गोकुल जोशी र गण्डकी साहित्य सङ्गम

यिनी सर्वहारा वर्गको वर्गीय मुक्तिको सपना देख्ने कवि थिए। गोकुलको सपना थियो-’कस्तो होला सामूहिक खेतालाले गाउँदा / गण्डकीको थाप्लामाथि नयाँ युग आउँदा।’

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७३

जनकवि गोकुल जोशीको जन्म तनहुँको राइपुर, खोलाखेतमा विस १९८७ जेठ ८ गते भएको हो। उनी माता मनरुपा र पिता हरिलाल पोखरेलका छोरा हुन्। काम गर्नमा जोसिलो हुनाले आफ्नो थर पोखरेल हटाएर यिनले जोशी राखेको भन्ने भनाइ छ। यिनी छ वर्षको हुँदा यिनका पिताको देहावसान भयो। यिनका दाजुभाइ, दिदीबहिनी धेरै भएकाले घर, व्यवहार चलाउन यिनकी आमालाई निकै गाह्रो भयो। दाजु कामको खोजीमा सिलाङतिर पुगेपछि घरगोठालो, घाँसदाउरा, मेलापात, नुन खेप्नेजस्ता जिम्मेवारी गोकुलको काँधमा आए। घर धान्न निकै कठिन भएकाले यिनी पनि दाजु जस्तै सानै उमेरमा विदेशिनु परेको थियो।

गाउँमा विद्यालय नभएको अवस्थामा सुरुमा आफ्नै गाउँले परिवेशमा सामान्य लेखपढ गरे पनि भारत पुगी गोर्खा पल्टनमा काम गर्दा त्यहीँको विद्यालयमा केही समय पढेका गोकुलले मुम्बइको कुनै एक रात्रिकालीन विद्यालयमा छ महिनासम्म पढेको जानकारी पाइन्छ। विभिन्न ठाउँमा नोकरी गर्दै यिनले माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेका थिए। मार्क्सवादी दर्शन तथा जनवादी शिक्षाचाहिँ यिनले साहित्यकार श्यामप्रसादबाट प्राप्त गरेका थिए। यिनलाई हिन्दी, अङ्ग्रेजी, पञ्जाबी, बङ्गाली, गुजराती, मराठी र तमिल भाषाको पनि केही ज्ञान थियो।

अध्ययनमा रुचि राख्ने गोकुललाई साहित्यिक व्यक्तिहरूसँग भेटघाट र छलफलमा बढी रुचि हुन्थ्यो। नेपालका लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धर्मराज थापा, श्यामप्रसाद शर्मा, भवानी घिमिरे, बालकृष्ण पोखरेलदेखि भारतीय साहित्यकारहरू चक्रपाणि जोशी, महापण्डित राहुल सांकृत्यायन आदिसँग यिनले भेटघाट, सर्म्पर्क/सम्बन्ध कायम गरेका थिए। राजनीतिक वृत्तमा यिनले टङ्कप्रसाद आचार्य, डा. केआइ सिंह, भरतमोहन अधिकारीलगायतका व्यक्तिसँग बसउठ गरेका थिए। गोकुल जोशीका बारेमा शोधखोज गर्ने साहित्यकार जनकप्रसाद हुमागाइँका अनुसार जोशी अवैज्ञानिक, अन्ध, रुढिवादी, दर्शन र दृष्टिकोणका विरोधी थिए। यिनी वैज्ञानिक दर्शन र दृष्टिकोणका पक्षमा उभिन्थे। सबै प्रकारका सामन्तवादी, साम्राज्यवादी पद्धति एवम् शोषण-उत्पीडनमुक्त समतामूलक समाजवादी समाजको स्थापना गर्न चाहन्थे। यिनी सर्वहारा वर्गको वर्गीय मुक्तिको सपना देख्ने कवि थिए। गोकुलको सपना थियो-’कस्तो होला सामूहिक खेतालाले गाउँदा / गण्डकीको थाप्लामाथि नयाँ युग आउँदा।’

‘नेपालको भविष्य, ‘एसियाको फूलबारी नेपाल’, ‘डा. के. आई. सिंहलाई स्वदेश आउन देऊ’, ‘नव प्रभात, ‘बाँच र बाँच्न देऊ’, ‘सिमानाको दीप’ यिनका काव्यकृति हुन्। यिनको निधन २०१८ सालमा ३१ वर्षकै उमेरमा झापाको घैलाडुबामा भएको थियो। अहिले २०७२ सालमा हामीले ८७ औँ गोकुल जयन्ती मनाइरहेका छौँ।

संस्कृति र साहित्य समाजको युगीन तथा सामूहिक चेतना हो र यो विविध सामाजिक गतिविधिका प्रभावबाट निरपेक्ष रहन सक्दैन। यसले गतिशील यथार्थको उद्बोधन गर्दै सामाजिक उन्नयनको मार्ग निर्धारणमा सहयोग पुर्‍याउँछ। यस धारणालाई आत्मसात् गर्दै सामाजिक सङ्गति निर्माणका निम्ति सांस्कृतिक एवम् साहित्यिक गतिविधिहरूलाई सञ्चालन गर्न जरुरी हुने कुरालाई हृदयङ्गम गर्दै, समाजलाई अग्रगामी दिशामा गतिशील गराउने प्रगतिशील धारणाले युक्त एवम् यथार्थवादी, स्वतन्त्रता र समानतालाई आत्मसात् गर्ने अनि विखण्डित मानवीय व्यक्तित्वलाई एकीकरण गर्ने चेतनाले युक्त यस भेगका साहित्य, सङ्गीत र कला सर्जकहरूको एउटा वाङ्मयिक संस्थाको आवश्यकता महसुस भएकाले २०४९ सालमा ‘गण्डकी साहित्य सङ्गम’ नामक वाङ्मयिक संस्थाको गठन गरिएको हो।

मौलिक र राष्ट्रिय जनसंस्कृति निर्माण गर्ने, विभिन्न साहित्यिक गतिविधि (विधागत गोष्ठीहरू, प्रवचन, लेखकहरूका जन्मजयन्ती आदि) सञ्चालन गर्ने, जनस्तरबाट एक अक्षयकोष खडा गरी त्यसको ब्याजबाट नेपाली साहित्य, सङ्गीत र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने देशभित्र र बाहिरका प्रगतिवादी वा प्रगतिशील व्यक्ति वा संस्थालाई ‘गोकुल वाङ्मय पुरस्कार’ र गण्डकी, धौलागिरी, लुम्बिनी र नारायणी अञ्चलमा रही साहित्य, सङ्गीत र कलाका क्षेत्रमा योगदान पुर्‍याएका संस्था वा व्यक्तिलाई ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गर्ने यस संस्थाका उद्देश्य हुन्। नेपालभित्रका विभिन्न भाषाभाषीका साहित्य तथा संस्कृतिको विकासमा प्रयत्नशील रहने, साहित्य, सङ्गीत र कलाका विशिष्ट वाङ्मयिक रचना प्रकाशन गर्न प्रयत्नशील रहने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नेलगायतका संस्थाका उद्देश्य हुन्।

गण्डकी साहित्य सङ्गम समाजवादी यथार्थवादी धारलाई सिर्जनाको केन्द्रबिन्दुमा राख्ने र वर्तमान कुरुप यथार्थको आलोचना गर्दै प्रगतिवादी/प्रगतिशील तथा राष्ट्रवादी चेतनासमेतलाई समाहित गरी यथार्थ जीवनको कलात्मक प्रतिबिम्बिनमार्फत् जीवन र जगत्लाई रुपान्तरण गर्ने दिशामा कलम चलाउने स्रष्टाहरूको साझा सङ्गठन हो। प्रगतिवादी/प्रगतिशील साहित्यिक आन्दोलनभित्रका विविध प्रवृत्तिको साझा मञ्चका रुपमा गण्डकी साहित्य सङ्गमले लगभग साढे दुर्इ दशकदेखि यता आफ्नो साहित्यिक यात्रालाई निरन्तरता दिइरहेको छ। सर्वहारा वर्गको मुक्तिका लागि कलम चलाउने तथा मार्क्सवादी दर्शनमा आबद्ध स्रष्टाहरूलाई समेट्दै सङ्गम अगाडि बढिरहेको छ। उत्पीडित वर्गीय साहित्यिक आन्दोलनलाई अगाडि बढाउने, सामन्तवादी-साम्राज्यवादी संस्कृतिका विरुद्ध एकजुट हुने र उच्च तथा सभ्य संस्कृतिको निर्माणमा लागेका स्रष्टाहरूलाई प्रोत्साहित गर्दै विशिष्ट मानव समाज र सभ्यताका पक्षमा हर्दम बहस गर्न सक्षम जनसाहित्यको सिर्जना, विकास र विस्तार गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो। यही उद्देश्यअनुरुप जनसंस्कृतिको निर्माणमा लागेका स्रष्टाहरूलाई आदर तथा सम्मान गर्न सङ्गमले जनकवि गोकुल जोशीका नामबाट स्थापित ‘गोकुल वाङ्मय पुरस्कार’को स्थापना गरेको छ। ताम्रपत्रसहित यस पुरस्कारको राशि ३० हजार छ। हालसम्म यस पुरस्कारबाट देवीप्रसाद किसान -केवलपुरे)- २०५२, खगेन्द्र सङ्ग्रौला- २०५४, गोविन्द भट्ट- २०५६, श्यामप्रसाद शर्मा- २०५८, रमेश विकल- २०६०, निनु चापागाईं- २०६२, मोहन वैद्य (चैतन्य)- २०६४, आनन्ददेव भट्ट- २०६६, घनश्याम ढकाल- २०६८ र मोदनाथ प्रश्रति- २०७० सम्मानित भइसकेका छन्।

पश्चिमाञ्चल क्षेत्र -कालीगण्डकीको प्रवाह/प्रभाव क्षेत्र गण्डकी, धौलागिरी, लुम्बिनी र नारायणी) मा बसेर साहित्य साधना गरी सेवा पुर्‍याइरहेका प्रतिभालाई गण्डकी साहित्य सङ्गमका नामबाट स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिँदै आएको छ। ताम्रपत्रसहित यसको पुरस्कार राशि १५ हजार रुपैयाँ छ। हालसम्म यस पुरस्कारबाट भेषजराज शर्मा- २०५३, भवानीप्रसाद पाण्डे ‘भाष्कर’- २०५५, दिल साहनी-२०५७, कुलबहादुर केसी- २०५९, नुमराज बराल- २०६१, केदार शर्मा ढकाल- २०६३, कुलप्रसाद खनाल- २०६५, देवेन्द्र लम्साल- २०६७, रविलाल अधिकारी- २०६९ र पोषराज पौडेल- २०७१ सम्मानित भइसकेका छन्। सवसाधारण जनता जो समाजको प्रगतिशील रुपान्तरण चाहन्छन्, उनीहरूकै पसिना सङ्कलन गरेर यस संस्थाको कोष बनेको हो। संस्थाले अक्षयकोष दाताहरूलाई पुरस्कार संस्थापकका रुपमा सम्मान गरेको छ। सहयोग गर्न चाहने दाताहरूलाई ढोका बन्द गरेको छैन र गर्ने पनि छैन। लगभग साढे दुर्इ दसकको अवधि भयो, यस संस्थाले स्थापना गरेको अक्षय कोषमा राज्य तथा सरकार पक्षको लगानी छैन। बरु वषैपिच्छे यस संस्थाले राज्यलाई करचाहिँ बुझाइरहेको छ। यो संस्था र यस संस्थाले प्रकाशन गरेका पुस्तक तथा पत्रपत्रिकाका बारेमा कसैले पनि शोधखोज गरेका छैनन्, गराएका छैनन्। जनसाधारणमा यो बजारिया हल्ला र विज्ञापनमाभन्दा बढी काममा विश्वास गर्ने संस्थाका रुपमा परिचित छ।

संस्थाले वाषिर्क रूपमा आफ्नो मुखपत्र ‘गण्डकी सङ्गम’ -साहित्यिक पत्रिका) प्रकाशन गर्दै आएको छ। अहिलेसम्म सङ्गमका १३ अङ्क प्रकाशित छन्। ‘यथार्थवादी नेपाली समालोचना’ र ‘पोखरेली समालोचना’ सङ्गमद्वारा प्रकाशित विशेष महत्वका समालोचनात्मक ग्रन्थ हुन्। १३ अङ्कमध्ये केही अङ्कहरु विशेष अङ्कका रुपमा प्रकाशित छन्। यीबाहेक पोखरेली परिवेशका केही सर्जकका कृति पनि यस संस्थाले प्रकाशन गरेको छ। आज ८७ औं गोकुल स्मृति दिवसका अवसरमा जनकवि गोकुल जोशीप्रति श्रद्धासुमन ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width