देवघाट क्षेत्रलाई धार्मिक पर्यटन र वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
devghat photo (4)

देवघाट (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षालाई प्रभावकारी र जीवनोपयोगी बनाउन ३ तहकै सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पोखरेलले प्रदेश शिक्षा क्षेत्रमा देखिएका द्विविधा हटाएर थप प्रभावकारी रुपमा अगाडि बढ्न प्रदेश सरकार लागिरहेको बताएका हुन् ।
भूकम्प पुनर्निमाण प्राधिकरणले विद्यालयका लागि बनाइदिएको ४ कोठे भवनको उक्त अवसरमा मुख्यमन्त्रीले उद्घाटन गरेका छन् ।
पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीलाई आकर्षित गर्ने खालका विषयवस्तु समावेश गरी व्यावहारिक र रोजगारमुखी शिक्षाको विकासका लागि विज्ञहरुको सल्लाह र सुझाव समेट्दै प्रदेश सरकारले शिक्षा नीति ल्याइसकेको उनले बताए । उनले भने, ‘माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई छ, पालिकासँगको सहकार्यमा प्राथमिकता र आवश्यकता आधारमा प्रदेश सरकारले शिक्षा क्षेत्रमा काम गर्दै जानेछ ।’
देवघाट क्षेत्रमा नागरिकले प्रदेश सरकारबाट धेरै अपेक्षा राखेको भन्दै उनले पूण्यभूमि देवघाटको विकासमा प्रदेश सरकारले कुनै कसर नराख्ने बताए । गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै, कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी उनले गराए । धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउनले प्रतिबद्धता पनि उनले जनाएका छन् ।
विगतका समयमा बाटोघाटो र पुल नहुँदा समस्या भए पनि अब दासढुंगाबाट प्रवेश गरेर गैंडाकोट निस्कनका लागि संघ सरकारको लगानीमा नारायणीमा पुल बन्दै गरेको र जुक्ति खोलमा प्रदेशकै लगानीमा पुल राख्न लागिएकोसमेत उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘पुल थिएन, बाटो थिएन, कनेक्टिभिटी थिएन, अब त्यो समस्या हल हुँदै गएको छ ।

मुख्यमन्त्रीले देवघाटमा रहेका ३ वटा संस्कृत विद्यापीठको अवलोकन गरेका छन्

देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेको बारे आफू जानकार रहेको भन्दै यो सरकारले भूमिहीनलाई लालपुर्जा दिलाइछाड्ने प्रतिबद्धता जनाए । पहिला सूचना प्रविधिको प्रयोग कम हुँदा भूमिपतिहरुले पनि सुकुम्वासीका नाममा जग्गा लिने परिपार्टी भए पनि अब त्यो गल्ती नदोहोरिने उनको भनाइ थियो । कसको नाममा कहाँ र कति जमिन छ भन्ने कुरा अब मालपोतको प्रणालीमै देखिने भएकाले अब वास्तविक सुकुम्वासीले मात्रै जग्गा पाउने बताए ।
प्रदेशले सीमित बजेटबीच पनि आफूलाई अगाडि बढाइरहेको भन्दै नागरिकलाई महसुस हुने गरी काम गरिरहेको उनले बताए । पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार, कोभिडले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ दिने गरी बजेट ल्याएको उनले दोहो¥याए । प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियान, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
अघिल्लो सरकारले लगाएका बहुवर्षे योजनाका ठेक्काका कारण यो सरकारले धेरै बजेट चलाउन नपाएको भन्दै तै पनि सालबसाली योजनालाई कटाएरै भए पनि नागरिकका अपेक्षा पूरा गर्नतिर आफूहरु लागेको उनले बताए । ‘अघिल्लो सरकारले थालेका कामको दायित्वबाट पन्छिन मिल्दैन, सरकारमा फेरिएको हो, प्रणाली उही हो, त्यही अनुसार हामी अगाडि बढेका छौं,’ उनले भने ।
कार्यक्रममा बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्मा, पूर्व उद्योगमन्त्री ढुण्डिराज शास्त्री, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त पौडेलसहितले भनाइ राखेका थिए ।
मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका ३ वटा संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएका छन् । महेश सन्यास आश्रम, गलेश्वर आश्रम र हरिहर सन्यास आश्रममा उनी पुगेको हुन् । ती विद्यापीठले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, उत्पादित जनशक्तिको खपत, भौतिक पूर्वाधार लगायत विषयमा मुख्यमन्त्रीले चासो देखाए । देवघाट क्षेत्रमा ११ वटा विद्यालयहरुमा संस्कृतको पढाइ हुने र अहिले देश विदेशबाट समेत यो विषय अध्ययनका लागि चासो दिएर छात्रछात्रा आउने गरेको सञ्चालकहरुले बताएका छन् । सबैजसो पीठहरुमा छात्रछात्रालाई आवास, भोजन र शिक्षाको निशुल्क प्रबन्ध छ । मुख्यमन्त्री पोखरेलले विद्यापीठको स्तरोन्नति र भौतिक पूर्वाधारका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width