जून ओर्लेको रात र त्यसको आलोक

कृष्णप्रसाद बस्ताकोटी
वैशाख १, २०८१

पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले कविता बोल्छ र ढुंगाले मुक्तकवाचन गर्छ । यहाँ बहने हावाको सुसेली चित्र शिखरिणी छन्दको बान्की सुनिन्छ । यहाँको टारीखेत र पाखाबारीमा हो हो माले हो हो, हो हो तारे हो हो हलो जोत्ने साथी …को आलाप सुनिन्छ । माछापुच्छ्रे हिमालले आफ्नो सुकुमारी छायाँ फेवाताललाई सुम्पिएर सँगैसँगै जगलबन्दी गर्छ । सराङकोटले पुम्दीकोटसँग ‘पाइनँ खबर …’ भनेर खोजखबरका लागि आग्रह गर्दछ । यहाँका पागलबस्तीहरू आज पनि मानिसहरूभित्र मानवीय अहम्को खोजी गरिरहेका छन् । अरु त अरु यहाँका चराहरूको सुरिलो स्वरमा महाकाव्यका सर्गहरू तिराहित हुन्छन् । पोखराको काव्यमय संरचना देखेर विश्वभरका आँखा थाक्दैनन् र मन पनि भरिँदैन ।

यही पवित्र माटाको सुगन्ध जन्मजात हृदय लिएर आएका कवि सञ्जीव पौडेलले हालसालै सगरबाट जूनलाई धर्तीमा ओरालेका छन् र यसको आलोक टाढाटाढासम्म फैलिंदै गएको छ । कवि सञ्जीव पौडेलको कलम वसन्तयाममा भर्खर कोपिलाउन ठिक्क परेको सुन्दर फूलको कोमल डाँठजस्तै भरभराउँदो भएर आएको छ । अझ अर्काे शब्दमा भनौं भने जून ओर्लेको रातमा सञ्जीवभित्रको कवित्व प्रसवपीडामा छ । भोलि यो विलक्षण सौन्दर्यचेतनाको पुञ्ज लिएर धर्तीमा चहकिलो ज्योतिझैं चम्कने छ ।

उनका कविताका हरफहरूमा कला चेतका प्रचुर सम्भावना देखिएको छ । वस्तुतः कविताको आग्रह संगतियुक्त सुन्दर समाज हुनुपर्छ र हो पनि । हाम्रा इच्छा र चाहना विपरीत समाजले कुरुप आवरण ग्रहण गर्दछ । त्यतिबेला त्यसविरुद्धमा बोल्नु कविको कर्तव्य हो । विकृत समाजका स्रोतहरू कतिपय अवस्थामा बौद्धिक जमात, चिन्तक, कवि, कलाकार सबैलाई व्यस्त बनाउने क्षमता राख्छन् । चिन्तक यिनकै बारेमा चिन्ता व्यक्त गर्छन् । कलाकार आफ्नो कलाकारितामा यिनै चर्तिकलाको चित्रण गर्छन् भने कविहरूको कलम पनि यिनके सैतानी मनाभावनाको प्रकटीकरणमा आफ्नो ऊर्जा खपत गरिरहेका हुन्छन् । अरु कविले जस्तै कवि सञ्जीव पौडेल पनि शालीन ढंगबाट यसरी आक्रोश व्यक्त गर्छन्:

नदी उल्टो बगाउन खोज्ने
घुमिरहेको पृथ्वीलाई बाँध्न खोज्ने
उज्यालो घामका धब्बा पोत्न चाहने
यी स्यालहरूको वध गरेर
ऋतुसँगै वरखी बार्न चाहन्छु म ।

यहाँ कवि ठाडा विरोध गर्दैनन् । उनी वासन्ती यामसँगै नदी उल्टो बगाउन खोज्नेहरूको अन्त्य चाहन्छन् र उनीहरूको अन्त्य पनि वरखी बार्न चाहन्छन् । यसबाट के प्रष्ट हुन्छ भने जसलाई कविले आफ्नै जातको हकवाला सम्झन्छन् र त वरखी बार्न चाहन्छन् । यसरी देश आफैंले बिगारेकोमा उनी चिन्तित छन् । उनी शालीन ढंगले एकोहोरो आक्रोश मात्र पनि पोख्दैनन् । कवितामार्फत् बडो सुन्दर ढंगले आशा पनि व्यक्त गर्दछन् :

प्रिय देश तिमीलाई
माला लगाउने रहरले
म मेरो फूलबारीमा
फूल हुर्काइरहेछु
तिम्रो हराएको मुस्कान
भर्ने छ एकै थुँगाले
वास्नामय हुने छौ तिमी
उत्तर मिल्काएर !

कस्तौ मिठो आशा ! उनीभित्र वर्तमान धारभन्दा भिन्न क्षमताको कवित्व छ भन्ने प्रमाण हो उक्त पंक्ति । देशप्रतिको अगाध प्रेम व्यक्त हुन्छ उल्लेखित हरफभित्र । साथै प्रकृतिको वर्णन पनि सँगसँगै गरेका हुन्छन् । प्रतिभावान् सर्जक जहिले पनि प्रकृतिलाई विशेष महत्वव दिन्छन् किन कि प्रकृति नै शाश्वत हो ।

कविभित्र आक्रोश र आशाको स्थिति जति बलियोसँग उपस्थित हुन्छ, त्यति नै बलियो भएर रुमानी भावको उपस्थिति पनि ग्राह्य भएको छ । जून ओर्लेको रात जुन कविता सञ्चयनको शीर्षकको गरिमा प्राप्त भएको छ, तिनै पंक्तिमा कवि यसरी रोमाञ्चित भएर पोखिन्छन् :

गुलाबका पत्रहरूमा
जून पोखिंदाको प्रहर
म तिम्रा ओठहरू सम्झन्छु !
यति भइसकेपछि सम्झनलाई अब केही बाँकी रह्यो र ? तर अझै छ बाँकी :
मधुर बतासले
तिम्रो अधर
छोएर गएको साँझ
हृदयमा
तिम्रै राग
अलापिरहन्छ ।
कस्तो भाव छ कवितामा ! तब म कवितामा ः
झरी थामिएपछिको आकाश
फूल फुलेपछिको धरती
दुबो पलाएपछिको चउर
पालुवा चढेपछिको रुख
सुन पोतिएको बिहानी
तिमी आएपछि
मेरो जीवनको रङ
त्यसरी नै फेरिएको छ ।

उनी एक्लै आउँदिनन् । सिङ्गो प्रकृतिका मधुर क्षणहरू सबै बोकेर आउँछिन् । यो आउनुमा कविको जीवन रङमय भएको छ ।

समग्रमा जून ओर्लेको रात एकपटक पढ्नैपर्ने पुस्तकका रुपमा आएको छ । भनिसकियो कविको सिर्जना क्षमताले यतिबेला प्रसवपीडाको अनुभूति गरेको हुनुपर्छ । आगामी दिनहरूमा अझ बढी अध्ययन लगत र परिश्रमको अपेक्षा हुँदाहुँदै प्रस्तुत कविताहरू यसै पनि सुन्दर र हृदयस्पर्शी ढंगले आएका छन् । कवि बधाईका पात्र छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग