पर्यटन र कृषि आर्थिक उन्नतिका आधार: अर्थमन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
eco

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले गण्डकीको आर्थिक उन्नतिका लागि पर्यटन र कृषिलाई अघि बढाउनुपर्ने बताएका छन् । उनले कोरोनाबाट प्रमुख पर्यटकीयस्थल पोखरा प्रभावित भएको उल्लेख गर्दै यहाँको सीपयुक्त जनशक्ति जोगाउनुपर्ने बताए ।
आइबिएन मिडिया एन्ड रिसर्च प्रालि र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान’ विषयक छलफल उनले सो कुरा बताएका हुन् ।
आर्थिक उन्नतिका लागि पर्यटन र कृषिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्दै उनले कृषिमा न्युन ढंगले बजेट विनियोजन भएको स्वीकारे । पर्यटन र कृषि गण्डकीका समृद्धिका आधार भएको उनको भनाइ छ । मन्त्री बरालले भने, ‘प्रदेश सरकारले सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्छ, यदि उनीहरु विदेशीन बाध्य भए भने कोरोनाबाट थलिएको पर्यटन माथि उठाउन गाह्रो हुन्छ ।’ सीपयुक्त कामदारलाई टिकाउन राज्यको तर्फबाट राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता रहेको मन्त्री बरालको भनाइ थियो । उनले भने, ‘कोरोनाले गर्दा सबै क्षेत्रमा प्रभाव मात्र भएन, त्यसलाई हामीले अवसरको रुपमा ग्रहण गर्न नसक्नु हाम्रो ठूलो भुल हो, त्यही बेला हाम्रो ध्यान कोरोनाबाट कसरी बच्ने भन्नेतर्फ मात्र ध्यान केन्द्रित भयो ।’ रोजगारी गुमाएर फर्केका नागरिकलाई क्वारेन्टाइनमा राखेर विभिन्न किसिमका व्यावसायिक प्रशिक्षण दिनुपर्नेमा त्यो विषयमा प्रदेश चुकेको उनले बताए ।
व्यवसाय जीवनरक्षा कोष कोरोनाबाट प्रभावित भएका साना तथा मझौला व्यवसायीको लागि राज्यको तर्फबाट संरक्षण गर्नुपर्छ भनी ल्याइएको कोष भएको दाबी गरे । उनले कोष लक्षित समूहसँग पुग्न नसकेको हुँदा प्रदेश सरकारले क वर्गका बैंकबाट मात्र ल्याइएकोमा अहिले ख वर्गका विकास बैंकबाट समेत यही चैत १९ सम्म आवेदन दिन सकिने जानकारी दिए ।
खर्बौं खाद्य पदार्थ आयात हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले नेपालमा आवश्यक हुने खाद्य पदार्थ उत्पादन गर्न सकिने दाबी गर्दै उत्पादनलाई बढावा दिन सुझाव दिनु भयो । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले संघीयताको पहिलो कार्यकालमा अपेक्षाकृत ढंगले संघीयता अघि नबढे पनि निराशाजनक हुने अवस्था भने नभएको जनाए ।

‘अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान’ विषयक छलफलमा सरोकारवालाले कोरोनाले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै चिन्ता व्यक्त गरे

राजनीतिक स्थायीत्व कायम हुन नसके समृद्धिको कल्पनामात्र हुने उल्लेख गर्दै मन्त्री बरालले राजनीतिक स्थायित्व नै समृद्धिको पहिलो आधार भएको बताए । विकासको लागि मानव संशासन ठूलो कुरा भएको उनको बुझाइ थियो । उनले भने, ‘घर अगाडि चिल्लो बाटो त तर सामाजिक रुपमा उपेक्षित छ भने त्यसको अर्थ हुँदैन, यो सामाजिक न्यायसँग जोडिन्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अब राजनीति कुरा गरेर मात्र नहुने, कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्ने गरी काम गर्नुपर्ने बताए । साना तथा मझौला व्यवसायीहरुलाई पुनरुत्थान नगरी कोभिडबाट प्रभावित भएको व्यवसायीलाई माथि उठाउन नसकिने पूर्व अध्यक्ष मुल्मीले बताए । नीति नियम बनाए पनि त्यसको कार्यान्वयनमा कठिनाई भएको उल्लेख गर्दै मुल्मीले व्यवसाय जीवनरक्षा कोष प्रभावकारी ढंगले लागु हुन नसकेको टिप्पणी गरे । मूल्यवृद्धि बजार अनियन्त्रित भएको विषयमा अर्थमन्त्रीसहितका अन्य सरोकारवालाले नियमन गर्नुपर्ने उनको जोड छ । राज्य संचालनका निकाय थप जिम्मेवार हुनुपर्ने मुल्मीले बताए ।
कार्यपत्र प्रस्तुत गर्दै प्राडा रेशम थापाले कोभिडको कारण नेपालको अर्थतन्त्र करिब ५ वर्षपछि धकेलिएको बताए । आर्थिक गतिविधि संचालन भए पनि पहिलाको तुलनामा करिब ७२ प्रतिशत मात्र आर्थिक क्रियाकलाप हुने गरेको बताए । गण्डकी प्रदेशको पर्यटन र रेमिट्यान्स प्रभावित हुदा धेरै क्षेत्रमा यसको असर पर्ने उनको भनाइ छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै अर्थशास्त्री प्राडा लेखनाथ भट्टराईले गण्डकीमा कोभिडबाट पर्यटन, यातायात, कन्स्टक्सन लगायतको क्षेत्रमा बढी प्रभाव परेको बताए । रेमिट्यान्स पर्यटनको अभिन् अंग नभएको उल्लेख गर्दै उनले रेमिट्यान्स अनउत्पादन क्षेत्रमा लगानी भएको दाबी गरे । प्रदेश सरकारलाई आफूहरुले दिएको सुझाव खासै मनन नगरेको उनको गुनासो थियो ।
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले आयातमुखी हाम्रो अर्थतन्त्रलाई अब निर्यातमुखी र आयात कम गरी उत्पादनमा जोड दिनुपर्ने बताए । आइबिएन मिडिया एन्ड रिसर्चका प्रबन्धक हृदयराज गौतमको अध्यक्षतमा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक विश्वमोहन अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width