कर घटाउन महानगरलाई कास्की कांग्रेसको १४ बुँदे सुझाव

किशोरदत्त बराल
माघ ८, २०८०

पोखरा । पोखरा महानगरपालिकाले चालु आवका लागि अस्वाभाविक रुपमा बढाएको करका बारेमा नेपाली कांग्रेस, कास्कीले समयमै जिम्मेवार भएर पोखरा महानगरपालिकालाई अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध गर्दा पनि महानगरले त्यसतर्फ उचित ध्यान नदिएकाले मिति २०८० साउन २८ गतेका दिन नेपाली कांग्रेस कास्की र नेपाली कांग्रेस महानगर समितिद्वारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तितर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छौंं । यसरी संयुक्त प्रेस विज्ञप्तिमार्फत् महानगरपालिकालाई ध्यानाकर्षण गराउँदा २०८० पुसमा हुने नगर सभामा यसबारे छलफल गरी निर्णयमा पुग्न सकिने गरी दिएको आश्वासनका विपरीत महानगरपालिकाले नगरसभामा करको पुनरावलोकन गरी कर घटाउने सम्बन्धमा प्रस्ताव पेस गर्ने गरी कार्यपालिकाको बैठकमा प्रस्ताव नलगेको तर्फ नेपाली कांग्रेस, कास्की स्वाभाविकरुपमा गम्भीर हुनुपर्ने परिस्थिति निर्माण भयो । जसको परिणामस्वरुप यही पुसमा २९ गतेबाट सुरु भएको नगर सभामा करको पुनरावलोकन गर्ने भन्ने प्रस्ताव प्रस्तुत भएको भए तापनि करको पुनरावलोकन गरी कर घटाउने सम्बन्धमा अझै पनि विश्वस्त हुन नसकिएकाले त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउनका लागि नेपाली कांग्रेस, कास्कीको तर्फबाट पोखरा महानगरपालिकामा यो ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार राजस्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन हार्दिक अनुरोध गर्दछौं ।

कुनै व्यक्ति वा संघ संस्थाले आयआर्जन वा व्यवसाय सञ्चालन गरे बापत सरकारलाई अनिवार्य रुपमा वुझाउनु पर्ने वित्तीय शुल्क वा लेबी नै कर हो र कर सरकारको आयको मुख्य स्रोत हो र यसको उपयोग सार्वजनिक हित र समृद्धिका निम्ति गरिन्छ भन्ने कुरामा नेपाली कांग्रेस कास्की सचेत छ ।

कुनै पनि स्थानीय निकायले राजस्वलाई आफूखुसी गर्न पाउने कोषको रुपमा नलिई जनताको सम्पत्तिको रुपमा लिनुपर्दछ । विकास गर्ने नाममा स्थानीय तहलाई जथाभावी कर उठाउने अधिकार संविधानले दिएको छैन । स्थानीय निकाय स्वायत्त संस्था भए पनि करको विषयमा जथाभावी गर्न छुट यसलाई छैन । विगतमा धेरै स्थानीय तह करको विषयलाई लिएर आलोचित हुनुको मुख्य कारण पनि विना अध्ययन अनुसन्धान तथा विना विज्ञता कर बढाई आन्तरिक आय बढाउन खोज्नु हो ।

पोखराको विकास र समृद्धिका लागि आवश्यक पर्ने राजस्व वृद्धि कसरी गर्न सकिएला ? यसबारे नेपाली कांग्रेस, कास्कीका धारणाहरू राख्नुभन्दा पहिला पोखरा महानगरपालिकासँग नेपाली कांग्रेस, कास्की केही महŒवपूर्ण जिज्ञासाहरू राख्न चाहन्छ ।

क) राजस्वको दायरामा नआएका करयोग्य नयाँ क्षेत्रहरूको पहिचान र बेरुजु तथा बाँकी बक्यौता उठाउने कार्यमा महानगरपालिकाले के कस्तो प्रयासहरू गरेको छ ? प्राप्त जानकारी अनुसार आव २०७७÷०७८ मा बेरुजु रकम रु, २,२९७३,७४,००० र आव २०७८/०७९ को बेरुजु रकम रु, ७०,६५,१४,१९२ गरी जम्मा रु, ३,००,३८,८८,१९२ बेरुजु देखिन्छ । यति ठूलो रकम बेरुजु हुनुको कारणको खोजी र भविष्यमा पनि बेरुजुको यो प्रचलन बढ्दै जाने सम्भावनालाई न्यूनीकरण गर्नतर्फ आवश्यक पर्ने अध्ययन र अनुसन्धानहरू पोखरा महानगरपालिकाले गरेको छ कि छैन ?

ख) करदाताहरूको संख्या बढाएर कर संकलन तथा राजस्व वृद्धि गर्ने कार्यमा पोखरा महानगरपालिकाले गरेका महत्ववपूर्ण कार्यहरू के के रहेका छन् ?

ग) विगतको आर्थिक वर्षभन्दा यस चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले जनताको सेवा र सुविधामा के के कुरा थप गरेका कारण राजस्व वृद्धि गर्नु परेको हो ?

घ) यतिबेला महानगरपालिकाभित्र जथाभावी रुपमा कर्मचारीहरूको नियुक्ति, बढुवा वा सरुवा गरिएको जनगुनासो व्यापक रुपमा बाहिर आएको छ । महानगरपालिकाभित्रको साधन स्रोतको परिचालन व्यवस्थित र पारदर्शी रुपमा हुन नसकेको गुनासो पनि त्यत्तिकै धेरै छ । जसका कारण महानगरपालिकाको दैनिक प्रशासनिक खर्चको भार अत्यन्त धेरै हुने गरेकाले आफ्नो दैनिक कार्य सञ्चालन र तलबभत्ता जस्ता कुराको व्यवस्थापनका लागि करदाताहरूको वर्तमान आर्थिक अवस्थालाई बेवास्ता गर्दै कर बढाउनमा यति धेरै लागि परेको हो भन्ने आम बुझाइ छ । आन्तरिक खर्च कटौती गरी धेरैैभन्दा धेरै राजस्व जनताको हितमा खर्च गर्नका लागि महानगरपालिकाले के कस्तो सोच, दृष्टिकोण र कार्यक्रमहरू निर्माण गरेको छ ?

यतिखेर कोभिडले थला परेको देशको अर्थतन्त्र र त्यसले निम्त्याएको आर्थिक मन्दी, वित्तीय संस्थाहरूले लगाएको चर्को ब्याजदरका कारण हाम्रा उद्योगी व्यवसायीहरू अत्यन्तै धेरै प्रताडित छन् । यस्तो अवस्थामा गत आर्थिक वर्षमा निर्धारण गरिएको कर तिर्ने क्षमतासम्म पनि करदाताहरूसग नभएर पोखरा महानगरपालिकाले आवश्यक राजस्व उठाउन नसकेको वर्तमान अवस्थामा झनै करको दर बढाउनु भनेको पोखरा महानगरपालिका जनताका समस्याहरूप्रति संवेदशील हुन नसकेको भन्ने देखिएको छ । नगर सभामा कर वृद्धिबारेमा उठेको जन गुनासाहरूलाई सम्बोधन गर्नका लागि करको वृद्धिदर घटाई यसमा आवश्यक पुनरावलोकन गर्न नेपाली कांग्रेस, कास्की हार्दिक अनुरोध गर्दछ ।

नेपाली कांग्रेस, कास्कीले यस विषयमा आफ्ना धारणाहरू सार्वजनिक गर्दा स्वाभाविक रुपमा हाम्रो ध्यान पोखरा महानगरपालिकाको गत असारमा भएको कार्यपालिकाको बैठकतर्फ केन्द्रित भएको छ, जहाँ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने बहुमत सदस्यहरू हुनुहुन्छ । पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने बहुमत वडा अध्यक्षहरू भएको कार्यपालिकाको बैठकबाट कर वृद्धिको प्रस्तावलाई किन अनुमोदन गरियो ? र नगर सभाबाट किन यस्तो निर्णय भयो ? यो जनताको स्वाभाविक प्रश्न छ । जनताबाट उठेका यी प्रश्नहरूप्रति नेपाली कांग्रेसको उच्च सम्मान छ ।

नेपाली कांग्रेसको प्राथमिकतामा सबैभन्दा पहिला देश, जनता, देश जनताको समृद्धि र त्यसपछि मात्रै आफ्नो पार्टी पर्दछ । पोखराको समृद्धि र विकासका लागि नेपाली कांग्रेस, कास्की सबै तहका सरकारहरू । राजनीतिक पार्टीहरू र नागरिक समाजसग एकाकार भएर काम गर्न चाहन्छ, यो वातावरण निर्माण गर्न चाहन्छ । नेपालको लोकतन्त्रलाई परिपक्व र संस्थागत बनाउन स्थानीय तहको अत्यन्तै ठूलो महŒव रहन्छ । यसैले स्थानीय तह नेपालको राजनीतिक स्थायित्वसँग मात्रै जोडिएको छैन, यो समग्र रुपमा आर्थिक समृद्धि र रुपान्तरणको विषयसँग पनि जोडिएको छ । यसका लागि निर्वाचन प्रक्रियाबाट चुनिएर आएका राजनीतिक प्रतिनिधिहरूको काम गर्ने क्षमता, दक्षता तथा इच्छाशक्ति र जनताप्रतिको समर्पण, जवाफदेहिता र संवेदनशीलता हुन आवश्यक छ । यसका लागि पोखराको समग्र विकास र समृद्धिका निम्ति सँगै गरौं सँगै बढौं भन्ने भावनाका साथ पोखरा महानगरपालिकालाई तपसिल अनुसारका सुझावहरू नेपाली कांग्रेस, कास्कीले दिन चाहन्छ ।

१.सोचाइको परम्परागत घेराभन्दा बाहिर निस्कौं ।
आफैंलाई सोध्नुहोस् देश, जनता र आफू रहे बसेको समाजको विकास र समृद्धिका बारेमा सिर्जनशील र एकाग्र भएर हाम्रो राजनीतिको परम्परागत सोचभन्दा बाहिर निस्किएर दिनको कति घन्टा सोच्नुभएको छ ? के तपाईंहरू आफ्नो कार्य कक्षमा आउने व्यक्तिहरू, संघसंस्थाका प्रतिनिधिहरूसँगको कुराकानी, गफगाफ तथा छलफल, सभा समारोहको उद्घाटन, विभिन्न कार्यक्रम, तालिम गोष्ठीभन्दा धेरै बाहिर तपाईंहरूको राजनीतिक जिम्मेवारी छ भन्ने कुरालाई कहिल्यै सोच्नुभएको छ ? यसैले परम्परागत राजनीतिक सोचबाट बाहिर निस्कनुहोस् । तपाईंहरूको सपना र सोचभित्र पोखराको समृद्धि छ । गम्भीर बन्नुहोस् ।

कर बढाएर मात्रै राजस्वको वृद्धि हुँदैन भन्ने गाम्भीर्यतालाई महसुस गरौं

२. धेरै कर उठाउने नीति होइन, धेरै करदाता सिर्जना गर्ने नीति अवलम्बन गरौं ।
पोखरा महानगर पोख्रेली जनताको अभिभावक संस्था हो । यसले पोखरामहानगरभित्र लगानीको उपयुक्त वातावरण तयार गर्दै व्यापार व्यवसाय एवं रोजगारीको प्रबद्र्धन गरी अधिकतम कर परिचालनमार्फत् पोखरालाई आत्मनिर्भर बनाउनतर्फ जिम्मेवार बन्नुपर्दछ । धेरै करदाता सिर्जना गर्नका लागि लगानी सहजीकरण तथा व्यवसाय क्षेत्रको विकासका लागि पर्याप्त काम गर्नुपर्दछ । यसका लागि पोखरा महानगरपालिकाले करदातामैत्री, व्यवसायमैत्री र लगानीमैत्री वातावरणको निर्माणका लागि आवश्यक पहल कदमी गर्न आवश्यक छ ।

३. कर बढाएर मात्रै राजस्वको वृद्धि हुँदैन भन्ने गाम्भीर्यतालाई महसुुस गरौं ।
अन्तर्राष्ट्रिय अभ्यासहरूले के भन्दछन् भने कर बढाएर मात्रै राजस्वको वृद्धि गर्न सकिँदैन । जनताबाट उठाइने करलाई सही ठाउँमा, सही तरिकाले र सही समयमा खर्च गर्ने गराउने परिपाटीले मात्रै करदाता र सरकार वा कर प्रशासनबीचमा सुमधुर सम्बन्ध स्थापित गर्ने कुरामा सहयोग गर्दछ र राजस्व परिचालनमा सकरात्मक योगदान पुग्दछ । यसका अतिरिक्ति राजस्व बृद्धि गर्नका लागि कर तिर्नसक्ने क्षमता जनताले राख्छन् कि राख्दैनन् भन्ने कुरामा पनि जानकारी राख्नु आवश्यक हुन्छ । आफ्ना करदाताहरूको कर तिर्न सक्ने क्षमता अहिलेको अवस्थामा के कस्तो रहेको छ भन्ने कुराको गम्भीर अध्ययन र विश्लेषण नगरीकनै कर वृद्धि गर्नु अत्यन्तै अव्यावहारिक ठहरिन्छ ।

महानगरपालिकाको तथ्यांकले के देखाउँछ भने कर वढाएर मात्रै राजस्व बढ्दैन । जनतामा कर तिर्न सक्ने क्षमताको विकासका लागि महानगरपालिका गम्भीर हुन आवश्यक छ ।

४. लगनशीलता र मितव्ययीताको परम्परालाई स्थापित गरौं ।
हाम्रो मित्रराष्ट्र चीनमा एउटा महत्वपूर्ण भनाइ छ, लनगशीलताले देशलाई समृद्ध बनाउँछ र विलासीताबाट देश विघटन हुन सक्दछ । पोखरा महानगरपालिकालाई प्रविधिमैत्री बनाएर प्रशासनिक खर्चमा कटौती गरांै । थोरै र प्रतिस्पर्धी कर्मचारीहरूबाट धेरै परिणाम दिने वातावरणको निर्माण गरांै, महानगरपालिकालाई रोजगारी दिने थलोको रुपमा होइन, रोजगारी सिर्जना गर्ने थलोका रुपमा विकास गरौं । रोजगारी सिर्जना गर्ने भनेको धेरै करदाताहरूको संख्या बनाउने हो । धेरै करदाताहरू बनाउन सकियो भने थोरै कर उठाएर पनि धेरै काम गर्न सकिन्छ । यसका लागि लगनशील र मितव्ययी बन्ने बनाउने वातावरणको निर्माण गरौं ।

५. पोखराका निम्ति सपना देखौं र सपना देख्न लगाऔं ।
हामीले कस्तो पोखरा बनाउन खोजेका हौं ? भोलिको समयले खोजेको पोखरा कस्तो होला ? हामीले यसबारेमा कहिल्यै पनि गम्भीर भएर छलफल र बहस नै गरेनांै । अब एउटा अभ्यास सुरु गरांै र यसलाई सफल अभ्यासमा रुपान्तरण गरौं । पोखराअन्तर्गत पहिलो चरणमा पोखराको पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीकोे विकासमा मात्रै केन्द्रित भएर आआफ्ना अवधारणाहरूलाई सार्वजनिक लाइभ कार्यक्रममार्फत् सार्वजनिक गरी पोखरा महानगरपालिकाको विकासको योजना निर्माणमा सहयोग गर्नका लागि एउटा सार्वजनिक सूचना जारी गर्नतर्फ पोखरा महानगरपालिकालाई नेपाली कांग्रेस, कास्की अनुरोध गर्दछ । आवश्यक पर्ने प्रक्रिया, साधन र स्रोतको व्यवस्थापन के कसरी गर्न सकिन्छ त्यसका लागि सर्वदलीय बैठक राखी छलफल गर्न महानगरपालिका गम्भीर र जिम्मेवार हुन सकोस् ।

६. दक्ष जनशक्तिको व्यवस्थापन गरौं ।
कतै तपाईंहरू दक्ष जनशक्तिको अभावका कारण अल्मलिनुभएको त छैन ? राजनीतिक नेतृत्वले परिकल्पना गरेको परिवर्तनको सपनालाई व्यवहारमा कार्यान्वयन गर्न दक्ष जनशक्तिको आवश्यकता पर्दछ भन्ने कुरामा नेपाली कांग्रेस, कास्की स्पष्ट छ । त्यसमा पनि राजस्व प्रशासनमा बस्ने कर्मचारीहरूको दक्षता, अनुशासन र पारदर्शिता झनै धेरै महत्वपूर्ण हुन्छ । दृढ प्रतिबद्धता र इच्छाशक्तिका साथ अगाडि बढ्नुहोस् । हामी सहयोग र सहजीकरणका लागि तयार छौं ।

७. समृद्धिका लागि सबै तहका सरकारसग समन्वय गरौं ।
नेपालको संविधानले संघ, प्रदेश र स्थानीय सरकारहरूलाई सहकार्य, समन्वय तथा सहअस्तित्वको सैद्धान्तिक अवधारणा अनुसार परिचालित हुनुपर्ने कुराको परिकल्पना गरेको छ । तर दुर्भाग्य के रहेको छ भने तीन तहका सरकारहरू एकअर्काको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न तथा संघीय सरकार, प्रदेश र स्थानीय तहमा हाबी हुन मात्रै प्रयत्न गरेको कुरा हामीले राम्रैसँग महसुस गरेका छौं ।

८.कम लगानीमा देखिने गरी विकासका काम गरौं ।
विकास भन्नेबित्तिकै ठूलो लागानीको चित्र मस्तिष्कमा बोक्ने संस्कारबाट अधिकांश स्थानीय सरकारका प्रतिनिधिहरू ग्रसित छन् भन्ने कुरा विभिन्न घटनाक्रमहरूबाट बुझ्न सकिन्छ । विकास भनेको ठूलो लगानीमा गरिने बाटो निर्माण, भवन निर्माण, पुल निर्माण आदि मात्रै होइन । विकास भनेको जनताको सुख, शान्ति र सन्तुष्टि हो, सरकारप्रतिको विश्वास हो, भरोसा हो । विकाससग जनताको सुख, शान्ति, समृद्धि र सन्तुष्टि जोडिनु पर्दछ ।

९. विकासको योजना प्राथमिकताको आधारमा तय गरौं ।
योजना निर्माणमा प्राथमिकता तय नगर्ने भनेको विकास नगर्नु हो र विकासका नाममा बेथिति हो । नेपाल सरकारको बिना योजना र बिना प्राथामिकताको विकासको बाटोलाई पोखरा महानगरपालिकाले पनि पछ्याइरहेको देखिन्छ । यो कहीं नपुगिने बाटो हो । यसैले शिलान्यास, उद्घाटन, सभा, सेमिनार र बेतुकका छलफल र बहसमा समयको बर्बादी नगर्नुहोस् ।

१०. जनतालाई नवप्रबर्धनात्मक उद्यमशीलता र उत्पादनसग जोडौं ।
धेरैभन्दा धेरै करदाताहरूको सिर्जना गरेर मात्रै थोरै करमा पनि धेरै राजस्व संकलन गर्न सकिने कुरामाथि नै उल्लेख भइसकेको छ । यसैले धेरै करदाताहरूको सिर्जना गर्नका लागि नवप्रबर्धनात्मक उद्यमशीलताको विकास गरी जनताहरूलाई उत्पादनसँग जोड्नुपर्ने हुन्छ ।

बिपी शिक्षा, उत्पादन, उद्यमशीलता, विवेक
बिपी शिक्षा भनेको उत्पादन, उद्यमशीलता र विवेकको सुन्दर संयोजन हो जुन शिक्षा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज निर्माणका एउटा महत्त्वपूर्ण आधारशिला बन्न सक्दछ । यसलाई सामाजिक जिम्मेवारी बोधका साथ आत्मसात् गरौं र बिपी शिक्षालाई विद्यालय शिक्षासँग जोड्ने इमानदार प्रयत्न गरौं । पोखरा औद्योगिक क्षेत्र र लुम्ले कृषि केन्द्र लगायत अन्य कृषि फार्म तथा औद्योगिक प्रतिष्ठानहरू नवप्रबर्धनात्मक उद्यमशीलता विकासको लागि महŒवपूर्ण सिकाइ केन्द्रहरू बन्न सक्दछन् ।

११. बेरुजु र बाँकी बक्यौता उठाउने इमानदार प्रयास गरौं ।
पोखरा महानगरपालिकासँग बेरुजु र उठाउन बाँकी बक्यौता रकम थुप्रै रहेको छ । यसमा सुधार आएको कुनै भरपर्दो जानकारी हामीलाई प्राप्त भएको छैन । फछ्र्याैट गर्नु पर्ने बेरुजु रकम र उठाउनुपर्ने बाँकी बक्यौतातर्फ आवश्यक ध्यान नपु¥याइकन करको दर वृद्धि गरेर राजस्व संकलन गर्न खोज्ने प्रवृत्तिले पोखरा महानगरपालिकालाई समृद्ध बनाउन सक्दैन । समृद्धिको लक्षण व्यवहार र प्रवृत्तिमा देखिन्छ । यसतर्फ महानगरपालिका गम्भीर बन्न सकोस् ।

१२. करको दायरा वृद्धिका लागि व्यवस्थित अध्ययन र अनुसन्धान गरौं ।
व्यवस्थित अध्ययन र अनुसन्धान बिना नै हामीले कतिपय निर्णयहरू गर्ने गर्दडौं । अध्ययन र अनुसन्धानमा अत्यन्तै ठूलो शक्ति हुन्छ भन्ने कुरालाई हामीले कहिल्यै पनि बुझ्नै सकेनौं र त्यसको मर्मभित्र प्रवेश गर्नैै सकेनौं । अध्ययन अनुसन्धानको बलियो जगमा उभिएर हामीले समेट्न नसकेका करका क्षेत्रहरूको पहिचान गरौं । महानगरपालिकाको कुनै कोठाभित्र बैठक बसी कर वृद्धि गरेर राजस्व संकलन गर्ने यो सजिलो उपायले हामीलाई बर्बादीतर्फ मात्रै लैजाने हो । यसका लागि महानगरपालिका गम्भीर बन्न जरुरी छ ।
१३. पर्यटन मैत्री शिष्टाचार र संस्कारको निर्माण गरौं ।
पोखराको सन्दर्र्भमा रोजगारीको सिर्जना र राजस्व संकलनको महत्वपूर्ण क्षेत्र भनेको पर्यटन क्षेत्र हो । पर्यटन विकासबारे हामीले सभा समारोह, सेमिनार र गोष्ठीहरूमा धेरै कुराहरू त गरेका छौं तर यसको विकासको अन्तर्यलाई बुझ्न र बुझाउन सकेका छैनौं । पर्यटन विकासका लागि बाटोघाटो र पूर्वाधारहरू द्वितीय प्राथमिकताका विषयहरू हुन् । पहिलो प्राथामिकता भनेको शिष्टाचार हो । पर्यटनमैत्री व्यवहार र संस्कार हो ।

पर्यटन मैत्री शिष्टाचार र संस्कारको सम्बन्धमा हामी अत्यन्तै कमजोर देखिएका छौं । पोखराको सरसफाई र अतिथिहरूलाई कसरी सम्मान गर्ने भन्नेदेखि लिएर हाम्रा प्राकृतिक वैभवहरूलाई कसरी परिचित गराउने भन्ने सम्मका कुराहरूलाई समेटेर हामीले पोखराको स्थानीय पाठ्यक्रम निर्माण गर्न आवश्यक छ ।

१४. कृषि पर्यटनको अवधारणालाई प्रभावकारी बनाऔं ।
नेपालको सन्दर्भमा रोजगारी सिर्जना गर्न र राजश्स संकलन हुने अर्को महत्वपूर्ण क्षेत्र भनेको कृषि पर्यटनको क्षेत्र पनि हो । तर हामीले यसतर्फ यथोचित ध्यान पु¥याउन सकेका छैनौं । नेपालको अर्थतन्त्र झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको हुनाले कुल ग्राहस्थ उत्पादनको वार्षिक वृद्धिदर कृषि क्षेत्रको उत्पादनमा निर्भर रहँदै आएको छ । तर पनि कृषि पेसामा आश्रित जनताको आयआर्जनमा खासै परिवर्तन आउन सकेको छैन । मूलतः कृषि कार्य जनजिविकाको परिपूर्ति गर्ने भन्दा बढी हुन सकेको छैन । यसको एक मात्रै कारण नेपालको कृषि प्रणालीले वैज्ञानिक, आधुनिक र व्यावसायिक रुप लिन नसक्नु हो । कूल ग्राहस्थ उत्पादनमा अझै पनि कृषि क्षेत्रको योगदान ३४ प्रतिशत हाराहारी रहेको छ । नेपालको समृद्धिको प्रमुख आधार भनेको कृषि भएर पनि हामीले यसलाई नयाँ तरिकाबाट सोचेर यसको विकास गर्न सकेका छैनौं । यसैले नेपालमा कृषि व्यवसायलाई सम्मानित पेसाको रुपमा विकास गराउनका लागि कृषिलाई पर्यटन र सूचना प्रविधिसँग जोडेर अगाडि बढाउने वैज्ञानिक योजनाको खाँचो देखिन्छ ।

कृषि विशेषज्ञहरूको लेख, रचना तथा अनुसन्धानका आधारमा के भन्न सकिन्छ भने यदि हामीले ठिक किसिमको प्रविधि, सामुदायिक कृषि नीति र संस्थागत क्रियाशीलताको विकास र निर्माण गर्न सकिने हो भने नेपाल संसारकै सबैभन्दा राम्रो कृषि उत्पादक र कृषि उत्पादनहरूको निर्यात गर्न सक्ने देशको रुपमा स्थापित हुन सक्दछ । कृषिमा नवप्रवर्तनीय सोच र प्रयोगका साथै कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढाउन सकिने हो भने हामीले कृषि उत्पादन, गुणस्तर र सुरक्षाका थुप्रै उपलब्धिहरू प्राप्त गर्न सक्दछौं। कृषि पर्यटन व्यवसायलाई पोखराको समृद्धिका निम्ति एउटा अभियानकैरुपमा अगाडि बढाऔं ।

पोखरा महानगरले बढाएको कर घटाउन नेपाली कांग्रेस कास्कीले सोमबार मेयर धनराज आचार्यलाई बुझाएको ज्ञापन पत्रको सम्पादित अंश

Related News

सम्बन्धित समाचार

  • पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

    राजेन्द्र भण्डारी माघ २४, २०८०
    चिलीको इतिहासः चिली विश्वका अन्य देशको तुलनामा फरक र असाधारण इतिहास बोकेको देशको रुपमा चिनिन्छ । कवि दोन आलोन्सो दे…
  • धार्मिक आस्था र आचरण

    उपप्रा. रामप्रसाद सुवेदी माघ २३, २०८०
    व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रवृत्ति वा स्वभावलार्ई धर्म भनिन्छ । यसलाई स्वर्ग प्राप्त गर्ने लोकविश्वासका…
  • साँढे स्वास्नी   (हास्यव्यंग्य निबन्ध)

    शेषराज भट्टराई माघ २३, २०८०
    ‘होक्काँ’ गरेर जोरी खोज्ने गोरुलाई पनि साँढे भनिन्छ । गोरुलाई साँढे भन्दा भन्दै आवेगमा आउँदा महिला पुरुष दुबैलाई साँढे भन्ने…
  • नेपालमा बसाइँ सराइको अवस्था र यसका चुनौती

    कृष्ण लामिछाने माघ ५, २०८०
    आफ्नो पुख्यौली थलो वा आफू बसोवास गरिरहेको ठाउँबाट अन्यत्र कुनै टाउँमा सरेर स्थायीरुपमा बसोबास गर्नुलाई बसाइँ सराइ भनिन्छ । बसाइँ…
  • बढुवापछिको अपमान

    तेजबहादुर गुरुङ (च्हाक्ली तमु) माघ ५, २०८०
    यस्तै हुन्छ भन्ने थाहा पाएका भए त बढुवा किन हुनु परेको थियो र? बढुवाको सूचना आएदेखि यति सपना बुनिएन ।…

hero news full width