उपन्यास ‘चक्रधूम’ विमोचन

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
chakra dhum bimochan news

पोखरा । रेशम गिरीद्वारा लिखित ‘चक्रधूम’ उपन्यास शनिबार विमोचन गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार पोखरामा आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उपन्यास विमोचन गरेका हुन् ।
उपन्यकासकार गिरीले ‘चक्रधूम’ परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित सामाजिक उपन्यास भएको बताउँछन् । असुरक्षित नारीहरूका समस्या प्रस्तुत गरेको उपन्यासमा बच्चादेखि वृद्धासम्मले भोग्नुपरेको त्रासदीपूर्ण अवस्थाको चित्रण गरिएको छ ।
समाजमा अन्याय सहेर बस्न विवश नारीका पीडा र अपराधीका चलाखीपूर्ण व्यवहारले आहत मनमा परेको गहिरो घाउको मार्मिक वर्णन उपन्यासमा पाइन्छ । अपराधीको चलखेल, कानुनका छिद्रको प्रयोगद्वारा पाइने सफाइ र पीडित पीडकबाट झनै असुरक्षित रहनुपर्ने सामाजिक बाध्यतालाई कौतुहलपूर्ण तरिकाले यसमा पस्कन खोजिएको छ ।
समारोहमा सरुभक्तले अदालतभित्रका विषयवस्तुमा कमै मात्र पुस्तक प्रकाशन हुने गरेको भन्दै श्रष्टा गिरीले गरेको प्रयासको प्रशंसा गरे । उपन्यासभित्र पाठकले नयाँ स्वाद भेट्ने विश्वास उनको थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा श्रष्टा परिचय डोलराज अर्यालले गराए । उनले श्रष्टा गिरीको बहुआयामिक प्रतिभा तथा उपन्यास चक्रधूम आकर्षक बनाउन गरेको प्रयासका बारेमा बेलिबिस्तार लगाए । उपन्यासबारे आफ्नो आत्मानुभूतिसहितको चर्चा गर्दै डा.भूमिराज बस्ताकोटीले केही रमाइला प्रसंग सुनाए ।
पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले लेखक गिरी कास्कीकोटको अमूल्य सम्पत्ति भएको बताए । गिरीको सक्रियता र मिहिनत सबैका लागि अनुकरणीय हुने गरेको उनको भनाइ थियो ।
प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत मन्तव्य राखेका थिए । प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलोपटक पुस्तक विमोचन गरेको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
प्रकाशक बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बिसीले पुस्तकले पाठकको मन जित्नेमा विश्वास व्यक्त गरे ।

लेखक गिरीले आफ्नो लेखनकलाको माध्यमबाट साहित्य क्षेत्र तथा शिक्षण क्षेत्रमा बेग्लै पहिचान बनाए । ‘संविधान’ मुक्तक संग्रह उनको पहिलो प्रकाशित साहित्यिक कृति हो । अनिवार्य नेपाली अभ्यास पुस्तक कक्षा १०, नेपाली व्याकरण बोध अभिव्यक्ति र प्रयोगात्मक अभ्यास कक्षा ८, शिक्षक सेवा आयोग परिक्षा सफलता मञ्च सामाजिक अध्ययन माध्यमिक तह र निम्न माध्यमिक तह, मेरो एसइई सामाजिक अध्ययन र अभ्यास, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, मेरो सजिलो सामाजिक अध्ययन र अभ्यास कक्षा ८ र कक्षा ९ शिक्षासँग सम्बन्धित उनका प्रकाशित पुस्तक हुन् ।
स्रष्टा गिरी हाल न्याय सेवामा कार्यरत छन् । शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील उनीसँग राजधानी दैनिकको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको क्षेत्रीय प्रमुख, कालिका उच्च मावि, कास्कीकोटको सहायक प्राचार्य, शैक्षिक जनशक्ति विकास केन्द्र पोखराको सामाजिक अध्ययन विषयको रोस्टर प्रशिक्षक, कास्कीकोट दिग्दर्शनको सम्पादकसमेतको अनुभव छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width