किसानलाई धान, नेतालाई भोटको चटारो

शिवप्रसाद गौतम
कार्तिक २८, २०७९

नेपाल कृषि प्रधान देश भएकाले ८५ प्रतिशत जनता कृषिमा आधारित छन् । कात्तिक, मंसिर प्रमुख खाद्यान्न बाली धान थन्क्याउने महिना हुन् । मंसिर ४ गते नेपालमा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि चुनाव हुँदै छ । किसान धान खेती थन्क्याउन व्यस्त छन् भने नेताहरु भोट माग्न किसानकोे घरमा मात्र हैन, उनीहरु धान काटिरहेको र दाइ हालिरहेको खेतमा भोट माग्न पुगेका छन् । किसानलाई एकछिन फुर्सद छैन । उनीहरुलाई चुनाव आएको पत्तै छैन ।

यसअघि भोट दिएर जिताएका सांसदहरुले आश्वासनमात्रै बाँडे देश र जनताको हितमा कुनै काम गरेनन् । कसैले कुनै लछार पाटो लाएनन् । अहिले पनि आफ्ना आश्वासन घोषणाको वर्षा सबै दलले गराएका छन् । जुन जोगी आए पनि कानै चिरेका छन् भन्ने उखान हाल्छन् ।

किसानलाई कृषि उत्पादनमा आवश्यक पूर्वाधार बिउ, मल, विषादी र सिँचाइको व्यवस्था समयमा नगर्ने सरकारले किसानले खेती भित्र्याउने बेलामा संघीय र प्रदेश सभाका सांसदको निर्वाचन मिति तोकेर निर्वाचन गर्नु किसानप्रतिको अपहेलना हो ।

धान बाली थन्क्याउने बेलामा कहीं नभएको जात्रा हाँडी गाउँमै भन्ने उखानजस्तै निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचन गर्दै छ । यो किसान मतदाताका लागि अनुपयुक्त महिना हो । नेताहरु जनताको घर दैलोमा मात्र होइन किसानको कोदोबारी र धान खेतमा कोदो र धान काटिरहेका किसानसँग भोट माग्न गएर उनीहरुलाई काममा बाधा दिइरहेका छन् ।

विगतका घोषणापत्र अनुसारका बाँचा कबोल पूरा नगरी उम्मेदवारहरू अहिले पनि राजनीतिक झुटको खेती गर्न किसानको घर दैलो, खेतबारीमा भोट माग्न पुगेका छन् । नेताले जनविश्वास गुमाएका छन् ।

भाषण गर्दा राजनीति पेसा हैन सेवा हो भन्ने व्यवहारमा पद र प्रतिष्ठामा पुगेपछि आफ्ना घोषणापत्रमा उल्लेख गरेका जनताप्रतिको प्रतिबद्धता पूरा गर्न वास्ता नगरी जनताले दिएको अधिकार शक्तिको दुरुपयोग गरी व्यापक भ्रष्टाचार गरी आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति थुपारेर देश र जनतालाई अधोगतिमा पुर्‍याउने राजनीतिले जनता वाक्क भएका छन् । नेताले किसानको हकहितमा अहिलेसम्म उल्लेखनीय कुनै काम गरेको अवस्था छैन । तैपनि लाजै नमानी भोट माग्न किसानकोे घर, खेतबारीमा उम्मेदवार र उनका कार्यकर्ता पुगेका छन् ।

देशमा राजनीतिक व्यवस्था राम्रो भए पनि शासन चलाउनेहरू अगतिला भए भने देश र जनताले दुःख पाउँछन् । अहिले हामी नेपाली खराब राजनीतिक व्यक्तिहरुको कारणले दुखी छौं । देशले एउटा असल नेता खोजिरहेको छ । हामीले नै असल नेता विगतका दिनमा छान्न सकेनौं । हाम्रा धर्म शास्त्रले दान दिँदा सत्पात्रलाई दिनु भनेका छन् । कुपात्रलाई दान दिनु भन्दा नदिनु वेश हो । भोट पनि दान हो । यो दान सत् पात्रलाई दिनुपर्छ ।

मंसिर ४ गते हामीले सङ्घ र प्रदेशका संसद्का सदस्य छनोट गर्ने मौका पाएका छौँ । यो मौकाको सदुपयोग गरेर हामीले पुराना भ्रष्ट नेतालाई अमूल्य भोट नदिई विकासप्रेमी, सदाचारी, युवा नेताहरुलाई मत दिएर संसदमा पठाऔं । यसैमा हामी नेपालीहरुको कल्याण हुनेछ । बूढो गोरुले गाई ओगटेर काम छैन । इमानदार, राष्ट्रसेवक युवालाई भोट दिएर संसदमा पु¥याऔं । हैन भने किन रोइस् मंगले आफ्नै ढंगले भन्ने उखान चरितार्थ हुन्छ ।

इमानदार, राष्ट्रसेवक युवा नेतालाई भोट दिएर संसदमा पु¥याऔं । नत्र किन रोइस् मंगले आफ्नै ढंगले भनेझैं हुन्छ

अहिलेसम्म हामी नेपालीले प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त प्रकारले सन्तुलन गर्ने, यस्तै अन्य सबै कार्य गर्ने नीति राजनीति जानेको प्रजातन्त्रप्रेमी नेता पाएका छैनौं । राज्यको शासन व्यवस्थासम्बन्धी नीति राज्य सञ्चालन प्रणाली, राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक शास्त्र राजनीति हो । राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने राजनीतिक शास्त्रको ज्ञाता, राजनीति बुझेको, कुटनीति जानेको व्यक्ति राजनीतिज्ञ हो । नेपाल राष्ट्रको स्थापना भएको २ सय ८० वर्ष भइसकेको छ । यो अवधिमा देशमा धेरै प्रकारका शासन प्रणाली चले तर देश र जनताको हितमा काम गर्ने छिटपुटबाहेक अधिकांश सत्ताधारी नेताले राजनीति नबुझी शासन चलाएको इतिहास छ । हाम्रो देश राष्ट्रिय विभूति र सहिदको योगदानले चलेको देश हो भने राजनीति गर्नेले बिगारेको देश हो ।

राजनीति भनेको के हो ? नबुझी राजनीतिज्ञ हौं भनेर जनताको भोटबाट शासन सत्तामा पुगेका राजनीतिलाई पेसा बनाएर भ्रष्टाचार गरेर आफू, आफ्नो परिवार र आफन्तका लागि मात्र राजनीति गर्दै आएको अवस्था छ । वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्र, जनता, राष्ट्राध्यक्ष आदि प्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि वा राष्ट्रप्रतिको अहित हुने नियतको काम, सरकार, देश, जनता वा संविधानविरुद्ध गरिएको विद्रोह राजद्रोह हो । राष्ट्रद्रोह हो । हाम्रो देशमा समयको सदुपयोग, सत्यमा निष्ठा, चित्तशुद्धि र कर्मशीलतामा आधारित जीवनका यी चार सिद्धान्तलाई धोती लगाएर देश र जनतालाई ठगिरहेका राजद्रोहीहरुको बाहुल्यता छ । त्यसैले जनता जब जब देशमा निर्वाचनको समय आउँछ तब तब जुन जोगी आए पनि कानै चिरेका, कसलाई भोट दिएर के भयो र हाम्रा दुख हामीसँगै छन् । बिरामी हुँदा उपचारको नाममा महँगो प्राविधक सेवा, सिटामोल नपाएको अवस्था छ । नेता भनाउँदाहरु आफूलाई नाकबाट पात्लो सिँगान आए पनि स्वदेशमा सेवा नलिई सरकारी कोषबाट विदेशमा गएर उपचार गराउँछन् ।

किसानको आफ्नै खेत बारीमा धान काटेर दाञी हाल्न र कोदो खेती थन्क्याउन व्यस्त छन् । किसानले बाली थन्क्याउने व्यस्तताले भोट दिन जान नसक्ने अवस्था छ । जनताले ढुक्कसँग आफ्नो वर्ष दिन खाने अन्न बाली थन्क्याउन चुनावले गर्दा नपाउनु सरकारको कमजोरी हो । किसान आफू मात्र होइन राजनीतिज्ञ, व्यापारी, उद्योगपति, कर्मचारी, शिक्षक, विद्यार्थी, सन्त, महन्त सबै पाल्ने सेवक हुन् । उनीहरुलाई असुविधा सिर्जना गर्नु सरकारको अकर्मण्यता हो । खान पर्ने सबैलाई खान दिने उत्ताउलो भन्ने उखानलाई निर्वाचनले पुष्टि गरेको छ ।

कुनै कुरो ठूलो स्वरले सुनाउने काम, केही कुराका बारेमा निश्चय सायको भनाइ, राजनीति दलहरुबाट मतदाताका नाममा भएको आज्ञा, सरकारको हुकुम घोषणा हो भने कुनै राजनीतिक दलले मतदातालाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनी लेखिएका उद्देश्य वा सत्यता र वचनबद्धता घोषित गर्ने पत्र जस्तै संस्थाको घोषणापत्र प्रत्येक ५।५ वर्षमा निर्वाचनको समयमा राजनीतिक दलहरुले प्रकाशन गर्दै आएका थिए र अहिले पनि प्रकाशन गरेर मतदाताबीच वितरण गरिरहेका छन् । विगतका घोषणापत्रहरु आश्वासन मात्र भएकोले अहिलेका घोषणापत्रहरु प्रायः पुरानै दोहोरिएकाले मतदाताले विश्वास गरेका छैनन् । यस्ता घोष्णाापत्रहरु मतदाताले सिंगान र आची पुछ्नमा प्रयोग गरेका कुराहरु पनि आएका छन् । यो हुनु मतदाता जनताको राजनीति प्रति विश्वास नहुनु, वितृष्णा उत्पन्न हुनु हो ।

विगतका कमी कमजोरीलाई नेताहरुले सच्याउनै पर्छ । जेठो, बुढो, पहेंले र मार्सी धानको चामलको भात खुवाउने किसानलाई नेताले भुल्नु हुँदैन । हामीले आसन्न निर्वाचनमा सबैको हित गर्ने सदाचारी राष्ट्र सेवकलाई आफ्नो अमूल्य मत दिएर सत्तामा पुर्‍याऔं ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width