स्याङ्जा साहित्य प्रतिष्ठान र पुरस्कृत व्यक्ति डा. क्षेत्री

आदर्श समाज सम्वाददाता
माघ १३, २०७१

नेपालको इतिहासमा २०४६ सालको जनआन्दोलन एक महत्वपूर्ण घटना हो। किनभने यस कालखण्डपछि नेपालमा महसुस गर्न मिल्ने गरी परिवर्तन देखा परे। राजनीतिक वातावरण खुकुलो मात्रै भएन, विभिन्न संघसंस्था खोल्न पनि सहज र सरल हुँदै गयो। खुला वातावरणकै परिणामस्वरूप विक्रमाब्द २०५० मा स्याङ्जा जिल्लामा “स्याङ्जा साहित्य प्रतिष्ठान” स्थापित भएको हो। ­विचार प्रवाहको माध्यमले कला र साहित्यको विकासमा योगदान पुर्‍याउने यस प्रतिष्ठानको मूलभूत उद्देश्य हो। स्थापित साहित्यकारलाई यस प्रतिष्ठानले विचार विमर्शका लागि उचित थलो प्रदान गरेको छ भने नवोदित साहित्यकारहरूलाई उत्साह र प्रेरणा दिँदै आएको छ। निरन्तर कलम चलाउने लेखक तथा साहित्यकारहरूका निमित्त प्रोत्साहन स्वरूप यसले ‘काली गण्डकी’ जस्ता पुरस्कारहरू स्थापना गरेको छ। साहित्यप्रेमी व्यक्तित्वहरूले स्थापना गरेका पुरस्कार सम्मान आदि दिलाउने प्रक्रियाका सम्बन्धमा पनि यसले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ।

नेपाली वाङ्मयलाई उर्बर बनाउन यस प्रतिष्ठानले साहित्यसम्बन्धी विविधखाले कार्यक्रम आयोजना गरिरहन्छ। यस्ता कार्यक्रम आयोजना गर्दा कहिले यस प्रतिष्ठान एक्लै सहभागी हुन्छ भने कहिले अन्य संस्थासँग सहकार्य गर्दछ। हालै २०७१ माघ ३ गतेका दिन वीपी कोइरालाको शतवाषिर्कीको सर्न्दर्भमा ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ र ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ द्वारा संयुक्त रूपमा बृहत् साहित्यिक  कार्यक्रम आयोजना गरी सम्पन्न गर्‍यो। उक्त कार्यक्रमको अध्यक्षता स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले गर्नुभएको थियो। प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्रा.डा. ज्ञानु पाण्डे, प्रा.डा. कुमार कोइराला, प्रा.डा. नेत्रप्रसाद न्यौपाने अतिथिका रूपमा थिए। रत्नमणि नेपाल, डा. यमबहादुर पौडेल क्षेत्री, डा. भूपति ढकाल कमल, विखे अन्जान, शिवानी घिमिरे, गंगानाथ कोइराला, हुमकान्त पाण्डे, मोदनाथ शास्त्री, काशीनाथ गौतम, गंगा पौडेल -कर्माचार्य), अम्बिकाप्रसाद भट्टराई आदि साहित्यकारहरू समेतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम स्थानीय साहित्यप्रेमीका लागि ऐतिहासिक थियो। स्याङ्जा बजारस्थित बाल-मन्दिरको सभाहल साहित्यकार र साहित्यानुरागीहरूको उपस्थितिले खचाखच भरिएको थियो।

यस कार्यक्रममा काव्यगोष्ठी अन्तर्गत साहित्यकारहरूद्वारा आ-आफ्ना रचना वाचन गरिएका थिए। प्रमुख अतिथि विष्णुविभु घिमिरेबाट रजस्थल त्रैमासिकको वीपी विशेषाङ्क भाग १ र भाग २ को सँगसँगै लोकार्पण गरिए। श्रष्टा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा डा. यमबहादुर पौडेल क्षेत्रीलाई ‘आमा सुमित्रा गिरी स्मृति साहित्य पुरस्कार’ प्रदान गरियो। पुरस्कारको राशि रु. ७,००० रहेको थियो। यो पुतलीखेत नगरपालिका वडा नं. ९ लामागे निवासी बलसागर गिरीद्वारा अक्षयकोष राखी स्थापना गरेको पुरस्कार हो। प्रत्येक वर्ष यसै प्रतिष्ठानमार्फत एकजना साहित्यिक स्रष्टालाई यस पुरस्कार अर्पण गरिन्छ।

पुरस्कृत व्यक्तित्व डा. यमबहादुर पौडेल क्षेत्री स्याङ्जा जिल्ला सेतीदोभान गाविस वडा नं. ८ लाँकुरीमा जन्मिएका हुन्। पिता सूर्यबहादुर पौडेल क्षेत्री र माता खरिका पौडेल क्षेत्रीका कान्छा सुपुत्र हुन् उनी। शैक्षिक प्रमाणपत्रमा उल्लेख भएअनुरूप उनको जन्म चैत्र २८, २००८ साल अर्थात् १० अप्रिल १९५२ हो। मध्यम वर्गीय परिवारमा जन्मे/हुर्केका क्षेत्रीलाई शैक्षिक मार्गमा अगाडि बढ्न आफ्नै आमा र दाजुबाट यथेष्ट सहयोग प्राप्त भएको थियो। आफ्नो जीवनको उत्तरार्धमा साहित्यमा अगाडि बढ्न यथेष्ट समय र अवसर उनकी धर्मपत्नी रेवती पौडेलबाट पनि प्राप्त भयो। उनको हालको बसोबास पोखरा उपमहानगरपालिका शान्तिपथ-१०, अमरसिंहचोक नजिक रहेको छ।

‘हुने विरुवाको चिल्लो पात’ भनेजस्तै बाल्यकालदेखि नै क्षेत्री अत्यन्त लगनशील, परिश्रमी, अनुशासित र तीक्ष्ण बुद्धिका थिए। उनले माध्यमिक तहसम्मको शिक्षा आफ्नै जिल्लामा प्राप्त गरेका हुन्। उच्च शिक्षाका लागि उनी आफ्नै दाजुको संरक्षणमा भारत पुग्न पर्‍यो। हाफलङ गर्मेन्ट कलेज हाफलङमा अध्ययन गरी गौहाटी विश्वविद्यालयबाट सन् १९७६ मा बीए विशिष्ट श्रेणीमा उत्तीर्ण गरे उनले। यसै समयमा हिन्दीमा पनि प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे। तत्पश्चात् नेपाल फर्की अध्यापन/प्राध्यापन पेशामा संलग्न रहँदै-अङ्ग्रेजी साहित्यमा एमए र बीएड ड्रि्री हासिल गरे। सन् २०१३ मा उनले अनुवाद साहित्यमा विद्यावारिधि पूरा गरे। त्रिभुवन विश्वविद्यालयबाट अनुवादमा विद्यावारिधि गर्ने उनी पहिलो व्यक्ति हुन्।

पेशाको हिसाबले उनको मुख्य पेशा प्राध्यापन हो। हाल उनलेे पृथ्वीनारायण क्याम्पसमा सहायक क्याम्पस प्रमुख र प्रातःकालीन समयमा जनप्रिय क्याम्पस पोखरामा प्राध्यापन कार्य गर्दै छन्। दर्जनौं साहित्यिक संस्थाहरूमा संलग्न रही विभिन्न अवस्थामा अध्यक्ष, उपाध्यक्ष, सदस्य र सम्पादक लगायतको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् डा. क्षेत्रीले। रचना कर्मका हिसाबले कवि, निबन्धकार, अनुसन्धाता, समीक्षक, समालोचक, लेखक तथा अनुवादकका रूपमा उनको बहुआयामिक छवि निर्माण भएको छ। साहित्यकार क्षेत्रीका ‘मितेरी’ (२०५७) समालोचनात्मक निबन्ध सङ्ग्रह; सोह्र सृष्टिः सोह्रै दृष्टि (२०६२) सिर्जनात्मक समीक्षा सङ्ग्रह; र ‘शिक्षा र साहित्यमा गंगाबहादुरको योगदान’ (२०६१) जस्ता कृतिहरू नेपाली भाषामा प्रकाशित छन्। दैनिक, साप्ताहिक, मासिक, द्वैमासिक, त्रैमासिक, स्थानीय र राष्ट्रिय पत्रपत्रिकाहरूमा सयौंको सङ्ख्यामा समालोचनात्मक लेख, निबन्ध, समीक्षाहरू पनि नेपाली भाषामा प्रकाशित भएका छन्। फुटकर रूपमा प्रकाशित गहन लेखहरू सङ्ग्रहका रूपमा प्रकाशित गर्दा ती छरिएका रचना पाठकका लागि फलदायी हुने देखिन्छ। उनले नेपाली भाषाका रचनाहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्दै प्रकाशित गराउँदै पनि आएका छन्। उनका अङ्ग्रेजी भाषाका केही लेखहरू दार्जिलिङ र सिक्किमबाट पनि प्रकाशित छन्।

यसरी नेपाली साहित्यको भण्डारमा महत्वपूर्ण कृति प्रदान गर्ने डा. क्षेत्रीका अङ्ग्रेजी माध्यममा पनि १० वटा पुस्तकहरू प्रकाशित भैसकेका छन्। तीमध्ये धेरैजसो विद्यालय र विश्वविद्यालय स्तरसम्मका लागि उपयोगी र महत्वपूर्ण सावित भैसकेका छन्। अन्डरस्ट्यान्डिङ ट्रान्सलेसन ः थेअरीज एन्ड प्राक्टिसेज उनको अंग्रेजी भाषाको पछिल्लो कृति हो।

ख्याति प्राप्त साहित्यकारका रूपमा उदियमान यमबहादुर पौडेल क्षेत्रीको कलम समालोचना, निबन्ध र अन्वेषणात्मक नेपाली भाषाका लेखहरूमा अविरल गतिले अगाडि बढिरहेको छ। नेपाली भाषामा मात्र नभै अङ्ग्रेजी भाषामा समेत दखल भएकाले उनको बुझाइको दायरा फराकिलो बन्न पुगेको छ। त्यसैले डा. क्षेत्री अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेख्न सक्षम छन्। स्याङ्जाली जलवायुमा हुर्केर पोखरा कास्कीमा बसी अथक रूपमा साहित्य साधना गर्ने क्षेत्रीलाई स्याङ्जा साहित्य प्रतिष्ठानले सम्मान र पुरस्कृत गर्न पाएकोमा स्याङ्जा साहित्य प्रतिष्ठानल गर्वको अनुभूति गरेको छ। गहन कृति प्रकाशनले स्याङ्जाको स्मृति आइरहने हुँदा हामी गौरव महसूस गर्दछौँ। उनको लेखनी सशक्त रूपमा अगाडि बढ्दै जाने अपेक्षा पनि गरेका छौँ।

(लेखक स्याङ्जा साहित्य प्रतिष्ठानका कार्यकारी सदस्य हुन्।)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग