कुश्माको पुल सञ्चालनमा नआउँदै त्रुटि

रासस
श्रावण २३, २०७७

पर्वत २३ साउन । पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै संख्यामा पदयात्री हुँदा पनि अत्यधिक हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल अत्यधिक हल्लिएकाले तर्ने क्रममा डर लागेको बताए ।

करिब १३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुवैपट्टि छेउछेउमा थप तार (टाइ) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । उनले पुल नेपालकै लामो रहेको र यो नमूना परियोजना भएकाले थप मजबुत बनाउन अहिले तार बाँध्ने ब्लक निर्माणमा जुटेको बताए । शुक्रबार (आज) र शनिबार (भोलि) पुल बन्द गरेर टाई कस्ने काम गर्ने तयारी भएको उनले बताए ।

थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले सम्झौता मिति भन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न गरेको थियो । विसं २०७५ चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो । पुल बलियो बनाएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

पुल बनेपछि एक घण्टा बढीको पैदलयात्राबाट पुगिने बागलुङबजार जान पाङका बासिन्दालाई अब १० मिनेटमै पुग्न सकिने भएको छ । पुलले एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता धान्न सक्छ । पुलको निर्माणसँगै पाङवासीलाई खाद्यान्न खरिदका लागि र तरकारीलगायत घरेलु वस्तु बिक्रीका लागि बजार आउनजान सहज हुने भएको छ भने पुल हेर्न र अवलोकन गर्नका लागि दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width