शृङ्खलाबद्ध महिला हत्याले उब्जाएका प्रश्नहरू

आदर्श समाज सम्वाददाता
फागुन २, २०७२

पर्यटकीय नगरी भनेर परिचित पोखरामा पछिल्लो समय महिला हत्याका घटना एकपछि अर्को गर्दै बढिरहेका छन्। पोखरा मालेपाटनकी सरस्वती लिम्बुको हत्या भएको दुर्इ दिनपछि नेहा भनिने योरुना पुनको हत्या भयो। दुवै हत्याको प्रकृति लगभग उस्तै छ। अपराधीले बलात्कारपछि ती महिलाको हत्या गरेकोजस्तो देखिन्छ। हत्यारालाई प्रहरीले पक्राउ त गरेको छ तर सर्वसाधारण र मृतकका परिवार सन्तुष्ट हुन सकिरहेका छैनन्। यो हत्या सामूहिक बलात्कारपछि भएको र बलात्कारमा संलग्न पहुँचवाला उम्केको र एक जनामात्र प्रहरीको कठघरामा आएको हुनसक्ने आशंका उनीहरू गरिरहेका छन्। विभत्सपूर्ण रुपमा भएका यी हत्याले यति बेला पोखरालाई आतंकको सहरमा परिणत गरेको छ। पर्यटकीय सहर महिला हत्याको राजधानी बन्न पुगेको छ। हत्याको घटना राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय रुपमा पनि चर्चाको विषय भएको छ।

यो हत्या विशुद्ध आपराधिक थिएन, बरु अधिकारको सवालसँग समेत जोडिएको थियो। खासगरी महिला कसरी पुरुष मानसिकताको शिकार हुन्छन् भन्ने यो ज्वलन्त उदाहरण हो। आतंकका अगाडि हाम्रो समाज निरिह छ। सिंगो देशको शान्ति, सुरक्षाको अवस्था दयनीय छ। शान्ति, सुरक्षा कस्तो छ भन्ने कुरा यी दुर्इ हत्याले प्रष्ट पार्छ। पोखराजस्तो तुलनात्मक रुपमा शान्तिपूर्ण र पर्यटकीय नगरीमा भएका यस्ता शृङ्खलाबद्ध हत्याका घटनाले पोखरा पनि महिलाका लागि सुरक्षित छैन भन्ने कुरा देखाएको छ। सहरमै साँझ, बिहान अब महिलालाई घरबाहिर हिँड्न त्रास छ।

पोखराका यी दुर्इ घटना उदाहरणमात्र हुन् तर यस्ता हिंसा दिनहुँ हाम्रो समाजमा बग्रेल्ती छन्। तर राज्य गम्भीर छैन। कुनै अपराधीलाई कारवाही गर्न राज्यलाई सक्रिय गराउनुपर्‍यो भने नागरिक समाजले दबाब दिनुपर्छ। अन्यथा राज्य उदासिन भैदिन्छ। कतिपय सर्न्दर्भमा त चोरबाटोबाट अपराधीलाई उम्काइन्छ। यस्ता घटनामा जहिले पनि अपराधी पहुँचवाला, पीडित पक्ष नीरिह र राज्य उदासिन देखिन्छ। अनि पीडितले न्याय नपाउने र दोषी उम्कने हुन्छ। फलस्वरुप यस्ता घटनाको पुनरावृत्ति भइरहन्छ।

प्रहरी प्रशासन जहिले पनि शान्ति, सुरक्षाको रणनीतिको दुहाइ दिएर थाक्दैन तर प्रहरीको पश्चिम मुख्यालय रहेको सहरमै शृङ्खलाबद्ध मान्छे मारिएको घटना हाम्रा अगाडि ज्यूँदो बनेर बसेको छ। सहरमा महिलाको यो अवस्था छ भने दूरदराजमा बस्ने महिलाको हालत कस्तो होला ? यौन अपराधसँग जोडिएको यो घटनाले नेहा वा सरस्वतीमात्र होइन अरु कति महिला यौन हिंसाका शिकार हुँदा हुन् भन्ने प्रश्न उब्जाएको छ। हुन त प्रहरीले हत्यारालाई पक्राउ गरेको छ तर हत्यारालाई पक्राउ गर्नु दोस्रो कुरा हो, पहिलो कुरा त हत्या हुन नदिनेतर्फको सुरक्षा रणनीति अपेक्षित छ। सुरक्षाका दृष्टिले अपराधी पक्राउ गर्नुभन्दा अपराध हुन नदिनुचाहिँ उच्च सुरक्षा प्रबन्ध मान्न सकिन्छ। तर त्यसो हुन सकेन। पोखरा अपराधीको क्रीडास्थल बनेको छ। देशको सुरक्षा प्रणालीलाई नै अपराधको दुनियाँले गिज्याइरहेको छ।

हाम्रो समाजमा महिला पुरुषवादी सोचको शिकार भइरहेका छन्। महिला पुरुषको मानसिक हिंसाको मात्र होइन, भौतिक हिंसाको शिकार पनि हुनु परेको छ। महिलामाथि हुने हिंसामध्ये एउटा हिंसा यौन हिंसा हो। यी दुवै महिलाको हत्या यौन हिंसासँग जोडिएको देखिएको छ। महिलाले पुरुषको योनेच्छा पूरा गर्न नसक्दा सामान्य यातनामात्र होइन, ज्यानै पनि गुमाउनुपर्छ भन्ने यो उदाहरण हो। महिलालाई सधैँ दोस्रो दर्जाको नागरिक ठान्ने पुरुष सोचको परिणाम हो यो, जुन हाम्रो समाजको प्रतिबिम्ब हो। महिलाको बाँच्न पाउने अधिकार नै जोखिममा परेका यस्ता घटना समाजमा कलंक बनेर रहनेछन्। यो कलंकको टीका मेट्न पोखराले धेरै मेहनत गर्नुपर्ने छ।

पछिल्लो समय अधिकारको सवाल निकै चर्को बहसको विषय बनेको छ। त्यसमा पनि महिला अधिकारको विषयले थप चर्चा पाउने गरेको छ। तर महिला अधिकारका कुरा जति चर्को रुपमा आइरहेका छन्, महिलाचाहिँ त्यति नै असुरक्षित बन्दै आएका छन्। महिला अहिले पनि पुरुषको खेलौना बन्नु परेको छ। मेरो शरीर, मेरो अधिकार भनेर चर्का नारा लगाए पनि व्यवहारमा मेरो शरीर उसको अधिकार बन्न पुगेको छ।

नेपालले महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धि, महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको ऐच्छिक उपलेखसमेत अनुमोदन गरेको छ। यस्तै, जिउ मास्ने बेच्ने तथा अरुको वेश्यावृत्तिको शोषणका दमनका लागि व्यवस्था भएको महासन्धिको समेत नेपाल पक्ष राष्ट्र बनिसकेको छ। बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्ने नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा पनि नेपालले हस्ताक्षर गरिसकेको छ। तर यस्ता सन्धिको व्यवस्थालाई नेपाले पालना गर्न/गराउन सकेको छैन। ती अन्तर्राष्ट्रिय सन्धि अनुरुपका प्रभावकारी घरेलु कानुन बनेका छैनन्। केही बनेका कानुनको पनि कार्यान्वयनमा उदासिनता छ।

सन्धि अनुमोदन गर्ने तर कार्यान्वयनमा उदासिनता हुँदा महिला सधैँ पीडित छन्। दोषीलाई कडा कारवाही गर्ने कानुन छैन। परिणाम महिला दिनप्रतिदिन हिंसाको शिकार बन्दै गएका छन्। त्यसैले अब दोषीलाई कारवाही र पीडितलाई राहत तथा परिपूरण पाउने खालको अत्यन्त कडा र मानवअधिकारमैत्री कानुन बनाउनुपर्छ। ता कि भविष्यमा यस्ता घटना पुनः नदोहारिऊन्।

महिलामाथि हुने गरेको हिंसा न्यूनिकरणका लागि नागरिक समाजले थप दवाव दिनु आवश्यक छ। हिजोका दिनमा महिला हिंसाबाट पीडितहरू पीडितमै सीमित हुन्थे तर आजकल केही अपराधीलाई कानुनी कठघरामा ल्याउने कामको सुरुवात त भएको छ तर यो पर्याप्त भएको छैन। यसलाई थप प्रभावकारी बनाउन अधिकारकर्मी र नागरिक समाजको थप तदारुकता आवश्यकता छ। तर यतिबेला नागरिक समाज पनि अनेक वाद र स्वार्थमा विभाजित छ। पीडकको राज्य संयन्त्रमा मात्र होइन, नागरिक समाजमा समेत पहुँच पुगेको आभास हुन थालेको छ। त्यसैले नागरिक समाज पनि यस्ता घटनामा औपचारिकतामा सीमित हुन पुगेझैँ देखिन्छ। अधिकारको लागिभन्दा पनि दयाका शब्दमात्र नागरिक समाज खर्चिन्छ।

यो घटना अहिले नेहा र सरस्वतीमाथि घटे पनि भोलि हाम्रै परिवारका सदस्यमाथि घट्न सक्दछन्। यस कारण अविभावकमा पनि पूर्व सावधानी पनि त्यत्तिकै आवश्यक छ। आफ्ना छोराछोरी साँझ, रात कता छन् भन्ने सम्बन्धमा अविभावक पनि चनाखो हुनुपर्दछ। हरेक अविभावकले आफ्ना छोराछोरी कोसँग संगत गर्दै छन् र केमा संलग्न छन् भन्ने कुरामा निगरानी गर्नुपर्छ। गलत बाटोमा हिँड्न लाग्यो भने रोक्नुपर्दछ। आफ्नो सन्तानलाई अपराधबाट उम्काउने कसरत गर्नुभन्दा आफ्नो सन्तानलाई गलत बाटो हिँड्नबाट रोक्नुमा समय खर्चिनु वेश हुन्छ। यो हरेक जिम्मेवार अविभावकको कर्तव्य हो।

अन्त्यमा, महिलामाथिको अपराध व्यक्तिमाथिको मात्र अपराध नभएर समाज र मानवताविरुद्धको अपराध हो। यस्तो मानवताविरुद्धको अपराध न्यूनिकरणमा हामी सबै एकजुट भएर लड्नुको विकल्प छैन। आउनुस्, मानवताविरुद्धको अपराधविरुद्ध एक-आपसमा हातेमालो गरौँ। पोखरालाई मानव हत्याको राजधानी होइन, पर्यटकीय सुन्दर नगरी बनाऔं।

-लेखक थापा महिला मानव अधिकार रक्षक सञ्जाल, कास्कीकी अध्यक्ष हुन्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग