सवा करोड लागतमा क्षयरोग रिफरल सेन्टर निर्माण

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
Chif minister

नवलपुर । नवलपुरस्थित मध्यबिन्दु जिल्ला अस्पतालमा निर्मित क्षयरोग प्रेषण केन्द्र भवन उद्घाटन गरिएको छ ।
जटिल प्रकारका क्षयरोग पे्रषण केन्द्रको भवन नयाँ जीवनका लागि हातेमालो र दामियन फाउन्डेसन बेल्जियम नेपालको १ करोड २६ लाख लागतमा निर्माण गरिएको हो । हाल १५ बेड रहेकामा छिट्टै २५ बेडको बनाइने दामियन फाउन्डेसनका नेपाल प्रमुख डा. सुशील कोइरालाले जानकारी दिए ।
सो भवन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकार संवेदनशील रहेको भन्दै क्षमता अनुसारका कार्यक्रम अगाडि सारेको बताए । प्रदेशका बासिन्दालाई कोरोनाविरुद्धको खोप दिलाउनका लागि सरकारले १ अर्ब विनियोजन गरे पनि प्रदेशले सिधै खरिद गर्ने अवस्था नरहेकाले संघकै भर पर्नुपरेको भनाइ राखे । संघसँगकै सहकार्यमा पर्याप्त खोप ल्याएर नागरिकलाई उपलब्ध गराइएको र अब छिट्टै प्रदेश पूर्णखोपयुक्त हुने मुख्यमन्त्रीले बताए ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सको उपचार निशुल्क घोषणा भइसकेको र अब प्रदेशमा रगतका लागि कुनै रकम नलाग्ने व्यवस्था गर्न लागिएको समेत उनले जानकारी गराए । मिर्गौला बिरामीहरु अहिले पनि डायलासिसका लागि पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै उनले अब सबै बिरामीले तत्कालै डायलासिस गराउने प्रबन्ध सरकारले मिलाउन लागेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा विधायन समिति सभापति विष्णु लामिछानेले स्वास्थ्य क्षेत्रमा हुँदै गएको सुधारप्रति सन्तोष व्यक्त गरे । ग्रामीण भेगमा अझै पनि क्षयरोगका बिरामी प्रशस्त रहेको थाहा पाउँदा दुख लागेको भन्दै उनीहरुको खोजबिन गरेर उपचार गराउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या सचिव डा. विनोदबिन्दु शर्माले टिबी रिफरल सेन्टर स्थापनाले प्रदेशको स्वास्थ्य प्रणालीमा अभूतपूव काम भएको बताए । कम उमेरका व्यक्तिमा समेत टिबी देखिन थाल्नु भनेको समुदायस्तरमै रोग रहेको प्रमाण हो भन्दै सबै सरोकारवाला मिलेर बिरामीको खोजबिन गरी आइसोलेसनमा राख्नुपर्ने बताए ।

अब छिट्टै प्रदेश पूर्णखोपयुक्त हुने गण्डकीका मुख्यमन्त्री पोखरेलको भनाइ

उक्त अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रकाशकुमार साह, नवपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरीडेन्डेन्ट डा. वीरबहादुर थापालेसहितले भनाइ राखेका थिए ।
मुख्यमन्त्री पोखरेलले बुधबारै मध्यविन्दु नगरपालिका १,२ र ३ नम्बर वडामा सञ्चालित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा उद्घाटन गरेका छन् । प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले एक घर एक धारको अभियान सञ्चालन गरेको र यो अभियान अब छिटै पूरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विधायन समिति सभापति विष्णु लामिछाने, प्रमुख जिल्ला अधिकारी मनमाया पंगनी, समितिका अध्यक्ष श्रीधर भट्टराईसहितले भनाइ राखेका थिए ।
मुख्यमन्त्री पोखरलले मध्यबिन्दु नगरपालिका ४ मा निर्मित नारायणी स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी उपलब्ध गराई बर्थिङ सेन्टर सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता उनले जनाए । वडाध्यक्ष पदमनारायण चौधरीले ४ नम्बर वडा मात्र नभएर आसपासका क्षेत्रका बासिन्दालाई समेत सेवा दिने गरी यो चौकी स्थापना गरिएको बताए ।
यसैबीच, मुख्यमन्त्री पोखरेलले हुप्सेकोट गाउँपालिकाको पत्थरखोलास्थित जीण पुलको अवलोकन समेत गरेका छन् । पालिका अध्यक्ष लक्ष्मी पाण्डेको आग्रहमा उनले पुल अवलोकन गरेका हुन् । गाडी आउजाउ अत्यधिक हुने पुल बाढीले क्षति पु¥याएकोमा मर्मतका लागि अध्यक्ष पाण्डेले आग्रह गरिन् ।
कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसमा समेत मुख्यमन्त्री पोखरेलले बुधबारै अवलोकन गरेका छन् । सञ्चालक समिति अध्यक्ष महेन्द्रप्रसाद पोखरेल र क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले क्याम्पसमा प्राविधिक शिक्षाका लागि कम्प्युटर अभाव भएकाले प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

त्रिवेणी–कोरोला कनेक्सन
मुख्यमन्त्री पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताएका छन् । यो साता जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै उनले यसको पनि समाधान खोजिने भनाइ राखे ।
चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्टायो, निकुञ्जका कारणले काम गर्न सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रियामा लान प¥यो, निकुञ्जबाट त्यो क्षेत्र छुट्टिने बित्तिकै हामी काम थाल्छौं, यो केन्द्र सरकारलाई भनेका छौं, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो ।’
युनेस्को भनेर रोकियो भने सधैं यसै बसिरहन नसकिने भन्दै उनले विकल्पमा सुरुङमार्ग समेत निर्माण गर्न सकिने भनाए राखे । सुरुङमार्गका लागि १८ देखि २० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिए र संघ सरकारको समेत सहयोग लिएर काम गर्न सकिने भनाइ राखे । सुरुङ नभए फ्लाइ ओभर समेत निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । यसका लागि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौखिक एवं लिखित रुपमा जानकारीसमेत गराइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width