अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

रासस
फागुन १४, २०७८
Ukraine

किभ । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ ।

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ ।

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उहाँले अस्वीकार गर्नु भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उहाँलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उहाँले अस्वीकार गरेको जनाएका छन् ।

अमेरिका अधिकारीहरूलाई उहाँले जवाफ दिनुभएको छ, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।”

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहनु भएका उहाँको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।

जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उहाँले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राख्नु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width