नियन्त्रण बाहिर तोराखेतको पहिराःदुई गाउँ उच्च जोखिममा

रासस
चैत्र १९, २०७८

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेतको पहिरा नियन्त्रणको कुनै उपाय नभएपछि दुईवटा गाउँ उच्च जोखिममा परेका छन् ।

डेढ दशक अघिदेखि खस्न सुरु गरेको यो पहिराले वर्षेनी उग्ररुप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् । पहिरा नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ३० भन्दाबढी घर उच्च जोखिममा परेका छन् भने पहिराकै कारण तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भएका छन् ।

विसं २०७२ सालको भूकम्पका कारण जमिनको सतहलाई खल्बल्याएपछि उक्त पहिरा थप जोखिमपूर्ण बनेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताउनुभयो । शुक्रबार (हिजो) पहिराको निरीक्षणका लागि तोराखेत पुग्नुभएका कार्की र नेपाली कांग्रेस म्याग्दीका नेता तथा भकिम्लीका स्थानीयवासी दुर्गाराम सुवेदीले तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको, मुख्य पहिराको तलपट्टिका वस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेको बताउनुभयो ।

माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिनेक्रम बढेपछि तोराखेतको पहिरा वरपरको क्षेत्रमा वसोवास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरुककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । तल विशाल चट्टाने पहराबीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मिटर माथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटरबाटो छ ।

भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरुककोटको सीमा नजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासी बताउँछन् । कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरा, जङ्गल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरा तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ । तोराखेतको पुछारमा रहेको धुपिरुखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताएका छन् । भिरालो जमिन माथिबाट नै लच्किँदै आएका कारण विगतका वर्षमाभन्दा यस वर्षको वर्खायाममा बगरफाँट गाउँ खतरायुक्त रहेको बताइएको छ । स्थानीयवासीका अनुसार विगतको वर्षका तुलनामा यस वर्ष तोराखेतको वस्ती नजिकको जमिन धेरै नै भासिएको छ । गाउँको पूर्वपट्टि करिब ३५० मिटरको दुरीमा रहेको धुपीरुखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिन पनि ठाडोमुख चिरिएको छ । पहिराका कारण सदरमुकाम बेनीबजारसँगै सीमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी त्रसित हुने गर्दछन् ।

पहिरो र नदी कटानको चपेटामा बगरफाँट
हिउँदमा सुत्छन्, वर्षामा जाग्राम बस्छन्, बगरफाँटवासी । गाउँको शिरानमा पहिरा र पुछारमा म्याग्दी नदीको कटान । यी दुबै कारणले बगरफाँटवासी हिउँदमा सुत्ने र वर्षामा जाग्राम वस्ने वाध्यतामा छन् ।

गाउँको शिरानमा रहेको तोराखेतको पहिराले हरेक वर्ष वर्षायाममा गाउँलेलाई त्रसित बनाउने गरेको छ भने पु्छारमा बग्ने म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेको छ । सदरमुकामदेखि नजिकैको गाउँ भएर पनि बगरफाँटमा विकास निर्माण हुन नसक्नुको पछाडि गाउँको पुछारमा रहेको म्याग्दी नदी र शिरानमा रहेको विशाल पहरो । त्यसमाथि तोराखेतको पहिरा मुख्य कारण रहेको स्थानीयवासी बताउँछन् ।

तोराखेतको पहिराका कारण गाउँ उच्च जोखिममा परेको छ । पहिरा नियन्त्रण वा व्यवस्थापनमा भने कुनै पहल हुन नसकेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width