पोउवा संघको वार्षिकोत्सवमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ २६, २०७८
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघले ६८ औं वार्षिकोत्सव अवसरमा मंगलबार नवीन मावि, गैह्रापाटनलाई शैक्षिक सामग्री सहयोग गरेको छ । पोखरा–४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला र संघ अध्यक्ष नारायण कोइरालाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रनिधि कोइराला तथा प्रअ शिरोमणि लामिछानेलाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।
वडाध्यक्ष बास्तोलाले वडाको एकमात्र सामुदायिक विद्यालयलाई संघले गरेको सहयोग आफैंमा सह्रानीय भएको बताए । आफू १७ वर्षसम्म संघको साधारण सदस्य रहेको र त्यही संघले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा वडाको विद्यालयलाई सहयोग गर्नुलाई उनले संयोगमात्र नभएर अविष्मरणीय कार्यको संज्ञा पनि दिए । संघले जनप्रतिनिधिविहीनताको अवस्थामा जनप्रतिनिधिको भूमिका खेलको स्मरण गर्दै उनले भने, ‘हिजो पोखरा उद्योग वाणिज्य संघले सेमी–जनप्रतिनिधिको भूमिका निभाएको थियो, अहिलेको अवस्थामा हामी उहाँहरुसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौं ।’ उनले राजस्व वृद्धि गराउन एवं व्यावसायिक वातावरण निर्माणमा लाग्न संघ नेतृत्वसँग आग्रह पनि गरे ।
संघ अध्यक्ष नारायण कोइरालाले आफूले कखरा सिकेको विद्यालयलाई संघको वार्षिकोत्सवको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । पोखरा उद्योग वाणिज्य संघ सधैं समुन्नत पोखराको पक्षमा रहेको स्पष्ट पार्दै उनले विद्यालयस्तरबाटै उद्यमशीलता सिकाउने अभियान थालिनुपर्ने र सो अभियानलाई संघलेले सघाउने उद्घोष गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोइरालाले संघ र नवीन स्कुल एउटै वडामा रहेको तथ्य पेस गर्दै नजिक भएकाबाट सहयोगको अपेक्षा बढी हुने यथार्थता बुझ्न संघ नेतृत्वसँग आग्रह गरे । पोखराको आर्थिक गतिविधिलाई चलायमान बनाउन संघ अझ सक्रिय हुनुपर्ने पनि उनको सुझाव थियो ।
संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले शिक्षाको विकासको लागि संघले यथाशक्य सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखराको शिक्षा,स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि संघको स्थापनाकालदेखि भएका कामको चर्चा गरे । विद्यालयका प्राचार्य लामिछानेले पोउवा संघले विद्यालयलाई उपलब्ध गराएको छात्रवृत्ति,विद्यालय समयपछिको लागि शिक्षक व्यवस्था गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । संघका महासचिव सुरेन्द्रमान विजुक्छेको कार्यक्रम संचालन गरेका थिए ।
यसैबीच, संघको वार्षिकोत्सवको उपलक्ष्यमा संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तलन गरिएको छ । संघका पूर्व अध्यक्षद्वय सुरेशराज राजभण्डारी तथा कृष्णमोहन श्रेष्ठ तथा हालका अध्यक्ष नारायण कोइरालाले झण्डोत्तलनसँगै शुभकामना साटासाट गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width