पहिरोको डरले स्कुलको बास

रासस
असाेज ६, २०७७

पर्वत, ६ असोज । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता रहेको छ ।

एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो । पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए ।

“यहाँ त हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुशीले घरमा गएर फेरि काम सम्हाल्छौँ”, उनले भने, “बस्तीमाथिको भिर चर्किएर झर्न थालेको छ । कतिबेला बस्ती नै पुरिने हो भन्ने टुङ्गो नै छैन । कतिबेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएको छौँ ।”

उनका अनुसार त्यो बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ । बस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बाए । पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ ।

यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताए । अहिलेसम्म नगरपालिकामा सातवटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उनको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए । उनले तत्काललाई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गरे ।

पहिरोका कारण वडा नं ४ कै चुरी, वडा नं ३ को पुर्कोट र रुग्दी, वडा नं २ को दरदरे, वडा नं १० को फल्लालगायत गाउँ जोखिममा छन् । गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width