नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

मदन भण्डारी
वैशाख १, २०८१

मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता देखेर म्याक्सिम गोर्कीले आफैंलाई गोली ठोकेका थिए । पार्टीकै गद्दारका कारण नेपालमा पार्टीका मान्छे मरिरहन्छन् । महाभारत युद्ध मैदानमा अर्जुन पनि आत्तिएका थिए । आफ्नै श्रद्धेय जनहरूको सँहार गर्नुपर्ने देख्दा हतियार बिसाउँदै कृष्णलाई भने, चञ्चलम् हि मन कृष्णः प्रमाथि वलवदृडम् । तस्याहम् निग्रहम् मन्ये वायोरिव सुदुष्करम् । (हे कृष्ण ! यो मन चञ्चल छ, उच्छृंखल छ, हठी र अत्यन्त बलवान् छ । यसलाई नियन्त्रण गर्नु हावालाई नियन्त्रणमा राख्नु जस्तै कठिन छ भन्ने मैले ठानेको छु !’ गीता ६ः २४)

टिभी समाचारले वाक्क म पनि कृष्णजीलाई भेट्न गएँ । कास्कीका कतिपय वनपाखा हामीले सँगै चहारेका छौं । मनाङ, उत्तरवाहिनी आदि ठाउँको यात्रामा सँगै भएका छौँ । कुर्सीमा बसेर भजन सुनाएँ,
चञ्चल भयो मन, चञ्चल भयो मन
लैजाउ कृष्ण वृन्दावन, चञ्चल भयो मन !

‘वृन्दावन होइन देवघाट जाम्, घाट नै अन्तिम गन्तव्य हो !’ कृष्णजीले प्रस्ताव गरे, ‘१ गते गैंडाकोटमा आदर्श समाज २९ औं वर्ष प्रवेशको कार्यक्रम पनि छ । जाम् !’

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याऊ को नारा घन्काएर स्वतन्त्र पत्रकार संघले दबाबमूलक कार्यक्रम गरेको थियो । नयाँले नयाँ आम्दानी गरिरहेको छैन, चीनलाई अपार ऋणको ब्याज तिर्नुपर्छ । नाम अन्तर्राष्ट्रिय, काम घरेलु उडान मात्रै । नयाँ विमानस्थलले एकैचोटी १ सय जना मान्छेको ज्यान खायो । चीनको नेपाल सहयोगलाई भारत आफूप्रतिको असहयोग ठान्छ । सरकारको नयाँ गठबन्धनलाई चीन निर्मित भन्छ । हाम्रो प्रधानमन्त्रीलाई भारतेली नेता घोडा मान्छ ।

हाम्रा पुर्खाले प्राकृतिक छटा देखेरै चैत–वैशाखलाई वसन्त ऋतु भने होलान् । कोइली कराउन थाल्छे । हावामा तितेपाती, उन्यूँ र अनेक वनस्पतिको सुगन्ध छ । आकाशको नीलिमा र हिमालको चमक मनोहारी लाग्छ । कालीदासले लेखेछन्, पवनले म्वाइँ खान खोज्दा मुनाले नाइँ–नाइँ–नाइँ भनी अरे । मान्छेमा स्वस्फूर्तताको भाव जाग्छ । कान्छी भन्थी, ए कान्छा फोर न डल्ला फोर हो, जोत न बारी जोत ! यहाँ डल्ला फोर्नु र बारी जोत्नुको अर्थ–विस्तारलाई शब्दले थेग्न सक्दैन । अहिले त घरदेसमा होइन, जे गर्नु परदेशमै ऋण छ । जनवरी १ ले वैशाख १ लाई अँठ्याउँदा हाम्रा सांस्कृतिक पर्वहरू अँध्यारिन थालेका छन् । विदेशीका दलाललाई नेता मान्न नेपाली जनता बाध्य छौं ।

म मुग्लिनबाट पूर्र्व सोझिने बाटो सम्झिन्छु । त्रिशूली किनार । गाडी खस्यो त्रिशूलीमा, ड्राइभर बगरमाथि छ, धरती र आकाश मात्र देख्ने साँची छ । मदन भण्डारीको अवसान बेलाको गीत याद आउँछ । अहिले पनि उमेश गिरी मदन भण्डारीको हत्या गिरिजाप्रसाद कोइरालाले गराएका हुन् भनेर चिच्याइरहेका छन् । गम्भीर विषयलाई सस्तोमा उडाउने नेपाली संस्कृति बनेको छ । मुक्ति सेनाको संख्या, ५ हजार मान्छेको हत्या, उथलपुथल वा बलात्कार जस्ता शब्दावली थेत्तरो भएका छन् । सुशासन र समृद्धि नेताका मुखका थेगा हुन् । समाजवादी मोर्चामा चर्काे भाषण गर्ने कमरेडलाई घृणा होइन, दया गर्न सकिन्छ । भ्रष्टाचारका मुद्दा ओझेलमा पार्नैका लागि लेनिन शतवार्षिकीको हल्लाखल्ला मच्चाइँदै छ ।

अनेक रोगले जीर्ण २०८० पछि नयाँ ८१ आगमनको बेला । प्रचण्ड नै प्रधानमन्त्री । जन्मिने प्रत्येक शिशुको थाप्लोमा ८१ हजार रुपैयाँको ऋण सचेत नेपालीका लागि पीडादायी छ । दलाल नोकरशाही पुँजीवाद र सामन्तवादविरुद्धको ‘जनयुद्ध’ कै परिणामले यो स्थिति बन्यो ।

भोकप्यास र थकाइले लस्त हुँदा पनि ऐतिहासिक धरोहर, जंगली चरा–जनावर वा श्रमिकको कामको फोटो खिचिहाल्ने कृष्णजीको बानी छ

नयाँ सरकारको गठनदेखि नै नेपाली कांग्रेसले विघटनको दाउ गर्दै छ । नयाँ प्रधानमन्त्री हुनेबित्तिकै प्रचण्डले ‘घेरा हाल्न खोजिए लात्ताले हान्छु’ भने । प्रमुख प्रतिपक्षी छँदा एमालेले उठाएका मुद्दा ज्युँका त्युँ छन् । शेरबहादुर देउवाले प्रचण्डलाई औंलो होइन, डुँडुलो दिँदा पनि धर पाएनन् । केपी ओलीले काँध हल्लाइदिए एक्लो प्रचण्डको माआवोदी केन्द्र ढुँगामा बजारिएको सिसा जस्तै हुन्छ । अब प्रचण्डको लात्ताले आफ्नै घैँटो फुटेर अनुहारभरि सातु पोखिने जोखिम छ । कांग्रेसका विश्व, गगन, चन्द्र, शंकर भण्डारीजस्ता भाषणबाज नेतालाई उछिन्दै माओवादीका केही नेता अझै शेरबहादुर देउवाको साथ पाउने आशा व्यक्त गर्दै छन् । देउवा–प्रचण्ड भेटको बठ्याइँ रङ फेराइमा छेपारोसितको प्रतिस्पर्धा मात्रै हो । ०५२ सालदेखि मारिएका मान्छेप्रति अहिले कांगे्रसीजनमा पछुतो र ग्लानी पाइँदै छ । कांग्रेसको चेत फर्किंदा नेपाली राजनीतिले लय पाउन सक्छ ।

गृहमन्त्री नियुक्तिको साता नबित्दै रवि लामिछानेले भ्रष्टाचारमा डामिएका ठूल्ठूला चिप्ला माछा च्याप्प–च्याप्प समाते, करुणाले पग्लिएर पानीमै छाडिदिए । उनै गृहमन्त्रीको राजीनामा मागेर कांग्रसले संसद अवरुद्ध गर्दै छ । लोकप्रियताको शिखर चुम्दैका रविलाई पनि हेक्का होला स्टन्टबाजीले आकाशसम्म उचलिएका प्रचण्ड अहिले पातालतिर भासिँदै छन् । संसदीय छानबिन समितिको मागमा तर्क छ, आलो उदाहरण छ । रवि लामिछानेले राप्रपाको आन्दोलनमा १ बुँदा थपाएर आफ्नै खाल्डो खने ।

पोखराबाट चितौनसम्मको यात्रा गर्ने हिम्मत भएन । प्रेसरले ढलेर दाइने हर अपांगको अवस्था । मान्छेको बानी र बिरामी विचित्र । देवघाटको भ्रमण र सच्चा सन्तको दर्शन मेरो उद्देश्य, आदर्श समाज राष्ट्रिय दैनिकको २९ औं वार्षिकोत्सव मनाउने कृष्णजीको ध्याउन्न । गैंडाकोटमा आदर्श समाजको भव्य भवन छ । त्यहाँबाट पत्रिका निकाल्न सुरु गर्दा माओवादी आक्रमण, भूकम्प र कोरोनाले कृष्ण थिल्थिलिएका थिए । आज अनेक मिडियाकर्मी, शुभेच्छुकहरू, खासगरी स्वतन्त्र पत्रकार संघसँग आबद्धहरूको ठूलै जमघटको समाचार हेरें । पोखराका पुराना पत्रकार तेजनाथ घिमिरे कृष्णको पत्रकारिताको मुक्तकण्ठले प्रशंसा गर्थे । आदर्श समाजको त्यतिखेरको इतिहास खोतल्दै रवीन्द्र माकाजु लेख्छन्, ‘०५४ सालमा सम्पादक कृष्णप्रसादजी र म रातभरि सेटिङ समय मिलाउँथ्यौं ।’ कानुनी लडाइँका सहयोगी तिलक पराजुली कृष्णको एकोहोरो खटाइलाई टेनिसनको कवितासँग दाँज्दै सुनाउँछन्, ‘फर मेन मे कम एन्ड मेन मे गो बट आई गो अन पर एभर ।’ भोकप्यास र थकाइले लस्त हुँदा पनि ऐतिहासिक धरोहर, जंगली चरा–जनावर वा श्रमिकको कामको फोटो खिचिहाल्ने कृष्णजीको बानी छ ।

‘मान्छेको भीडमा म मान्छे खोजिरहेछु …!’

कृष्णजीको पुरानो मुक्तक, प्रायः सुनाउँछन् । त्यति विशाल भीडमा मान्छे कति होलान् ? अभिताब बच्चनको कविता छ, चेहेरे पे किताबोँ से ज्यादा लिखा होता है । किताब पढ्न गाह्रो हुन थाल्यो । मान्छे अहिले मान्छेको अनुहार पढ्न बढी लालायित छ । जूनलाई टर्चलाइट बालेर हेर्ने मेरो बालककालदेखिको बानी छ । सधैं अर्कालाई सिकाउँ–सिकाउँ लाग्छ । नजानेको कुरामा जान्ने हुन असाध्य मजा आउँछ । मञ्चमा माइक पाइए झुण्डिरहन मन लाग्छ तर म पोखराबाट गैंडाकोट जान सकिनँ । समाचार हेरेर चित्त बुझाएँ ।

चैत मसान्त र वैशाख १ को सूर्यास्त र सूर्योदय एउटै होइन । भनिन्छ, मान्छेले एउटै नदीमा दुइचोटि नुहाउन सक्दैन । हिजो पश्चिम डाँडामा पहेंलिएको घामले– कसैको पनि हुँदैन एकैनास समुन्नति !
भनेर गयो । कृष्णबहादुर महराले आफूलाई भुरा बताउँदा सुन्ने कानहरू स्तब्ध छन् । टोपबहादुर, कृष्णबहादुर, नन्दबहादुर, मीनबहादुर, अनन्तादि भुरा हुन् भने ठूला कस्ता होलान् !

आज पूर्वमा उज्यालिएको घामले छुट्टै ऊर्जा सञ्चार गर्छ । ‘आदर्श समाज’ पत्रिका प्रकाशनबाट आदर्श समाजको परिकल्पना गर्ने कृष्णप्रसाद बाँस्तोलाजीको कठोर परिश्रम देश र जनताकै लागि भइरहेको छ । स्वतन्त्र पत्रकारिताको संकल्प स्तुत्य छ । भित्ताको क्यालेन्डर फेरेर कलुषित मनले शुभकामना बाँड्दै हिँड्नुभन्दा यस्तै ठोस र मूर्तिकृत कामले मुलुकलाई उँभो उकाल्न सकिएला !

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग