३४ वर्षे सहयात्रामा लाग्यो पूर्णविराम

पदमलाल श्रेष्ठ
जेठ ५, २०८०

पछाडि फरक्क फर्केर हेर्दा २०४६ सालदेखिको कुरा हो, हाम्रो किशोर अवस्थादेखिको सहयात्रा । निकै चञ्चले र रमाइलो थियो । मेरो मन, मुटु र मस्तिष्कमा कहिल्यै नभुल्ने नाम थियो गिरबहादुर श्रेष्ठ (किरण) । आकाशमा बादल लाग्दा जसरी ओसिलो धर्तीलाई सौर्य किरणको व्यग्र आशा हुन्छ ।

त्यसैगरी मेरो जीवनमा आशा र भरोसाको केन्द्रबिन्दु थियो ‘किरण’ किशोर अवस्थादेखि अधबैंसे उमेरसम्म आइपुग्दा रमाइलो बगैंचाभित्रका फूलबारीमा हजारौं रंगीबिरंगी फूलहरू थिए । तीमध्ये मेरो नयन खास एउटा फूलमा थियो, त्यो फूल थियो (किरण) २०४६ सालदेखि २०४९ सालसम्म अध्ययनको सिलसिलामा हामी जनशक्ति मावि गोरखा नामजुङमा सँगै थियौं । हाम्रो बसाइँ सँगै, हिँडाइ सँगै थियो, दुखमा सँगै, सुखमा सँगै । त्यतिमात्र होइन, खाने बेलामा हामी दुईको खाने थाल एउटै हुन्थ्यो । बाध्यता गरिबी हाम्रो शत्रु थियो, त्यसैले २०४९ सालदेखि २०५० सालसम्म १ वर्षको बिछोडको कहालीलाग्दो समय व्यतित भएपछि २०५१ सालको पूर्वाधारमा नै हाम्रो सुन्दर नगरी पोखराको आँगनमा मेरो आग्रह र निमन्त्रणालाई स्वीकार्दै कहिल्यै नछुट्ने वाचासहित फेरि हाम्रो मिलन भयो । मिलनपछिको बिछोड कहालीलाग्दो त्यो तीतो सत्य ग्रहण गरिसकिएकाले त्यो दिन नआओस् भनी हामी दुवैले प्रार्थना गथ्र्यौं । हामी दुवैलाई लाग्थ्यो, अब हाम्रो जीवनको खास यात्रा सुरु भयो । घर परिवारमा पनि हामी दुईलाई अति मायालु पाराले हेर्थे । दिनभरि काम गरेर आइन्थ्यो, एउटा सानो कोठाभित्र हाम्रा सुन्दर सपनाहरू र रहरहरू एक आपसमा छताछुल्ल हुने गरी पोखिन्थ्यो । शनिबार आउनसाथ चटपटको भरमा ३ सो फिल्म हेरिन्थ्यो । कति रमाइलो थियो त्यो ‘जिन्दगी’ । किशोर अवस्थाले नेटो काट्दै गयो, आवश्यकताको भूमरीमा परियो जागिरको पैसाले पुगेन, अभाव खड्कियो । दुवैको मनभित्रको युवा शक्तिलाई एकत्रित गरेर २०५२ सालमा रोजिना स्क्रिन प्रिन्टको नामबाट हामीले व्यवसाय सुरु गर्‍यौं । व्यवसायमा हामी दुईको लगाव अपत्यारिलो थियो । हामी १६ घन्टा काम गथ्र्याैं, चिनी चिउरा र पानी खाएर हामी छाक टाथ्र्याैं र पैसा बचाएर व्यवसायमा लगानी गथ्र्याैं, त्यो नै थियो हाम्रो सफलताका ‘राज’

सल्लाह गरेर छुट्टाछुट्टै व्यवसाय थाल्यौं । प्रतिस्पर्धात्मक व्यवसाय भए पनि हामीभित्र कहिल्यै मनमुटाब नहुने गरी काम गर्दै गयौं

२०५४ सालमा वैवाहिक सम्बन्धमा गाँसिएपछि हामीले एकआपसमा सल्लाह गरेर आ–आफ्नो तरिकाले व्यवसाय सुरु गर्‍यौं । बाहिरबाट हेर्दा प्रतिस्पर्धात्मक व्यवसाय भए पनि हामीभित्र कहिल्यै मनमुटाब नहुने गरी काम गर्दै गयौं । २०५६ सालमा मेरो ज्येष्ठ सुपुत्रको जन्म भयो र छोराको नाम प्रतीक राखियो । त्यही नामबाट प्रतीक अफसेट प्रेस स्थापना भयो । किरण सरको पनि २०५७ सालमा ज्येष्ठ सुपुत्रीको जन्म भयो र छोरीको नाम रोजिना राख्नुभयो । यसरी इतिहासको पाना पल्टाउँदै जाँदा रोजिना अफसेट र प्रतीक अफसेटको सहयात्रा वर्तमानसम्म अत्यन्त घनिष्टताको साथ अघि बढिरहेको छ । मुद्रण उद्योग संघ कास्कीको इतिहासलाई रच्ने काम पनि हामी दुइभाइको अग्रसरतामा र व्यवसायी साथीहरूको समर्थनमा म तदर्थ समितिको संयोजक र किरणजी सहसंयोजक भएर २०६६ साल असार १७ गते मुद्रण उद्योग संघ कास्कीको स्थापना भयो । संस्था निर्माणको क्रममा विभिन्न बाधा व्यवधानहरूलाई पार गर्दै विभिन्न तह र तप्काहरूका खप्की सहदै साँझमा आँखाभरि आँसु लिएर भए पनि संस्था बलियो बनाउनुपर्छ भन्दै फेरि व्यवसायी साथीहरूलाई एकत्रित गर्दै जाने काम गरियो । २०६७ सालमा मुद्रण उद्योग संघ कास्कीलाई जिल्ला प्रशासनमा विधिवत दर्ता गरियो । संस्थाको अध्यक्षको रुपमा मुनाल प्रिन्टर्सको सञ्चालक कल्याण पालिखेलाई सर्वसम्मतबाट संस्थापक अध्यक्षको रुपमा निर्वाचित गरी कार्यसमिति गठन गरियो । २०७१ सालमा सेन्टर प्रेसका सञ्चालक महेन्द्र वजिमयको अध्यक्षयतामा नयाँ कार्यसमिति गठन गरियो । २०७४ सालमा म पदमलाल श्रेष्ठको अध्यक्षतामा संस्थाको फेरि नयाँ कार्य समिति निर्माण भयो ।

२०७७ सालमा मुद्रण उद्योग संघ कास्कीको एघारौं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरबहादुर श्रेष्ठ ‘किरण’ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनभएको थियो । मुद्रण उद्योग संघ कास्कीलाई उहाँको आवश्यकता अझै लामो समय बाँकी नै थियो । संस्थाको विकास र नीतिगत परिवर्तन गर्ने योजना अधुरो नै रह्यो अत्यन्त मिलनसार भद्र, स्वभावका समाजसेवी किरणले मुद्रण उद्योग संघ कास्कीलाई दिनुभएको योगदान अतुलनीय र अमूल्य छ । उहाँको योगदान अमर रहोस् । उहाँको आत्माले शान्ति पाओस् भनी भगवान्सँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोक सन्तब्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । मेरो जीवनको ३४ वर्षको सहयात्री गुमाउनु पर्दाको वेदना अक्षरमार्फत् व्यक्त गर्ने प्रयास गरेको छु । साथी किरणसँगको भौतिक सहयात्रामा पूर्णविराम लागेको छ । तर उनीसँगको सहयात्रा मेरो मानसपटलमा ताजै रहने छ । (सहयात्री साथी स्व.गिरबहादुर श्रेष्ठ ‘किरण’ प्रति समर्पित)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width