संरक्षणमा चासो नदिँदा लोप भए पानीघट्ट

रासस
फागुन १६, २०७८
Panighatta

गलेश्वर । विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्टलगायतका मौलिक सम्पदा लोपहुँदै गएका छन् ।

एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानीघट्ट अहिले लोप भएका हुन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो ।

गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो ।

अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानी घट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ ।

मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीले केही वर्ष अगाडिसम्म पानीघट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई/तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पाटपूर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् ।

मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीयवासी रणबहादुर बुढाको भनाइ छ । उहाँले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइुुँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानीपिसानीको लागि जाने गरेको बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको दुई दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका मालिका गाउँपालिका वडा नं २ रुमका पृथु विकले बताउनुभयो ।

त्यसका साथै एक दशक अघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेकाले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने म्याग्दीको इतिहास तथा संस्कृतिका अध्यता कृष्णबहादुर बानियाँ बताउनुहुन्छ ।

पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने मालिका–२ रुमका वडाअध्यक्ष नरबहादुर पुन बताउनुहुन्छ । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोटलगायतका गाउँमा फाटफुट पानी घट्ट चल्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width