बादी समुदायलाई छाक टार्नै मुस्किल

रासस
वैशाख ५, २०७७
thumb

डोटी, ५ वैशाख । लकडाउनका कारण बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा चलाउँदै आएकामा हाल घरमा खाद्यान्न अभाव भएपछि उनीहरु भोकै बस्नुपर्ने अवस्था गुनासो गर्छन् ।

दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षलय नजिकको सरकारी जमिनमा वर्षौँदेखि बस्दै आएका भूमिहीन सुकम्वासी बादी समुदायलाई छाक टार्नै मुस्किल हुँदै आएको छ । दैनिक ज्यालादारी काम तथा बजारमा सरसामान लोडअनलोड गरेर जीवन निर्वाह गर्दै आएका बादी समुदाय अहिले लकडाउनपछि निकै समस्यामा परेका हुन् ।

ज्यालाको काम तथा सवारी साधन बन्द भएपछि आफूहरुको भान्सामा चुलो बल्नसमेत मुस्किल हुन थालेको स्थानीय तेजबहादुर बादीले गुनासो गरे । उनले भने “लकडाउनले बजारमा काम पाउनै छाड्यो, साँझ बिहानको खाना पनि कसरी खाने भन्ने चिन्तामा छौँ, हामी रोगले भन्दा पनि भोकले मर्ने भएका छौँ ।” जिल्लाका विभिन्न स्थानीयत तह तथा वडामा राहत वितरण गर्न थालिएको भए पनि आफूहरुलाई अहिलेसम्म कसैले पनि राहतसमेत नदिएको सोही टोलमा बस्ने अर्का २९ वर्षीय श्याम बादीले बताए ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल पिपल्ला जोड्ने डा केआइसिंह राजमार्गमै बादी समुदाय बस्दै आएका भए पनि सोही सडकको बाटो भएर जानेहरुले अहिलेसम्म कसैले पनि उनीहरुको अवस्थाका बारेमा सोधपुछसमेत नगरेको बादीहरुको गुनासो छ । घरबार तथा जमिन नभएर सुकम्वासी भएका यहाँका बादीहरुलाई दिपायल सिलगढी नगरपालिकाले आवासका लागि केही महिना पहिले जमिन खरिद गरे पनि रकम नहुँदा उनीहरुले घरसमेत बनाउन सकेका छैनन् । कमाइखाने नाममा एक रोपनी जमिन पनि नभएका कारण बादी समुदायका व्यक्ति दैनिक मजदुरी गरी जीवनयापन गर्दै आएका थिए । लकडाउनका कारण मजदुरीको कामसहित उद्योग, बजारलगायत अन्य पसल बन्द भएपछि बादीहरुलाई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ भएको दिपायल पिपल्लाका स्थानीय रामबहादुर विष्टले बताए ।

करिब पाँच घरपरिवार रहेको उक्त टोलमा कम्तीमा पनि १२÷१५ जना बादी बस्दै आएका छन् । घरमा खानेकुरा नभएका कारण आफ्ना छोराछोरी दुई दिनदेखि एक छाक खाएर बसेको अर्का स्थानीय गणेशबहादुर बादी (दास) ले बताए । बजारमा पछिल्लो समय भित्रिएका प्लाष्टिकका आधुनिक भाँडाका कारण बादी समुदायले बनाउँदै आएका माटाका भाँडासमेत बिक्री वितरण हुन बन्द भएका कारण उनीहरुलाई कमाइ गर्न समस्या हुँदै आएको थियो तर अहिले कोरोना भाइरसका कारण एकाएक भएको लकडाउनले बादीहरुलाई बिहान–बेलुकीको छाक टार्नै मुस्किल भएको छ । सडक छेउमा पालको कटेरो बनाएर बसेका बादीहरु रोगले भन्दा भोकले मर्नेमा बढी चिन्तित बनेका छन् । छोराछोरीको ज्यान जोगाउनलाई भए पनि खानेकुराको राहत दिन उनीहरुले सबै निकयसँग आग्रहसमेत गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बादी समुदायलाई खाद्यान्न वितरणका लागि नगरपालिकाले विशेष पहल गर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width