डोल्पामा छुट्टै रीति, छुट्टै अनुभूति

प्रेमराज अधिकारी
फागुन ११, २०७९

यो सम्झानाको लेख ४४/४५ वर्ष अघि २०३४/०३५ सालतिरको हो । विगतको सम्झनाले काउकुती लगाइरह्यो । हिमालको काखमा रहेको डोल्पा दुर्गम र अति विकट भए पनि यसको छुट्टै किसिमको महत्व रहेछ । हिमाल, पहाड, ताल तलैया वन, पाखा, पर्वत, खोलानाला, उपत्यका, बेंसी आदि प्राकृतिक आदि सौन्दर्यले भरिपूर्ण, कृत्रिम वस्तुहरुको छायासम्म नपरेको डोल्पा नेपालको प्रदर्शनी कक्ष हो भन्दा अत्युक्ति नहोला । नेपालका तत्कालीन ७५ जिल्लामध्ये डोल्पा कर्णाली अञ्चलमा यो जिल्ला नेपालको उत्तर पश्चिममा छ ।

२०२८ सालको जनगणनाअनुसार जनसंख्या १९ हजार १ सय १० थियो । पुरुषको संख्या १ हजार ९ सय १५ थियो । मेरो त्यस बेलाको स्मृति रहेको छ । क्षेत्रफल ३ हजार १ सय ९ थियो । तिब्बती शरणर्थीको संख्या ५ सय १० थियो । गुम्बा र धातुका मूर्ति ७ सय २४ थिए ।

प्रशासकीय हिसाबले जिल्लालाई ३ क्षेत्रमा विभाजन गरिएको थियो । १ भोटक्षेत्र, २ मध्यक्षेत्र र ३ तल्लो भुटान (१) भोट क्षेत्र : छार्का मुकोट, तिन्जे, भिजेर धो र सालदाङ । (२) मध्ये क्षेत्र : दुनै सहरतारा, लाहान जुफाल माझफाल, सुलिकु, पाहडा, फोक्सुण्डो । (३) तल्लो भुटानः रिमी, सर्मी, नर्कु, कालिका, लाहान पर्दछन् भने दर्शनीय ठाउँमा सेफोक्सोण्डो ताल, जगदुल्ला ताल, सेगुम्बा, याजर गुम्बा, धोतराप, बाल त्रिपुरा सुन्दरीको मन्दिर यार्चाकुम्भु हुन् ।

सेफोक्सुण्डोताल : यो नेपालका तालहरुमध्ये सबैभन्दा गहिरो ताल हो । यो ताल सफा, शान्त, निर्मल हुनुका साथै समय समयमा आफ्नो रंग बदलिरहन्छ । कुनै समय गाढा नीलो, कहिले फिक्का, कहिले हरियो गरी रङ बदलेको देखिन्छ । यो ताल कानजिरवा हिमालको काखमा छ । यो ज्यादै मनमोहक दृश्य छ । पर्यटकहरु रमाइरमाइ रहेका हुन्छन् । यसलाई भूस्वर्ग नै भन्ने गर्दछन् ।

जगदुल्ला तालः यो ताल कानजिरवा हिमालको काखमा रहेको छ । यसलाई धार्मिक महत्वको आकर्षक ताल भनिँदो रहेछ । यस तालको क्षेत्रमा ऋषितर्पणीको दिन मेला लाग्ने गर्दछ । यो समुन्द्र सतहबाट १४ हजार फिट उचाइमा रहेको छ । पश्चिमबाट पूर्वतर्फ फर्की पर्यटकहरुको स्वागत गरिरहेको छ ।

सेगुम्बाः यो पनि भोटे जातिको प्रसिद्ध तीर्थस्थल हो । यो गुम्बा तामा रङको छ । वर्षमा एकटक यहाँ पनि मेला लाग्ने रहेछ । यो गुम्बा पनि दर्शनीय छ ।

याजर गुम्बाः यो गुम्बा पनि भोटे जातिको तीर्थस्थल मानिँदो रहेछ । यसको क्षेत्रफल धेरै फराकिलो देखिन्छ । धातुका मूर्तिहरुको संख्या पनि धेरै छन् । यो गुम्बा मिजेर गाविसमा रहेको छ ।

धोतराय : यो माथिल्लो भोट क्षेत्रको ज्यादै रमणीय समस्थल मैदान हो । यो फराकिलो सुन्दर भ्याली हो । प्रकृतिसँग रमाउने जो सुकैको लागि पनि महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्रलाई प्रकृतिको गलैंचा भनिन्छ, कारण यो क्षेत्रको जमिन सप्त रंगीचंगी फुलैफुलले ढाकिरहेको छ । पर्यटकहरु यो क्षेत्रलाई भू–स्वर्ग नै भन्दछन् ।

बाल त्रिपुरा सुन्दरीदेवी मन्दिरः यो मन्दिर कोट गाविसमा रहेको छ । वाला त्रिपुरासुन्दरी देवी (भगवती) को दैनिक पूजाअर्चना गर्नुका साथै चैतेदसैं र बडादसैंमा बलि चढाइ भव्य पूजा गरिन्छ । यी दुवै पर्वमा भव्य मेला लाग्ने गर्दछ । मेलामा जुम्ला र छिमेकी जिल्लाका मानिसहरु पनि पुजामा सामेल हुन आउँदा रहेछन् । डोल्पालीहरुको साथै छिमेकी जिल्लाका मानिसहरु भगवतीप्रति अघात श्रद्धा भक्ति रहेछ ।

यार्चा कुम्भु : यो एउटा बहुमूल्य जीवनबुटी हो । यसलाई सञ्जीवनी बुटी पनि भनिन्छ । यार्चा कुम्भु तिब्बती नाम हो । यार्चा भनेको वर्षे घाँस कुम्भु भनेको हिउँदे किरा हो । यो अधिकांश भोट क्षेत्रमा पाइन्छ यार्चा कुम्भ विर्यबर्धक बुटी मानिँदोरहेछ । नपुसंकहरुले सेवन गरे सन्तान जन्म सम्भव हुन्छ भन्ने पनि सुनिएको छ । यसको सेवनले सबै मानिसहरुको बल, बुद्धि र बर्कतको वृद्धि हुन्छ भन्ने विश्वास गरिन्छ, डोल्पालीको आयको मुख्य स्रोत यही नै मानिन्छ ।

डोल्पाको एउटा अनौठो कुरा ‘बहुपति प्रथा’ रहेछ । यो भनेको महाभारतका पाँच पाण्डवकी एउटी द्रौपदी मात्र पत्नी भएजस्तै भोट क्षेत्रका केही समूहमा त्यस्तै चलन रहेछ । जेठा दाजुको विवाह गरेर घर भित्र्याइएकी श्रीमती भाइहरु माइलो, साइलो, कान्छो सबैको श्रीमती हुने चलन रहेछ । बहुपति प्रथा स्वीकार्य हुँदोरहेछ । यो प्रथामा कुन समयदेखि कुन समयसम्म कुन श्रीमान्सँग आफू रहने हो वा समयको विभाजन र कामको बाँडफाँड साथै उनीबाट जन्मेका सन्तानको बाबु तोक्ने अधिकार पनि तिनै महिला (श्रीमती) को हुँदोरहेछ । मैले पञ्चायतकालका दुर्गम क्षेत्र विकास समितिका सदस्य नूर्भक घले ढेपाटोपासँग जिज्ञास राख्दा ‘हाम्रो पुर्खादेखि चलिआएको चलन यही हो,’ भनी स्वीकार्नु भएको थियो ।

डोल्पालीको रीतिरिवाज भिन्नाभिन्दै प्रकृतिको देखिन्छ । भोट क्षेत्रको रीतिरिवाज भेषभूषा तिब्बतीसँग मिल्दोजुल्दो छ । चालचलन व्यवहार पनि तिब्बतीकै जस्तो छ । जेठा वा माइलो छोरा लामा बनाउन गुम्बाको लामासँग पठाउनपर्ने रहेछ ।

जेठा दाजुको विवाह गरेर घर भित्र्याइएकी श्रीमती भाइहरु माइलो, साइलो, कान्छो सबैको श्रीमती हुने चलन रहेछ

कुनै पुरुषले विवाहिता वा अविवाहित महिलासँग अनुचित सम्पर्क राखी महिला सुत्केरी भएमा सुत्केरी खर्चबापत्मा २० माना उवा, आधा धार्ती घिउ, एउटा खसीको आधा सिकार दिए पुग्ने जारी तिर्न पनि नपर्ने मुद्दा मामला केही नलाग्ने । जन्मेको सन्तान छोरो भए बाबुको हुने छोरी भए आमाको हुने प्रचलन रहेछ । सम्बन्धविच्छेदको मामलामा सम्बन्ध विच्छेद गर्न चाहने पुरुषले विच्छेद गरी छोड्ने महिलालाई ८० दिन पर्ने नमानेमा १ सय, त्यतिले पनि नमानेमा १ सय २० सम्म दिनपर्ने त्योभन्दा बढी दिन नपर्ने । यतिकैमा सम्बन्ध विच्छेद हुने । यो जिल्लामा मागी विवाह, भागी विवाह, घर ज्वाइँ बस्ने, चलन पनि प्रशस्त रहेछ । यिनीहरु देवी देवता र लामाले विश्वास गर्ने रहेछन् । महादेव ब्रह्म, कालिका, मालिका, भुवानी आदि देवीदेवतामा ठूलो विश्वास गर्दा रहेछन् । बिरामी पर्दा पनि स्वास्थ्य संस्था हस्पिटलमा बिरामी लानुभन्दा लामा झाँक्री, झारफुक आदिमा बढी विश्वास गर्दा रहेछन् ।

यस जिल्लाका अधिकांश मानिसहरु लामा झाँक्री देवी देवताको भाकलमा विश्वास गर्दछन् । मानिस वा पशुपंक्षी बिरामी परेमा देवीदेवताको भरोसा गर्दछन् । आधुनिक स्वास्थ्य सेवाको विश्वास गर्दैनन् । यी अन्धविश्वासी हुन्छन् कि विश्वासी यसको निर्णय पाठक आफैंले गर्नु हुने भन्ने ठानेको छु । यदाकदा ज्योतिषी हेराएर मह काढ्नु पर्छ भन्ने चलन पनि रहेछ ।

पञ्चायती व्यवस्थाको सुरुदेखि त्यसबेलासम्म डोल्पा जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्य हुने ४ जनाको छोटो परिचर्चा उल्लेख गर्न चाहन्छु ।

लक्ष्मीशरण उपाध्यायः पञ्चायती व्यवस्थाको सुरुमा डोल्पा जिल्लाबाट राष्ट्रिय पञ्चायतको पहिलो माननीय सदस्य लक्ष्मीशरण उपाध्याय नै हुनु हुँदोरहेछ । उहाँ उमेरले पाको, सालीन व्यक्तित्व हुनुहुँदो रहेछ । ज्यादै भद्र अरुको इज्जत गर्न मन पराउने पद र प्रतिष्ठाको मर्यादा गर्ने उहाँको स्वभाव रहेछ ।

कमल बहादुर बुढा : उहाँ सहर तारा गाउँको बासिन्दा हुनुहुँदो रहेछ । उहाँ सोझो कुनै किसिमको छक्का पञ्जा आकांक्षा नभएको जस्तो व्यवहार देखिन्थ्यो । आफ्नो क्षेत्रका विकासको कामको लागि सदर आएको दखिएन ।

नर बहादुर बुढाथोकी : उहाँको हाउभाउले बहुत चतुर जस्तो देखिनुहुन्थ्यो । तर काम गर्ने तौरतरिका र ज्ञान भने केटाकेटीको जस्तो देखियो । एउटा प्रजिअको सरुवा भएको अर्को प्रजिअ हाजिर हुन नआएको मौका छोपी सदर मुकाम दुनैबाट जुफाल सार्ने विचार गर्नु भएछ । भूपू. माननीय नरबहादुरजी ५०/६० जना मान्छे लिएर भोलि आउँदै हुनुहुन्छ भने संकेत पाएर जिल्ला प्रहरी कार्यालयका जवानलाई हातहतियारले सुसज्जित गराई दुनै पस्ने गेटमा स्ट्यानबाइ राख्न लगाएँ । मेरो अनुभवमा उहाँ कच्चा खेलाडी जस्तो लाग्यो किन भने विना नीति, विना आदेश, सदरमुकाम जुफाल सार्छु भनेर ५०/६० जना सामान बोक्ने मानिसको जमात लिइ आउने विचार गर्नुभएछ । त्यो उहाँको कार्यक्रम मैले बिहानै थाहा पाएर जिल्ल प्रहरी कार्यालयका जवानहरुलाई हात हतियारसहित सदरमुकाम भित्रिने गेटमा राखिदिएको थिएँ । भित्र पस्ने साहस भने गरेनन् । त्यसपछि म प्रहरीको अगाडि गएर उहाँलाई भने माननीयजी तपाईंमात्र गेटभित्र आउनुहोस् भनेपछि वहाँ आउनु भयो र मैले भने के गर्न आउनु भएको हो । उहाँले भन्नुभयो, ‘सदरमुकाम जुफाल लैजान ।’ मैले भनेँ,‘ बिना आदेश प्रजिअ सरुवा भएको मौका छोपी सदरमुकाम सार्ने साहस गर्नुभएको हो? तपाईंको केही चल्दैन । यो जिल्लाको निमित्त प्रजिअ भए पनि प्रजिअ मै हुँ प्रजिअले प्रयोग गर्ने हातहतियार तपाईंकै अगाडि छन्, प्रयोग गर्न आदेश दिने अधिकारी मै हुँ । कुरा बुझ्नोस्, ढिला नगरी फर्कनोस् । यसैमा तपाईंको कल्याण छ । अन्यथा जे पनि हुन सक्छ ।’ तुरुन्त फर्कनुभयो । मेरो आदेश मान्नुभयो ।

मोतिप्रसाद पहाडी : उहाँ चतुर किसिमको मानिनु हुन्थ्यो कुरा बुझ्ने चलाख बौद्धिकस्तर कै मानिनु हुन्थ्यो ।

यो लेख २०३४/२०३५ दुई वर्ष डोल्पामा काम गर्दा उत्तरी सिमानामा पर्ने भोट क्षेत्रका बसुन्धराको लेक धीेतराव, खुङला भञ्ज्याङ सिमावर्ती क्षेत्रमा निरीक्षण भ्रमण गर्दा प्राप्त गरेको अनुभव र मध्ये क्षेत्र, तल्लो भुटानसमेतको अनुभवको आधारमा यो लेख्ने साहस गरेको हुँ ।

Related News

सम्बन्धित समाचार

hero news full width