राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ

बाबुराम खनाल
फागुन २८, २०८०
म तिमीलाई बदल्न चाहन्छु भन्नु क्रान्ति होइन, म आफैं बदलिन चाहन्छु भन्नु क्रान्ति हो । 
शद्गुरु 
मुलुकमै भूकम्पीय धक्का दिने हैसियत राखेर ख्याति कमाएका पं. मुक्तिनाथ तिम्सिना हरिलाल र तुलसा तिम्सिनाका सुपुत्र हुन् । कास्की पोखराको बाटुलेचौरमा १९७१ साल असार १५ मा जन्मेका मुक्तिनाथ स्वयं प्रकाशित नेपाल आमाका एक क्रान्तिकारी सपुत हुन् । परम्परामा बाँचेको रुढीग्रस्त नेपाली समाजमा ठूलो हलचल ल्याएका मुक्तिनाथले समाजका हरेक क्षेत्रमा उथलपुथल ल्याइदिए । । आज फागुन २८ गते उनले हलो जोतेर तहल्का मच्चाइदिएको दिनको स्मरणमा सीमित भएर यो आलेख प्रकाशित गरिएको छ ।
प्राचीन सभ्यताहरू सबै उत्कृष्ट थिए, आदर्श थिए, समतामूलक थिए । शास्त्रको मर्म, सभ्यतायुक्त हुन्छ तर हाम्रा शास्त्रीय विद्धानहरूले वेदको ज्ञान भएर पनि समाजलाई रुढीग्रस्त बनाउँदै लगेर असमानताका पर्खालहरू ठड्याउँदै जाँदा हिन्दु जगत् बदनाम हुँदै पनि आयो । वेदको सार ग्रहण गर्नेभन्दा पुरोहितवादको उदय भएको र त्यसले शासन/शोषण बढाएको मुक्तिनाथलाई राम्ररी बोध भयो । आचरण त शास्त्रसम्मत पो हुनुपर्छ भनेर हलो जोते । कतिपय मान्छेको मथिङ्गत हल्लाइदिए । सामन्तवादका अघोषित अगुवाहरूलाई दह्रो झापड हाने । पुरोहितवादका पृष्ठपोषकहरूको निद्रा खलबल्याइदिए । राणा शासकहरूको मुटुमा ढ्यांग्रो ठोकिदिए । सकारात्मक सोचसहित बाँचेका युवाहरूलाई नयाँ क्षितिजको खोजी गर्न प्रेरणा पनि दिए । आफ्नो परिवार, छोरा–छोरी र नाता–कुटुम्ब वरिपरि चुनौती नै चुनौतीका पहाडहरू पनि खडा गरिदिए । हुन त उनले पुरुषार्थ गरे । उनी भविष्य द्रष्टा भएकाले आफूले गरेको अध्ययन र केही वर्षको अनुभव समाज र राष्ट्रका खातिर दिए । यसको असर भने परिवारका महिला र बालबालिकालाई प्रत्यक्ष रुपमा प¥यो । क्रान्तिकारीका परिवारका सदस्यहरूलाई यस्ता गतिविधिले प्रत्यक्ष मारमा त पार्छ नै । मुक्तिनाथका परिवारजनले पनि चुनौतीको सामना गर्नै प¥यो ।
ब्राह्मणले खेत जोत्नु अहिलेको समाचार होइन । अहिलेको चस्माले ८० वर्षअघिको घटनालाई हेर्न सकिन्न । हरेक घटना र परिघटनालाई त्यतिखेरकै आँखाले हेर्नुपर्छ । समय कस्तो थियो, परिवेश कस्तो थियो, त्यसको आधारमा विचार बनाउने हो । एक–दुई प्रतिशत शिक्षित भएको जमानामा ब्राह्मणले हलो जोत्नु कल्पना बाहिरको विषय थियो । पुस्तकालय खोल्नु, नागरिक संगठित भएर शिक्षण संघ÷संस्था खोल्नु पनि सार्वजनिक अपराध थियो । यस्तो कामका विरुद्ध राज्यले विप्लव गरेको भनेर फौजदारी मुद्दा लगाउन सक्थ्यो । जातीय सीमा उल्लंघन गर्ने अनुमति नै नभएका बखत उपाध्याय ब्राह्मणले जजमानी गरेरै खानुपथ्र्यो कि आधापेट खाएर जोत्ने मान्छे राख्नै पथ्र्यो । जातजाति विभाजन गर्ने प्रथा जंगबहादुरकै पालादेखि मोहन शमशेरको पालासम्म यही नजिर कायम भयो ।
पुनः हलो जोत अभियानतिरै फर्कौं । यो पंक्तिकारले लमजुङ दुराडाँडा अर्चल्यानीबाट हलो जोत अभियान सुरु भएको थाहा पाएको थियो । तर पहिलो ब्राह्मण हली मुक्तिनाथ शर्मा तिम्सिना पो रहेछन् । इतिहास त अकाट्य नै हुन्छ । त्यसमा पनि उमेरले ९० कटेका उनकै छिमेकी कोमलप्रसाद देवकोटा खडा छन् जो २००१ सालमा १० वर्षका थिए । अर्का त्यतिखेर ७ वर्षका हाल ८७ वर्षीय कृष्णलाल तिम्सिना । यी दुवैले ४ घन्टा जोतेर मकै रोपेका मुक्तिनाथले केही समय बहिष्करणमा परेको समेत हामीसँग बताए । २०७५ सालमा मुक्तिनाथ स्मृति प्रतिष्ठानले स्मृतिग्रन्थ नै प्रकाशित गरेको रहेछ, जसमा तत्कालीन कार्यकारी प्रमुख केपी शर्मा ओलीले समेत शुभकामनापत्र पठाएका रहेछन् ।
अहिलेको चस्माले ८० वर्षअघिको घटनालाई हेर्न सकिन्न । हरेक घटना र परिघटनालाई त्यतिखेरकै आँखाले हेर्नुपर्छ
दुराडाँडा अर्चल्यानीको इतिहास त सुरक्षित नै छ किनकि पहिलो संगठित विद्रोह त उनीहरूकै हो । संगठित ब्राह्मण हली त तोयनाथ पंण्डित, शेषकान्त लप्टनहरू नै हुन् । संगठित चुनौती भएकै कारणले मुक्तिनाथभन्दा उनीहरूले नयाँ अपमान बेहोरे । संगठित घेराबन्दीमा परेकैले उनीहरूको २००६ साल साउन ११ को क्रान्तिकारी कर्मलाई तनहूँ चुँदी सिम्पानीका ४ जना ब्राह्मणहरूले त्यही सालको पुस ६ गते चुँदी टुहुरे पसल बिर्ता बगरमा विधि र मर्यादापूर्वक जोतेर आलु बाली लगाएका हुन् । विधि भन्नुको अर्थशास्त्र सम्मत तरिकाले गरिएको हो । क्रान्तिकारीहरू सुशिक्षित हुन्छन् । प्रमाण–पत्रधारीहरू कतिपय प्रतिक्रान्तिकारी पनि हुन सक्छन् । पूर्ण दृष्टि हुनेहरू कम हुन्छन्, त्यसकारण क्रान्ति पुरुषहरू कम हुन्छन् । पूर्ण दृष्टि हुनेहरू एकोहोरो होइन, कुनै पनि कुराको दुवै पक्ष एकै पटक देख्न र बुझ्न सक्छन् । कुनै पनि मान्छे, विचार वा पदार्थका दुवै कुना एकै पटक देख्न सक्नु शिक्षाको सर्वोच्च सार हो । क्रान्तिकारी व्यक्तिहरू यिनै कारणले गर्दा अपमान र विरोधसँग डराउँदैनन् । मुक्तिनाथ यही कोटीको मानिस देखिनु हुन्छ । एउटा विद्रोही कति शक्तिशाली हुन्छ ? यो बुझ्नका लागि मुक्तिनाथ पर्याप्त हुनुहुन्छ । उहाँको ऐतिहासिक निर्णयले सिंगो मुलुकी एकातिर र उहाँ अर्कोतिर हुनुभयो । मुलुकी भन्नुको अर्थ सबैसँग ब्राह्मणवादी चिन्तन थियो । ब्राह्मणवादका कारण पशुतुल्य जीवन घिसार्न अभिशप्तहरू पनि त्यही चिन्तन र त्यही सोचबाट निर्देशित थिए । त्यसको उदाहरणस्वरुप एकजना छिमेकी दलित डाँको छाडेर रोए । पण्डितले नै जोतिदिएपछि आफ्ना बालबालिका के खुवाएर पाल्ने भन्ने चिन्ताले रोएको प्रसंग उहाँको स्मृति ग्रन्थमा उल्लेख छ ।
घोत्लिएर सोच्दा लाग्छ, मुक्तिनाथले त्यत्रो जोखिम कसरी उठाउनु भयो होला ! त्यति बिघ्न ठूलो कदम एक्लैले कसरी उठाउनु भयो होला ! कति समयको चिन्तन–मननले निष्कर्षमा पुग्नु भयो होला ! यति ठूलो निर्णय लिन कस्ता कस्ता पुस्तकहरू पढ्नु भयो होला ? के कस्ता गुरुहरू र मित्रहरूको प्रभाव प¥यो होला मुक्तिनाथमा ? उहाँलाई जन्म दिने मातापिताहरू कस्तो हुनुहुन्थ्यो होला ? गहिरो अध्ययनको विषय हो यो । शोधकार्यको विषय हो । एउटा ३० वर्षे ठिटोले गाउँका केही युवाहरू मुग्लान पस्दा मुलुकैभरि नै जग्गा बाँझो रहन सक्छ भन्ने दृष्टि कसरी निर्माण गर्‍यो होला ! पढे लेखेका कतिपय ब्राह्मण पुत्रहरू अझै पनि लुकेर जोत्दै छन् । जबकि साँच्चै शिक्षित–सुशिक्षित युवाहरूले श्रमको मर्म र मूल्य बुझाउन सक्नुपर्ने हो ।
हामीसँग धेरै नै प्रतिष्ठान् छन् । ऐतिहासिक नेताहरूका नाउँमा पनि प्रतिष्ठान् छन् । राज्यले नीतिमा नै प्रतिष्ठानको प्रबन्ध गरेको छ । यो सकारात्मक काम हो । नीतिको सवालमा हलो बिर्सेर कृषि नीति बनाउन सकिन्छ ? पाखो पखेरो र डाँडाकाँडा भएको मुलुकका जनताले पेटभरि खान पुग्ने खाद्यान्न र खाद्य पदार्थ उत्पादन गर्ने कृषि नीति बनाउन हलो लुकाएर सम्भव छ ? हलोक्रान्ति प्रतिष्ठान क्रान्तिकारीका सन्ततिले गठन गर्नुपर्ने हो ? हलोक्रान्ति अध्ययन प्रतिष्ठान् खडा गर्न क्रान्तिकारीहरूले किन सोचेनन् । सन्ततिको पढाइलेखाइमा ध्यान दिन सकेनन् । उचित शिक्षा पाउन नसकेर अभावमा बाँचेका ति अभागीहरूलाई मानसिक शान्ति कसले दिने ? तिनले पुर्खाको इतिहासमा आफूहरूले गर्व गर्न पाउने कि नपाउने ? यदि पाउने हो भने अब कस्तो व्यवस्था र संविधान चाहिन्छ ? ७ सय ६१ वटा सरकार हुँदा सम्बोधन नभएको विषय कहिले संसोधन हुन्छ भनेर आशा गर्ने ! तीन तहको राज्य प्रणालीमा नपाएको लोकतान्त्रिक मर्यादा र इज्जत कति तहको राज्य प्रणालीमा प्राप्त होला ! कतिसम्म भने सर्व साधारणले आफ्ना पितापुर्खाले सिर्जनशील काम गरेका थिए भनेर भन्दै हिँड्नु पर्ने ? सहिदका सन्ततिले आफ्ना जिजु बाजेले कहाँ कहिले सहादत प्राप्त गरेका हुन् भनेर राज्य र उसका अंगसँग सोध्दै हिँडिरहने ?
मानव सभ्यता निर्माणमा आफ्नो सिंगो जीवनबलिलीवेदीमा चढाउनु परे पनि त्यसका लागि तत्पर हुने मुक्तिनाथ तिम्सिना र त्यस्तै महापुरुषको इतिहासको संरक्षण अब जनस्तरबाटै गरिनुपर्ने भयो । हामीसँग मत मागेर जागेकाहरू कहिले दक्षिणको त कहिले उत्तरको जन पक्षीय भनेर नाम सुनिएकाहरूलाई अब जनविरोधी करार गर्नैपर्ने भयो । यिनीहरू जनपक्षीय हुन् भने किन अठार चिरामा रमाउँछन् । जनपक्षीय हो भने किन दर्जनौं अध्यक्ष र महासचिव हुनुप¥यो । अस्थिरताका कारक त अब यिनीहरू नै हुन् भनेर बुझ्न ढिला गरिनुहुन्न । विद्रोही नेता प्रति कृतज्ञ हुन विलम्ब नगरौँ । कामले सधैंं अमर रहने बहुमुखी व्यक्तित्व र कृतित्वका धनी युगान्तकारी पुरुष स्वर्गीय मुक्तिनाथ उपाध्याय तिम्सिनाप्रति नतमस्तक हुँदै शब्द श्रद्धा ।

Related News

सम्बन्धित समाचार

  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…
  • गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा

    ऋषिराम पाण्डे फागुन २९, २०८०
    संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि प्राथमिक सवाल बनेको छ । प्रदेश र स्थानीय तहका संस्थागत संरचनाहरूको…
  • पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

    राजेन्द्र भण्डारी माघ २४, २०८०
    चिलीको इतिहासः चिली विश्वका अन्य देशको तुलनामा फरक र असाधारण इतिहास बोकेको देशको रुपमा चिनिन्छ । कवि दोन आलोन्सो दे…
  • धार्मिक आस्था र आचरण

    उपप्रा. रामप्रसाद सुवेदी माघ २३, २०८०
    व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रवृत्ति वा स्वभावलार्ई धर्म भनिन्छ । यसलाई स्वर्ग प्राप्त गर्ने लोकविश्वासका…

hero news full width