उज्यालो सहरका अँध्यारा पक्षहरू

आदर्श समाज सम्वाददाता
माघ ३, २०७१

नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो भन्ने गरिन्थ्यो एक ताका। अझै पनि बहुसंख्यक नेपाली गाउँमै बस्छन्। यद्यपि सहरप्रतिको तीव्र आकर्षणले गर्दा गाउँबाट सहरतिरको बसाइसराइ निरन्तर चलिरहेको छ। बजारिया बन्ने प्रवृत्तिले चको रूप लिएको छ र सबैलाई यसले गाँजेको छ। नेपाल सरकारले समेत यही मनोवृत्तिका कारण गाउँहरूलाई धमाधम नगरपालिका घोषणा गरी सहरको रूप दिन खोज्दैछ। अनि गाउँलेहरू रातारात सहरबासीमा परिणत हुँदैछन्।

सहरप्रति आकर्षण स्वाभाविक पनि हो। यसका धेरै कारणहरू हुन सक्छन्। बिजुली, बाटो घाटो, अस्पताल जस्ता भौतिक संरचनाले सम्पन्न छ सहर। पुगीसरी आउनेहरूलाई सहरका सुख सयलका स्रोतले तान्छन्। किनभने सहरमा सुख किन्न पाइने भ्रम धेरैले पालेका हुन्छन्। तर धेरै जसो व्यक्ति कुनै न कुनै समस्याले जकडिएर नै सहरतिर र्झछन्। स्कूल, कलेजको खोजीले कतिपयलाई सहरतिर डोर्‍याएको हुन्छ। अर्काको लवाइखवाइको देखासिकीका साथै जाँगर घटेर बरु एकै छाक खान्छु भनी बच्चा पढाउने निहुँ पनि कतिलाई मिलेको होला। संकटकालमा राजनीतिक खिचातानीमा विभिन्न यातनाको मारमा परेर पनि कतिले आफ्नो थातथलो छोडेर सहरमा बस्न बाध्य भए। पछि शान्ति प्रक्रियापछि तिनलाई गाउँ फर्किन विभिन्न कारणले अनुकूल भएन। समग्रमा भन्दा सहरको उज्यालोमा मानिसहरू बत्तीमा पुतली झैँ आकषिर्त भएका छन्। यसप्रकार सहरतिरको तान्ने शक्ति र गाउँको घचेट्ने शक्तिको माझमा परेर गाउँबाट पहिरो गएझैँ मानिसहरू सहरतिर ओइरिएका छन्। तर गाउँमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली जस्ता आधारभूत सेवा सुविधा स्तरीय हुने हो भने र शान्ति सुरक्षा हुने हो भने गाउँको दिन फेरि फिर्ने थिए। यसको महिमा अझै बढ्ने थियो र गाउँ स्र्वर्गको उपमा बन्ने थियो।

गाउँले परिवेश स्वच्छ, सरल, सहज र विशिष्ट छ। भन्नै पर्दैन, यहाँको वातावरण स्वच्छ छ। खाना ताजा, स्वादिलो, पोषिलो र प्राङ्गारिक छ। हुन त विज्ञानले पानीलाई स्वादहीन, रंगहीन र गन्धहीन भन्छ। तर गाउँको पानीमा विशिष्ट स्वाद हुन्छ र स्वादिलो लाग्छ यो। सहरको पानी किनेरै खाए पनि खल्लो न खल्लो हुन्छ।  गाउँले व्यवहार छल कपट रहित स्वच्छ र सरल हुन्छ। समग्रमा गाउँले जीवन सादा, सरल र शितल छ। त्यसको विपरीत सहरबजार कुरूप छ, वातावरण प्रदूषणको मारमा छ। धुलो र धुँवाको मुस्लो एक छत्तै मडारिन्छ सहरी आकासमा। त्यसबाट बच्न मानिसहरू नाक र मुखमा मास्क लगाएर हिँड्छन्। वायुमण्डलमात्रै प्रदूषणको शिकार बनेको होइन, नदीनाला विकृत बनेका छन्। चारैतिर दुर्गन्धै दुर्गन्ध छ। ध्वनि प्रदूषण त्यस्तै छ। विषादी युक्त खानाका कारण शरीर रोगको घर बनेको छ। यस्तो विकार र विकृतिका कारण सहरबासीको शरीर मात्रै होइन, विचार र धारणा पनि सायद बिग्रदै गइरहेको छ। त्यसैले यहाँ एक आपसमा तँ ठूलो कि म ठूलो ? तँ जान्ने कि म जान्ने भन्ने जस्ता अंहकारी प्रवृत्तिले जरो गाडेको छ।

गाउँले जीवनमा समाजका सदस्य बीच सौहार्दपूर्ण सम्बन्ध हुन्छ। एकलाई दुःख पर्दा अकोर्ले सघाउँछ। अैचोपैचो, अर्मपर्मको प्रचलनमार्फत गाउँमा बासिन्दालाई सम्बन्धको बन्धनले बाँधेको हुन्छ। बसिबियालोमा दुःख सुखका बात मारिन्छ जसले तनाव पनि कम गराउँछ। त्यसैले आपसमा सद्भाव, प्रेम र सहयोग जस्ता व्यवहार गाउँले जीवनका अभिन्न संस्कार हुन्। तर सहरमा त्यसको विल्कुल अभाव हुन्छ। वल्लो घरको व्यक्तिको पल्लो घरमा बस्नेसँग बोलचाल नै हुँदैन। अैचोपैचो, अर्मपर्म र बसिबियालो सहरी जीवनमा खोजेर पाइँदैन। यहाँसम्म कि पल्लो घरमा के भयो, कसो भयो भन्ने वल्लो घरमा बस्नेलाई थाहै हुँदैन। पल्लो घरमा चोर पस्यो भने पनि वल्लो घरलाई कुनै चासो हुँदैन। कसैलाई फलानाको घर कहाँ हो भनी सोध्यो भने चिनाउन या देखाउन समेत तयार हुँदैनन् सहरीयाहरू। यही प्रवृत्तिको विकास हुँदै जाने हो भने भोलिका पुस्ताहरूको बीच सम्बन्ध कस्तो होला ? तिनीहरूको न त कोही आफन्त नै हुनेछन्, न त छिमेकी नै। मानिसहरू सामाजिक होइन, पूर्णतः व्यक्तिवादी हुनेछन्। मानिस सामाजिक प्राणी हो भन्ने सनातनी वाक्य गलत हुनेछ। आफूबाहेक अरू कसैको मतलव हुने छैन।

नेपालमा अव्यवस्थित सहरीकरण निम्तिनुका पछाडि केही निश्चित कारणहरू छन्। पहिलो त विकास सहरकेन्द्रित भयो। शिक्षा, स्वास्थ्य जस्ता सेवा र बिजुलीको झिलिमिली जीवन सहरले नै राख्यो, गाउँलाई दिएन या अत्यन्तै थोरै दियो। द्वन्द्वकालमा राजनीतिक कारणले गाउँबाट विस्थापित भई सहरीया बन्नेको संख्या पनि धेरै छ। यी विभिन्न कारणले गर्दा सहरले धान्नै नसक्ने गरी गाउँबाट सहरमा मानिसको चाप बढ्यो। हाम्रा सहर यसरी एक्कासि बढ्ने जनसंख्यालाई धान्न तयार थिएनन्। त्यसका लागि सहरलाई तयार बनाउनेतर्फ राज्यले पनि कोशिस गरेन न गाउँका बासिन्दालाई गाउँमै अडिन सक्ने वातावरण बनाउन खोज्यो।

सहरीया जीवन कतिपय अवस्थामा खोक्रिँदै पनि गएको छ। पुरुषार्थ र मिहिनेत गर्ने हैसियत नहुनेले अर्काको मिहिनेतमाथि रिसराग गर्ने गरेको पाइन्छ। अर्काको लवाइखवाइको नक्कल गर्ने अनि अको घोडा चढ्यो भनेर आफू धुरी चढ्ने प्रवृत्तिले अनेकौं विकृति भित्र्याएको छ। ओठमा सितो लाउनु कता हो कता, लाली पोतेर हिँड्ने जस्ता अनेकौ कारणले गर्दा सहरीया जीवन निरस र कष्टकर हुँदै गइरहेको छ। समाजले यसप्रति सोच्न नितान्त जरुरी छ।

लवाइ खवाइको प्रदशन, फेशन प्रदशन, भोज भतेर प्रदशन आदि जस्ता देखावटी संस्कार सहरमा हुर्किंदै छ। यसले सक्नेलाई त सहज नै होला, तर नसक्नेहरू पनि सकिनसकी यस्तै देखावटी कार्यमा लागेर ऋणमा डुबेका छन्। सादा जीवन, उच्च विचार भनिने आदर्श भनाइलाई उल्टाइएको छ उच्च घमण्ड, सादा विचार। यसको कारण चोरी, डकैती, अपहरण, बलात्कार, भ्रष्टाचार, घुस, अन्याय, अत्याचार सहरी जीवनमा बढ्दै गएको छ। व्यक्तिहरूमा अनेकौँ तम गुण अर्थात अवगुणले प्रोत्साहन पाएका छन्। ती व्यक्तिलाई भविष्य के होला भनी चिन्ता छैन। म मनुष्य हुँ मेरो कर्तव्य अन्य प्राणी भन्दा फरक छ भन्ने ज्ञान तिनलाई छैन। यो धरतीमा जन्म त कीरा फट्याङ्ग्राले पनि लिएका छन्। तिनको र मनुष्य जुनीको भेद त छुट्याउन सक्नु पर्यो नि। सहरमा जीवन झन् संघर्षशील छ। प्रतिस्पर्धा उत्तिकै छ। पैसा नकमाउने हो भने जीवन गुजारा नै सम्भव हुँदैन। तर कमाउनलाई मिहिनेत गर्नु पर्दछ। जाँगर हराएका, ढिलो उठ्ने, कर्तव्य भुल्ने अनि सुखी क्षणको कल्पना गर्ने आपसमा मिल्ने कर्म होइनन्। ज्ञानको सागरमा डुवेर यस्ता अवगुणवाट मुक्ति लिएमा मात्र एक सफल जिन्दगीको परिकल्पना गर्न सकिन्छ।

सहर र गाउँको सन्तुलित विकास गर्ने हो भने मात्रै मुलुकले उन्नति गर्न सक्नेछ। नत्र यी दुवै ठाउँमा विकृतिले राज गर्ने छन्। न गाउँमा जीवन रहने छ न सहरले नै आफ्नो सौर्न्दर्य यथावस्थामा राखिराख्न सक्नेछ। तसर्थ गाउँलाई अभावको पर्यायवाची बन्नबाट जोगाउनु पर्छ। गाउँमा नै रोजगारीका साथै शिक्षा र स्वास्थ्यका अवसर हुने हो भने सहरमा जनसंख्याको चाप घट्नेछ। अनि सहरमा पनि योजनाबद्ध विकासका काम थालनी गर्न सकेमा सहरको सौर्न्दर्यलाई पनि यथावत राख्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग