भाषा पाठ्यपुस्तकमै भाषिक अराजकता

कमल कोइराला
वैशाख २७, २०८०

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८० देखि लागु हुने गरी प्रकाशन गरेको परिवर्तित पाठ्यक्रममा आधारित कक्षा १० को नेपाली पाठ्यपुस्तकमा गम्भीर भाषिक त्रुटि भेटिएका छन् । चामलमा कताकति बियाँ भेटिनुलाई अस्वाभाविक नमानिएला । तर, चामल र बियाँ सराबरी हुने स्थिति रह्यो भने त्यसलाई किमार्थ स्वाभाविक मान्न सकिँदैन । झन्डै दुई दशकदेखि नेपाली भाषा शिक्षणमा समर्पित शिक्षक भएका नाताले सरकारी पाठ्यपुस्तकको यस्तो भाषिक अराजकताप्रति यो पंक्तिकार मूकदर्शक भएर रहन सकेन । यसर्थ पाठ्यपुस्तकको यस भाषिक लापरबाहीमाथि प्रश्न उठाउनु वाञ्छनीय देखिएकाले त्रुटिको फेहरिस्तसहितको यो सामग्री यहाँ प्रस्तुत्य ठानिएको छ ।

यस पुस्तकभित्र पृष्ठ ४ को प्रश्न ४ मा ‘अनुष्टुप’ शब्दमा प् हलन्त गरिएको छैन । पृष्ठ ६ को प्रश्न १५ को पहिलो अनुच्छेदमा देवो शब्द एक ठाउँमा पदयोग र अर्काे ठाउँमा पदवियोग गरिएको छ । ‘मातृदेवो भव:’, ‘पितृदेवो भव:’, ‘आचार्यदेवो भव:’ भन्ने संस्कृत सूक्तिमा उपयुक्त ठाउँमा विसर्ग राखिएको छैन । यस्तै प्रकृतिको त्रुटि पृष्ठ २१४ को प्रश्न ११ मा प्रयुक्त संस्कृतको श्लोकमा पनि भेटिन्छ । पृष्ठ ९ को दोस्रो अनुच्छेदको तेस्रो हरफमा ‘त्यही’ लेखिनुपर्ने ठाउँमा ‘त्यै’ लेखिएको छ । पृष्ठ १० को प्रश्न ९ मा ‘धनी’ र ‘सम्पन्न’ को शब्दकोशीय अर्थ एउटै भए पनि फरक अर्थ दिने शब्दझैँ बनाएर प्रयोग गरिएको छ । खाऊन्, होऊन्, घोत्लिरहून्, दोहोर्‍याऊ, नलिऊँजस्ता इच्छाबोधक शब्दहरूको ऊकारान्त दीर्घ हुुनुपर्ने ठाउँमा ह्रस्व लेखिएको छ । नफसून्, नडुबून्जस्ता इच्छार्थक क्रियापदमा पनि त्यस्तै समस्या देखिन्छ । पृष्ठ १२ को चौथो अनुच्छेदको अन्त्यमा ‘उसैले’ का ठाउँमा ‘त्यसैले’ राखिएको भए बढी अर्थपूर्ण हुने थियो । त्यस्तै पाँचौँ अनुच्छेदको अन्त्यमा ‘धोइफोइ’ हुनुपर्नेमा त्रुटिपूर्ण शब्द प्रयोग गरिएको छ ।

‘घरझगडा’ पाठको अन्तिम अनुच्छेदमा ‘तयारी भएको’ हुनुपर्नेमा ‘तयारिभएको’ लेखिएको छ । नेपाली शिक्षण गर्नुको अर्थ विद्यार्थीलाई उपलब्ध भएसम्म नेपाली भाषाका शब्दहरूमै अभ्यस्त गराउने हो । तर, पाठ्यपुस्तकमा अङ्ग्रेजी शब्दहरूलाई जबर्जस्ती प्रयोग गर्न खोजिएको छ । पृष्ठ ४१ मा ‘स्वीकार गरिछन्’ भनेर सहजै लेख्न मिल्ने शब्दलाई ‘एसेप्ट गरिछन्’ लेखिनु यसैको एउटा ज्वलन्त दृष्टान्त हो । पृष्ठ ४२ को देलान् क्रियापदमा ‘न’ हलन्त भएको छैन । पृष्ठ ५३ को पहिलो अनुच्छेदको अन्तिममा ‘कहिल्यै’ हुनुपर्ने ठाउँमा ‘कहिले’ भएको छ । नेपाली बृहत् शब्दकोशमा मन्त्रिपरिषद्को ‘त्रि’ ह्रस्व लेखे पनि मन्त्रीमण्डलको ‘त्री’ दीर्घ लेख्नुपर्ने प्रावधान छ । तर, यस पुस्तकमा पृष्ठ ५५ मा मन्त्रिमण्डल भनी उल्लेख गरिएको छ । सोही पृष्ठमा ‘अशक्त’ लेख्नुपर्ने शब्द ‘असक्त’ भएको छ । सामान्यत: ‘मृत्युशड्ढया’ शुद्ध मानिन्छ । तर, पुस्तकमा य् लाई ऐकारको काम गर्ने गरी ‘मृत्युशैया’ लेखिएको छ । पृष्ठ ५९ को प्रश्न ३ मा ‘…सक्रिय रूपमा संलग्न भएर’ भन्ने वाक्यांशमा ‘रूपमा’ भन्ने शब्द नै छुटेर वाक्य निरर्थकजस्तो बन्न पुगेको देखिन्छ । पृष्ठ ६३ मा ‘सुचालक वस्तु’ भन्ने प्रसङ्गमा ‘वस्तु’ नलेखी ‘सुचालक’ मात्रै लेखे पनि पर्याप्त हुन्थ्यो होला । पृष्ठ ६७ मा दीर्घ लेखिनुपर्ने ‘मोती’लाई ह्रस्व लेखी ‘मोति पुरस्कार’ बनाइएको रहेछ ।

‘अधिकार ठुलो कि कर्तव्य’ शीर्षकको वादविवादमा ‘समयपालक’ भन्ने शब्द प्रयोग गरिएको रहेछ । वास्तवमा समय पालना गर्ने व्यक्तिलाई समयपालक भनिन्छ । उसले आफूले समय पालना गर्ने भन्दा पनि अरूलाई समयको सङ्केत गर्ने हो । त्यसैले यसमा ‘समय सचेतक’ वा समय सङ्केतक भन्ने शब्द बढी अर्थपूर्ण हुन्थ्यो होला । पृष्ठ ७५ को पहिलो पृष्ठमा प्रयोग गरिएको ‘इमानदारिता’ शब्द आफैँमा त्रुटिपूर्ण छ । यसका ठाउँमा ‘इमानदारी’ लेखिएको भए शुद्ध हुन्थ्यो । पृष्ठ ७७ मा ‘रोजगारको स्वच्छ प्रतिस्पर्धा…’ भन्ने पदावलीमा रोजगारका ठाउँमा ‘रोजगारी’ लेखिनुपथ्र्याे । पृष्ठ ८३ को प्रश्न १४ मा प्रयुक्त ‘सूचाङ्क’ शब्द त्रुटिपूर्ण देखिन्छ । वास्तवमा शुद्ध शब्दचाहिँ ‘सूचकाङ्क’ हो । सामान्यतया ‘हामी’ ले प्रथम पुरुषको बहुवचन बुझाउँछ । हामी लेखिसकेपछि ‘हामीहरू’ लेखिरहनुपर्दैन । तर, यस पुस्तकका धेरै स्थानमा ‘हामीहरू’ शब्द प्रयोग गरिएको भेटिन्छ ।

‘जमदारको पक्षमा’, ‘गाँसको निम्ति’ ‘उसको लागि’, ‘मेरो निम्ति’ आदिजस्ता धेरै सन्दर्भमा तिर्यकीकरणले अपेक्षा गर्ने विभक्तिहरूको प्रयोग गरिएको भेटिँदैन । पृष्ठ १०० को प्रश्न १ मा ‘मैले भने’ भन्ने वाक्यको क्रियापदमा चन्द्रविन्दु नै छैन । त्यस्तै अर्काे वाक्यमा ‘तैँले’ हुनुपर्नेमा ‘तैले’ भएको छ । सोही पृष्ठको प्रश्न २ मा ‘हिमालले बयर टिपेर ल्याउँला र खाउँला ।’ भन्ने वाक्यमा ‘ल्याउला’ हुनुपर्ने ठाउँमा ‘ल्याउँला’ भएको छ । पृष्ठ १०३ को ‘नेपाली हाम्रो श्रम र सिप’ कवितामा ‘स्वदेश मै लगाऊँ’ मा ‘मै’ विभक्ति जोडिएको छैन । पृष्ठ ११३ को प्रश्न ९ को एउटै अनुच्छेदमा सुर्खैत (सुर्खेत), हृदयघात (हृदयाघात), कलेँटी (कलेटी) गरी तीनओटा शब्द त्रुटिपूर्ण देखिन्छन् । पृष्ठ ११७ को दोस्रो अनुच्छेदमा ‘सक्छन्’ पछि वाक्य टुङ्गिएको छ तर पूर्णविराम छैन । पृष्ठ १२५ को सुनाइ र बोलाइ प्रश्न (ग) मा ‘मध्यस्थकर्ता’ हुनुपर्ने ठाउँमा ‘मध्यस्थता कर्ता’ भएको छ ।

नेपाली विषय समितिका विषयविज्ञको आँखा पनि यसमा परेकै हुन्छ । विषयवस्तु र भाषा सम्पादनकै लागि दर्जनौँ कर्मचारी हुन्छन्

पृष्ठ १४० को सिर्जना र परियोजनाकार्यमा ‘…घटना टिपोट गरी रिपोटिङको शैलीमा कक्षामा प्रस्तुत गर्नुहोस्’ रिपोटिङका ठाउँमा ‘प्रतिवेदनात्मक’ लेखिएको भए अझ बढी विषयगत धर्म निर्वाह गरिएको ठहथ्र्याे कि ? ‘कर्तव्य’ कथाको पृष्ठ १४१ मा ‘कति अत्युक्ति’ भन्ने वाक्यांशमा कतिका ठाउँमा ‘कत्ति’ राखिदिएको भए अझ बढी अर्थपूर्ण हुन्थ्यो । सोही कथाको पाँचौँ अनुच्छेदको ‘उनी एउटा वास्तवमा सच्चा ब्राह्मण थिए ।’ भन्ने वाक्यमा ‘उनी वास्तवमा एउटा सच्चा ब्राह्मण थिए’ लेखिएको भए राम्रो हुन्थ्यो । पुस्तकका कतिपय पाठका वाक्यमा वाक्य टुङ्गिएपछि पूर्णविराम राखिएको छैन । पृष्ठ १६६ को प्रश्न ३ मा ‘म घरबाट निस्के ।’ भन्ने वाक्यको क्रियापदमा चन्द्रविन्दु छैन । पृष्ठ १८५ मा ‘…बसेका यात्रु मुसुमुस हाँस्दै मनमनै भने ।’ भन्ने वाक्यांशमा यात्रु शब्दमा ले विभक्ति छुटेको छ । पृष्ठ २०२ मा ‘फागुन–चैत्र’ भन्ने शब्दका ठाउँमा कि ‘फाल्गुन–चैत्र’ कि ‘फागुन–चैत’ लेख्नुपथ्र्याे । पृष्ठ २०५ (१) को १ को प्रश्नमा तलको तालिका पढ्नुहोस् र साथीसँग छलफल गर्नुहोस् भनिएको छ तर उत्तरमा तालिका नै दिइएको छैन ।

सोही पृष्ठमा प्रश्न क (इ) को ‘सदाचारका लागि शरीर र कस्तो हुनुपर्छ’ भन्ने वाक्य आफैँमा अपूर्ण देखिन्छ । कहीँ ‘रुख’ त कहीँ ‘रूख’को प्रयोगले पनि शब्दको शुद्ध प्रयोगका सन्दर्भमा विद्यार्थीमा द्विविधा थपिदिएको छ । परिशिष्ट खण्डअन्तर्गत पृष्ठ २३५ मा ‘नेपाल सर्वाेपरि’ शीर्षकको शार्दूलविक्रीडित छन्दको दोस्रो श्लोकको दोस्रो पङ्क्ति २१ अक्षरको छ । जब कि शार्दूलविक्रीडित छन्द १९ अक्षरीय हुनुपर्ने छन्दशास्त्रीय प्रावधान छ । परिशिष्ट खण्डकै पाठ १३ मा ‘सज्जन मानिस’ भन्ने पदावलीमा सज्जन आइसकेपछि मानिस लेखिरहन जरुरी थिएन । सोही पाठमा ‘निर्भीक’ लाई ‘निर्भिक’ लेखिएको छ । आजसम्मका प्राय: पाठ्यपुस्तकमा समयबोधक शब्दका रूपमा ‘बेला’ को प्रयोग त्रुटिपूर्ण देखिएको थियो । तर, यसमा भने शुद्ध शब्द ‘वेला’ लेखिएको देख्दा भने खुसी लाग्यो ।

पुस्तक सर्सर्ती पल्टाएर हेर्नेबित्तिकै सामान्य भाषिक ज्ञान भएकाले पनि प्रस्टै अनुभव गर्न सक्ने त्रुटिहरू प्राय: हरेक पृष्ठमा देखिन्छन् । आसन ग्रहण (आसनग्रहण), नगरिकन (नगरीकन), बैरी (वैरी), दुगर्ण (दुर्गुण), दौडिदै (दौडिँदै), इष्र्यालु (ईष्र्यालु), स्वयम्भु (स्वयम्भू), फर्कदा (फर्कँदा), घिरौला (घिरौँला), लयवद्ध (लयबद्ध), बिग्रदा (बिग्रँदा), जोखिमविरुद्ध (जोखिमविरुद्ध), अझैँ (अझै), कार्य विधि (कार्यविधि), मार्ग निर्देश (मार्गनिर्देश), कतृवाच्य (कर्तृवाच्य), बाग्मती (वाग्मती), पंजियार (पन्जियार), कर्तव्य पालन (कर्तव्यपालन), वेवास्ता (बेवास्ता), निस्वार्थ (नि:स्वार्थ), झुण्ड (झुन्ड), मलुक (मुलुक), सम्झदै (सम्झँदै), साच्ची (साँच्ची), नहेरिकन (नहेरीकन), दुख (दु:ख), बाहक (वाहक), आशक्ति (आसक्ति), त्यही (त्यहीँ), काली गण्डकी (कालीगण्डकी), पञ्च कर्म (पञ्चकर्म), लक्ष्मी पूजा (लक्ष्मीपूजा), घाटी (घाँटी), हनुमान (हनुमान्), आयुर्वैदिक (आयुर्वेदिक), आपतकालीन (आपत्कालीन), किराँत (किरात), प्रज्ज्वल (प्रज्वल), बिष्णुपुर (विष्णुपुर), नाँच (नाच), पैँसा (पैसा), गद्गद (गदगद), तदभव (तद्भव), प्रतिबिम्ब (प्रतिविम्ब) आदिजस्ता त्रुटिहरूले पुस्तकभरि भाषिक भाँडभैलो निम्त्याएका छन् ।

त्यस्तै पुनश्च: (पुनश्च), प्राधानाध्यापक (प्रधानाध्यापक), नमूना (नमुना), बारम्बार (वारम्वार), दीर्धकालीन (दीर्घकालीन), दिउसो (दिउँसो), युवा पुस्ता मार्फत (युवापुस्तामार्फत), चञ्चले (चन्चले), दुलाहा (दुलहा), बरू (बरु) वेर (बेर), शुली (शूली/सुली), बगैचाँ (बगैँचा), पश्चाताप (पश्चात्ताप), केबल (केवल), तै पनि (तैपनि), अदभुत (अद्भुत), विध्न (विघ्न), शसक्त (सशक्त), विदा (बिदा), गरुन् (गरून्), दौतरी (दौँतरी), भीड (भिड), मावन हृदय (मानव हृदय), खुसियाली (खुसीयाली), समाजिक (सामाजिक), छाटकाट (छाँटकाँट), बँढारकुढार (बढारकुँढार), एकाकीपन (एकाङ्गीपन), बसाइ (बसाइँ), दिनदर्या (दिनचर्या), शन्तमाया (सन्तमाया), भक्भकाएँ (भकभकाएँ), हिक्क (हिक्का), क्षीतिज (क्षितिज), सासु (सासू), सन्जय (सञ्जय), र्‍यएाली (र्‍याली), भाँति (भाँती), चाडवाड (चाडबाड), पानीपधेँरो (पानीपँधेरो), रहष्य (रहस्य), आगलागि (आगलागी), तँलाइ (तँलाई), बादक (वादक), अण्डाकार (अन्डाकार), ओखतीमूलो (ओखतीमुलो), थप्थपाउँथे (थपथपाउँथे), भेँडो (भेडो), ओझैल (ओझेल), दिग्दिगन्त (दिग्दिगन्त), ग्राम विकास (ग्रामविकास), चन्दा बुक (चन्दाबुक), महाआत्मा (महात्मा), हुल्लडवाज (हुल्लडबाज) आदि शब्दहरूको शुद्ध वर्णविन्यासगत प्रयोगमा पटक्कै ध्यान दिइएको देखिँदैन । त्यस्तै चिकित्साविज्ञान, मनोचिकित्सा, चिकित्साशास्त्र, उपचारपद्धति, आचारसंहिता प्राय: पदयोगमै लेखिन्छ । शब्दकोशमा पनि उपर्युक्त शब्दहरूले नै प्रविष्टि पाएका छन् । तर, यस्ता तत्सममूलका कतिपय शब्दहरूलाई पनि पाठ्यपुस्तकमा पदवियोग गरी लेखिएको छ ।

समान, अनुकूल, सुहाउँदो, जस्ता, भन्दा, चाहिँ, झैँ, विरुद्ध, स्थित, जत्रा, पटक, स्तरीय, जसरी आदि शब्दहरूले पनि नामयोगीकै रूपमा काम गरिरहेका हुन्छन् । तसर्थ यी शब्दहरूलाई नामिक पदसँग पदयोग गरेर लेख्नु उपयुक्त हुन्छ । तर, पुस्तकमा त्यसो गरिएको छैन । सामान्यतया दुई किसिमबाट अक्षरहरूलाई हलन्तीकरण गर्ने नियम छ । एउटा आधा अक्षर लेखेर अर्काे खुट्टा तानेर । सिधै आधा लेख्न नमिल्ने अक्षरहरूमा मात्रै खुट्टा तान्नुपर्छ । तर, सिधै आधा लेख्न मिल्ने ‘ह्’ प्रयुक्त अक्षरहरूमा पनि जबर्जस्ती खुट्टा तानिएको छ । आह्वान, असह्य, विह्वल, अपराह्न, रह्यो, चिह्न, बाह्य, आह्लादित, मध्याह्नलगायत शब्दहरूमा पुस्तकभरि यो समस्या देखिन्छ । त्यस्तै सिधै हलन्त गर्न मिल्ने ‘फ्’, र ‘झ्’ मा पनि यस्तै समस्या भेटिन्छन् ।

सङ्ख्यावाची थान बुझाउने परसर्ग ‘ओटा’ नामिक पदसँग पदयोग गरी लेख्ने तर उही सङ्ख्यावाची व्यक्ति बुझाउने परसर्ग ‘जना’ पदवियोग गरी लेख्ने कुरा पटक्कै युक्तिसङ्गत देखिँदैन । ‘को’ विभक्ति लागेपछि शब्दको तिर्यकीकण हुने भएकाले ‘हुनाको’ लेखिनुपर्ने हो तर पुस्तकमा ‘हुनु’को लेखिएको छ । ‘तिलाञ्जलि’, ‘श्रद्धाञ्जलि’ दुवै तत्सम शब्दहरू ह्रस्व लेखिनु संस्कृत व्याकरणसम्मत ठहर्छ । तर, पुस्तकमा दुवै शब्द ह्रस्व लेखिएको छ । सट्टा, भट्ट, डिट्ठा, छुट्टी, पट्टि, घट्ट, लट्ठी, लट्ठक, छुट्टिनु, पट्टाउनु, झट्टै, खुट्टो, छुट्टाछुट्टै, बिछट्टैजस्ता ट् र ठ् को सम्मिलन भएका शब्दहरूमा अक्षरको संयुक्तीकरण गर्ने प्रचलन छ तर पुस्तकमा कतै पनि यो नियम पालन गरिएको पाइँदैन । देशप्रेम, सञ्चारमाध्यम, एकदिन, तैलचित्र आदिजस्ता पदयोगमा लेख्नुपर्ने शब्दहरूलाई पनि पुस्तकमा पदवियोग गरेर लेखिएको छ ।

पाठ्यपुस्तकभित्रका विभिन्न स्थानमा नयाँनयाँ, उस्तैउस्तै, टाढाटाढा, आधाआधा, राम्राराम्रा, अघिअघि, एकएक, मनमन, घरघर, मुखमुख, पछिपछि, छिटोछिटो, अलगअलग, कुनकुन, केके, मुख्यमुख्य, नसानसा, छियाछिया, टुक्राटुक्रा, जुनजुन, खासखास, उँघीउँघी, गरीगरी, जताजता, उतैउतै, कस्ताकस्ता, दुब्लादुब्ला, कालाकाला, पछिपछि, छिनछिन, फरकफरक, वेलावेला, छोटाछोटा, ठुलाठुला, मोटामोटा, घरघर आदिजस्ता पूर्ण द्वित्वनिर्मित शब्दहरूलाई पनि पदवियोग गरी लेखिएको भेटिन्छ । त्यस्तै बाढीपहिरो, हानिनोक्सानी, मूल्यमान्यता, गुणदोष, बिक्रीवितरण, पापधर्म, चिनेजानेका, कमीकमजोरी, लेखरचना, कुशलमङ्गल, पेसाव्यवसाय, घटीबढी, दौरासुरुवाल, भाषासंस्कृति, ज्ञानविज्ञान, सङ्घसङ्गठन, गाउँसहर, मूल्यमान्यता आदिजस्ता युग्म शब्द तथा समस्त शब्दहरूलाई पनि पाठ्यपुस्तकका हरेक पाठमा अलगअलग लेखिएको देख्दा अलि बुझक्की पाठकलाई उदेक लाग्नु स्वाभाविक हो ।

नेपाली विषयको पाठ्यपुस्तक निर्माणमा विषयवस्तु लेखनको प्रारम्भिक चरणदेखि नै नेपाली भाषा विज्ञहरूको संलग्नता रहन्छ । नेपाली विषय समितिका प्रत्येक विषयविज्ञको आँखा पनि यसमा परेकै हुन्छ । पाठ्यक्रम विकास केन्द्र (पाविके) मा भाषा सम्पादकहरूको पनि पक्कै कमी छैन । पुस्तकको विषयवस्तु र भाषा सम्पादनकै लागि त्यहाँ दर्जनौँ कर्मचारीको व्यवस्था गरिएको छ । तैपनि नेपाली भाषाकै पुस्तकमा यस्तो भाषिक अराजकता देखिनु आफैँमा विडम्बनापूर्ण छ ।

Related News

सम्बन्धित समाचार

  • पाठेघरको जाँच शिविरकै भर

    भवानी अधिकारी जेठ १६, २०८०
    विश्वमा स्तन क्यान्सरपछि पाठेघर क्यान्सर हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ । पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मानिन्छ । यसले शरीरका…
  • यसकारण चाहिन्छ प्रदेश

    गिरीधारी सुवेदी जेठ १०, २०८०
    संघीय संविधान जारी भै दुई पटक संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्भव भइसकेपछि पनि नेपाली राज्य प्रणालीको भाष्य सकारात्मक,…
  • छापाखाना क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व.किरण

    मनोहर दाहाल जेठ ५, २०८०
    मानिसको मन आफूलाई मन पर्ने चिज मात्रै खुसीसाथ स्वीकार गर्दोरहेछ । जुन चिज आफूलाई मन पर्दैन, त्यो मनले स्वीकार नगर्दोरहेछ…
  • ३४ वर्षे सहयात्रामा लाग्यो पूर्णविराम

    पदमलाल श्रेष्ठ जेठ ५, २०८०
    पछाडि फरक्क फर्केर हेर्दा २०४६ सालदेखिको कुरा हो, हाम्रो किशोर अवस्थादेखिको सहयात्रा । निकै चञ्चले र रमाइलो थियो । मेरो…
  • एघारौं स्मृति दिवस : सेती नदीको त्यो बेमौसमी बाढी

    विनोदमोहन आचार्य वैशाख २३, २०८०
    नेपालका थोरैमध्येका सुन्दर सहर अथवा पर्यटकीय नगरीका रुपमा संसारभर प्रसिद्धि पाएको पोखरा । प्राकृतिक सुन्दरताको दृष्टिले पोखरा र आसपासका ग्रामीण…

hero news full width