नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

शेषराज भट्टराई
जेठ १२, २०८१

नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ मात्रै लगाउँछ । हो ! नमच्चिने पिङको गतिविधि उतिविधि ठिक हुँदैन । चारै सुरुमा लिंगो गाडेको छु भनेर मख्ख पर्नै पर्दैन । तिनको गोलीगाँठो मिल्नु पर्छ । लगन गाँठो मिल्नुपर्छ । अनि मात्रै पिङको ह्याकुलो हाँस्छ र राम्रोसँग मच्चिन्छ । अन्यथा झड्का मात्रै हात लाग्छ र मच्चिनुभन्दा थच्चिनु जायज लाग्न थाल्छ । यो गर्छु, त्यो गर्छु भनेर फुर्ति लगाउने तर नाच्ने बेलामा कम्बर मर्काउन पनि जान्दैन भने कसरी हिरो हुन्छ, जिरो हुन्छ । यस्तो भएपछि सय झड्का मात्रै होइन हजारौं बेकामे झड्काले ङिच्च दाँत देखाउँछ ।

चुनावमुखी राजनीतिक दलमा मात्रै होइन हरेक क्षेत्रमा नमच्चिने पिङले अगणित झड्का दिइराखेको हुन्छ । हामी यसो गम खाएर विचार गरौं त शैक्षिक सत्र सुरु भएपछि पाठशालाहरूले नयाँ भर्ना हुन आम नागरिकहरूलाई बाबु बाजेले नदिएको अनेक सुविधा उपसुविधाले भरिएको इन्द्रेणी आश्वासनको गगनभेदी भ¥याङ देखाएर सयौं नमच्चिने झड्का दिइराखेका हुन्छन् । अन्य पाठशालाले भन्दा आफ्नाले नमरीकनै स्वर्ग देखाइदिने आश्वासन दिएर अर्काे विशेष जादूले भरिएको सय झड्का प्रकट गर्ने गर्छन् । शिक्षालयको क्षेत्रफल धेरै भनेर हुन्छ कि या सभाहल ठूलो भनेर हुन्छ कि या प्राप्तांकको प्रतिफल अधिक देखाएर हुन्छ । पौडीको नाममा कौडीको कुवा देखाएर वा खेलकुदको गरो देखाएर भए पनि दरो आम्दानीका लागि दत्तचित्त भएर लागि परेका हुन्छन् । थोत्रा कम्प्युटरको करङ सो गरेर हुन्छ कि या भाडाका बाइनाकुलरको नलीखुट्टो देखाएर वा प्रोफेसर डाक्टरको नाम भजाएर भए पनि नमच्चिने पिङले झड्को दिइरहेको हुन्छ । यसरी व्यापार आपारको नसाको अगाडि गाँजा, भाङ, धतुरो, अफिम, चरेसको नसा आफैं छेउ लाग्छ । त्यसैले नमच्चिने पिङको सय झड्का दिनमा पाठशालालाई कसैले जित्न सक्दैनन् । तब न पाठशाला, विद्यालय, महाविद्यालय अन्यथा के विद्यालय ?

लगन गाँठो मिल्नुपर्छ । अनि मात्रै पिङको ह्याकुलो हाँस्छ र राम्रोसँग मच्चिन्छ

पिङ मजाले मच्चिन्छ भनेर सय झड्का दिनेमा अस्पतालहरू पनि अगाडि छन् । आफ्नो यावत् सुविधाले स्वास्थ्य लाभ हुन्छ भन्दै आफैं लाभालाभ हुन अग्रणी अस्पतालहरू एकथरी समस्या देखायो भने दश थरी ल्याबटेस्ट गर्न लगाएर आफ्नो अभावको खाल्डो पुर्ने गर्छन् । एक दुई दिन राखे हुने बिरामीलाई महिनौं अस्पतालमा ओस्याएर दीर्घरोगीको प्रमाणपत्रले सुशोभित गर्छन् । पहिला सामन्ती महाजनले शोषण गर्थे अहिले अस्पतालहरूले शोषण गर्छन् । अनेक रोगको उपचार गरिन्छ भन्दै अनेक रोगमा जुकाले झैं चुसेर अभाव पनि थपेर डिस्चार्ज गर्छन् । अनुसन्धान, प्रयोगशालाले नमच्चिने पिङमा झुम्कादार झड्का दिएपछि एनेस्थेसिया सुँगाएर बेहोस् बनाउनै पर्दैन बिल देखाए बेहोस् भैहाल्छन् नि ।

नेपालका प्रधानमन्त्रीले दिने आश्वासनका नाराहरू पनि सयौं झड्का दिने खालका असाध्यै प्यारा कोरली राखुँ जस्ता हुन्छन् तर व्यवहारमा ठ्याक्कै उल्टो । विब्ल्याँटो भएपछि त्यसलाई निको मानिँदैन । हरेक प्रधानमन्त्रीको समान धारणा ‘म अरू जस्तो नेता होइन’ मानौं तिनको दुई खुट्टा नै छैन । भन्छन् म मुलुकलाई बनाउँछु । नागरिकलाई असम्भव सुविधा भोग्न बाध्य पार्छु । सबैका सारा गारा अप्ठ्यारा छुमन्तरको तालमा हरण गरिदिन सक्छु ।’ तर नेता आफैं दूषित आफ्नै आङमा भैंसी दौडीरहेको छ अर्काका आङको जुम्राको बखान गर्छन् । यस्ता आधुनिक हनुमानले अरूको कष्ट निवारण कसरी गर्छन् ? अनि उही उखान दोहो¥याउनुपर्ने हुन्छ, ‘नमच्चिने पिङको सय झड्का ।’

काम गर्छु, गरेर देखाउँछु भन्नेलाई पनि अवरोध गरेर लाजनीतिको गन्धे खेलमा रमाएकाहरूलाई स्वतन्त्र नेताहरूले केही ज्ञान दान गर्दै छन् । तर रिस डाहाले फतक्क गलेकाहरूले फित्कौली ताकीताकी मट्याङ्ग्राले बाधा अड्चन सिर्जना गरिरहेका छन् । नमच्चिने पिङ मच्चाइ रहेका छन् । के गर्नु विचारहरूको सिंगो सक्कल देशको ढुकुटी रित्याउँदा रित्याउँदै दुख र सास्तीले फुलेर पिङ मजाले मच्चाउन सक्दैनन् अनि डाहाले फर्सी कुहे झैं भित्रभित्रै आफैं सिद्धिरहेका छन् । तैपनि सय झड्का भने दिन छोड्दैनन् दुष्टात्माहरू ।

कोही कस्टमर पसलमा पसेर घुँडा धसेर वा धर्ना बसेर हाँसेर भैराखेको जिनिस थपक्क नकिनीकन यो मालमा यता फुर्का भएको भए लाने थिएँ । यसमा चाहिँ यहाँनेर प्वाल भएकोभए लानेथिए । यो मालको चाहिँ यहाँनेर तुना झुण्ड्याइदिएको भए लाने थिएँ । यसमा यहाँनेर गोजी भएको भए लाने थिए भनेर दोष मात्रै थोपर्छ भने त्यस्तो अवस्थामा पसले जतिसुकै बुद्ध भए पनि क्रुद्ध हुन्छ र नमच्चिने पिङको सय झड्का भन्दै आफ्नो रिस आफैंले घुटुक्क पिउँदै सुटुक्क मुर्मुरिनुपर्छ । अहिले देशको सत्ताधारी दल र नागरिकको असली अवस्था ठिक त्यस्तै छ । अब भन्नुस् तपाईं हाम्रो छरछिमेक प्रहरी प्रशासन, समाजसेवी, शैक्षिक जगत्, स्वस्थ्य क्षेत्र, विकास निर्माण हरेक निकायमा नमच्चिने पिङको मर्मत गर्ने कि नगर्ने ? खबरदार ! भन्नुस् हारगुहार माग्नुस् नत्र त जहिले पनि सय झड्का मात्रै हात लाग्ला है होसियार !

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…

hero news full width