त सुझावहरुलाई समेटेर निश्चित चरण पार गरी कार्यान्वयन गर्छौं ।’

कतिपय कानुन केन्द्रीय सरकारले गरेको ड्राफ्ट आधार मानेर स्थानीयकरण गरी सरोकारवालाबीच दफाबार छलफलपश्चात कार्यपालिका बैठक वा नगरसभाबाट स्वीकृत हुँदै राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लैजाने गरेको उपप्रमुख तिवारी बताउँछिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width