लमजुङमा ४ दलबीच चुनावी तालमेल

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७८
Gathabandhan99

लमजुङ । लमजुङमा सत्ता गठबन्धनका ४ दलका बीचमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । ती दलका प्रमुख र प्रतिनिधिहरू सहभागी दलहरूको संयुक्त बैठकले त्यस्तो सहमति गरी संयुक्त विज्ञप्तिसमेत मंगलबार जारी गरेका छन् ।
गठबन्धनमा आबद्ध दलहरूको जिल्ला समितिको संयुक्त बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका ८ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी अघि बढ्ने सहमतिको पक्षमा निर्णय गरेको जानकारीमा आएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङको अध्यक्षतामा बसेको गठबन्धन दलहरूको संयुक्त बैठकले गुरूङकै संयोजकत्वमा स्थानीय तह निर्वाचन जिल्ला संयन्त्र बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रामबाबु अधिकारीले बताए । उनकाअनुसार संयन्त्रमा नेकपा (माओवादी केन्द्र) का जिल्ला समन्वय संयोजक एवं गण्डकी प्रदेशका जनसंख्या तथा स्वास्थ्य मन्त्री मधु अधिकारी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width