दिन छोटिँदै छन्, जाडो बढ्दै छ

जाडो र गर्मी हुनाको मुख्य कारण पृथ्वीको अक्ष ६६.५ डिग्रीको कोणमा ढल्केर एकैतर्फ रहेकाले सूर्यको किरण कुनै महिना अलिक सिधा र कुनै महिना छड्के पर्ने हुनाले हो।

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७३

असारपछि क्रमशः दिन छोटिदै छन्, जाडो बढ्दै छ भन्दा कुनै आर्श्चर्य मान्नुपर्ने कुरा छैन। यी हामीले देख्दै-भोग्दै आएका अनुभवसिद्ध तथा वैज्ञानिक रुपमा पनि प्रमाणित कुरा हुन्। असारअघिका दिन लामा हुन्छन्। तर यसपछिका दिन क्रमशः छोटा हुन्छन्। त्यसरी नै लामा दिनमा गर्मी चढ्दै जान्छ भने छोटा दिनमा जाडो बढ्दै जान्छ। वास्तवमा हामीले सबैभन्दा लामो वा छोटा दिन अथवा गर्मी वा जाडो कसरी बढ्दै वा घट्दै जान्छ भन्ने पनि बुझ्नु जरुरी हुन्छ। अब लागौं, दिनका घटबढ वा जाडो-गर्मीका बारेमा केही जानकारीतर्फ।

एक वर्षमा तीन सय ६५ दिन हुन्छन्। यी सबै दिन एकैनासका छैनन् अर्थात् हरेक दिनका अवधि घटबढ हुन्छन्। दिनको अवधि घटबढ वा गर्मी, जाडो बढ्नुको मुख्य कारण पृथ्वी र सूर्यसँग सम्बन्धित छ किनकि पृथ्वीले सूर्यको परिक्रमा गर्दछ। साथसाथै पृथ्वी पनि आफ्नो अक्षमा घुमिरहेको छ। परिक्रमा गर्नाले ऋतु परिवर्तन हुन्छ भने आफ्नो अक्षमा घुम्नाले दिन र रात हुन्छ। ऋतु परिवर्तनका कारणले नै प्रत्येक महिनाको विशेषता बेग्लै हुन्छ। यो तापक्रमसँग सम्बन्धित छ। त्यसरी नै हरेक दिन र रातका अवधि समान हुँदैन भन्ने कुरा प्रत्यक्ष अनुभवद्वारा पनि जान्न सकिन्छ। उदाहरणका लागि आज र भोलिको समयमा केही सेकेण्डले मात्र बढी वा घटिरहेको हुन्छ। तर यसैलाई छ महिनाको अन्तरालमा हेर्ने हो भने निकै फरक परेको हुन्छ। जस्तो कि असारको ७ गते ५ बजेर दिन मिनेट १० जाँदा भएको छ भने सूर्यास्त ७ बजेर १ मिनेट जाँदा भएको छ। यो असार ७ गतेको पूरा दिनको अवधि १३ घन्टा ५१ मिनेट छ। यो दिन वि.सं. २०७३ सालकै सबैभन्दा लामो दिन हो भने वर्षकै सबैभन्दा छोटो रात हो।

तर पुस महिनाको ७ गतेको दिनलाई हेर्ने हो भने त्यस दिन ६ बजेर ५२ मिनेट जाँदा सूयोर्दय भएको छ भने सूर्यास्त ५ बजेर १२ मिनेट जाँदा भएको छ। यो ७ गतेको पूरा दिनको अवधि १० घन्टा २० मिनेटको छ। यो दिन २०७३ सालकै सबैभन्दा छोटो दिन वा वर्षकै सबैभन्दा लामो रात हो। लामो र छोटो दिनको अवधि तीन घण्टा ३१ मिनेटको अन्तर परेको छ। कुन दिन कति बजे सूयोर्दय हुन्छ वा कति बजे सूर्यास्त हुन्छ भन्ने कुरा पात्रोमा लेखिएको हुन्छ। मूलतः हामीले बुझ्नुपर्ने के कुरा छ भने जहिले पनि हरेक वर्ष दिनका सूयोर्दय र सूर्यास्तको समय र समयावधि (दिनमान) निश्चित हुन्छ। उदाहरणका लागि जुनसुकै वर्षको वैशाख १ गते सूयोर्दय ५ बजेर ४३ मिनेट हुन्छ भने सूर्यास्त ६ बजेर २७ मिनेट जाँदा हुन्छ। त्यसरी नै उज्यालो रहने समय -दिनमान) पनि निश्चित तोकिएको हुन्छ। असारको करिब दोस्रो हप्तादेखि पुसको पहिलो हप्तासम्म क्रमशः दिन छोटिदै र तापक्रम घट्दै जान्छ। त्यसरी नै पुसको पहिलो हप्ताबाट असारको करिब दोस्रो हप्तासम्म दिन क्रमशः लम्बिदै जान्छ र तापक्रम पनि त्यसै अनुरुप बढ्दै जान्छ। ज्योतिषशास्त्र अनुसार सूर्य रोहिणी नक्षत्रमा प्रवेश गर्दाको अवस्थामा अधिकतम तापक्रम हुन्छ। तसथ वर्षका दिनका दिनमानले वातावरणसँग सरोकार राख्दछ। तराई क्षेत्र समथर भूभाग भएकाले हावा गुम्सिन गई बढी गर्मी हुन्छ भने पहाडी क्षेत्रमा पहाडका उपस्थितिले गर्दा अली कम गर्मी हुन्छ। हिमाली क्षेत्र उचाइमा रहेका कारण तापक्रम न्यून हुन्छ। त्यसैले तराईदेखि पहाडी क्षेत्रसम्म क्रमशः जाडो बढ्दै जान्छ।

हाम्रो पञ्चाङ्ग अनुसार प्रत्येक वर्षको लामो दिन असार ७ वा ८ -जुन २१) गते पर्दछ। यो दिन नै सबैभन्दा लामो दिनको रुपमा मानिन्छ। त्यसरी नै प्रत्येक वर्षको सबैभन्दा छोटो दिन पुस ७ वा ८ गते पर्दछ भने अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २२ -पुस ७ वा ८ गते) लाई सबैभन्दा छोटो दिनका रुपमा मानिन्छ। एक वर्षमा लामा र छोटा दिन भएझैं दिन र रात बराबर भएको दिन पनि हुन्छ। सेप्टेम्बर २३ र मार्च २१ तारीख गणितीय हिसाबले १२/१२ घन्टाको दिन र रात हुन्छ।

असारमा धान रोपिन्छ र पुसमा धान थन्काएर कामबाट फुर्सद लिएको अवस्था हुन्छ। अझ भनाइ के पनि छ भने असारे १५ सबैभन्दा लामो दिन र पुसे १५ सबैभन्दा छोटो दिन भन्ने गरिएको छ। तर यसो नभई सूर्य र पृथ्वीलाई घुम्ने आधार र अंग्रेजी क्यालेण्डर अनुसार पनि हरेक वर्षको असार ७ वा ८ गते नै लामो दिन पर्दछ। त्यसरी नै हरेक पुस ७ वा ८ गते छोटो दिन पर्दछ, जुन ज्योतिष विज्ञानसँग पनि मेल खान्छ। जेठ, असारमा २९.२८ किलोमिटर प्रति सेकेण्डको औसत दरले पृथ्वीले सूर्यलाई परिक्रमा गरेको हुन्छ भने मंसिर, पुसमा ३०.२७ किलोमिटर प्रति सेकेण्डको औसत गतिमा परिक्रमा गरेको हुन्छ। जेठ, असारमा पृथ्वीको गति कम भएको हुनाले ३० डिग्री पार गर्न ३२ दिनसम्म लाग्दछ। तर मंसिर पुसमा पृथ्वीको गति अल्लि छिटो भएकाले ३० डिग्री पार गर्न २९ वा ३० दिनसम्म लाग्दछ। यही चालको आधारमा हरेक महिनाका दिन निश्चित गरिएको हुन्छ। हामीले भन्दै आएको गते पूरै खगोललाई ३६० डिग्रीमा विभक्त गरेपछि १२ भाग (राशि) लगाउँदा ३० डिग्री हुन्छ र प्रत्येक ३० डिग्री पृथ्वीले एक राशि पार गर्न लागेको समयको आधारमा गते निर्धारण हुन्छ। उदाहरणका लागि साउन महिना ३२ दिनको छ भन्नुको अर्थ साउन महिनाभर पृथ्वीलाई ३० डिग्री पार गर्न ३२ दिन लाग्यो भन्ने बुझिन्छ। लामा दिनमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कम हुन्छ। छोटा दिनमा बढी हुन्छ।

अब कुरो रहृयो, कसरी जाडो र गर्मी हुन्छ ? हामी मन्दिरको वरिपरि घुमेझैं पृथ्वीले पनि सूर्यलाई एक वर्षमा पूरा एक चक्कर लगाउँदछ। तर यसको घुम्ने मार्ग भने गोलाकार नभई दीर्घवृत्ताकार छ। पृथ्वी सूर्यवरपर घुम्दा कहिले नजिक, कहिले टाढा हुन्छ। तर नेपाल उत्तरी गोलार्द्धमा रहेको छ। तसर्थ यस अवस्थामा सूर्य पृथ्वीको नजिक रहँदा सूर्यको किरण छड्के पर्दछ साथै त्यति बेला सूर्यको किरण त्यति केन्द्रित हुन पाउँदैन। फलस्वरुप पृथ्वीमा त्यति तातो बढ्न पाउँदैन। यस्तो अवस्थामा हामी जाडो महसुस गर्दछौ। तर वैशाख, जेठ, असारमा भने सूर्य पृथ्वीबाट टाढा पर्नाले यसको किरण राम्ररी केन्द्रिकृत हुन्छ साथै सूर्यको किरण सिधा पर्दछ अनि हामी गर्मी महसुस गर्दछौं। जाडो र गर्मी हुनाको मुख्य कारण पृथ्वीको अक्ष ६६.५ डिग्रीको कोणमा ढल्केर एकैतर्फ रहेकाले सूर्यको किरण कुनै महिना अलिक सिधा र कुनै महिना छड्के पर्ने हुनाले हो। पृथ्वीमा जाडो र गर्मी हुनुमा सूर्यदेखि टाढा वा नजिक भएको कारणले होइन।

Related News

सम्बन्धित समाचार

hero news full width