मनै लोभ्याउने इन्द्रसरोवर ताल [फोटो एस्से]

ताल किनार रहेको मार्खुुका रेष्टुरेण्टले माछाका विभिन्न परिकारहरु बेच्छन्

Suraj Hazare Dahal
मंसिर २५, २०७६
Indrasarobar 1

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकमा रहेको इन्द्रसरोवर ताल आन्तरिक पर्यटक माझ लोकप्रिय रहेको छ । विशेष गरि फेवा, बेगनास, रारा र तिलिचो मात्र चर्चामा रहेको बेला पछिल्लो समय इन्द्रसरोवरले ख्याती कमाएको छ । मानव निर्मित यस ताललाई पर्यटकले भने कुलेखानी तालको नामले चिन्छन् । कुलेखानी जलविद्युत आयोजनाको लागि पानीको मुख्य श्रोत इन्द्रसरोवर हो । यस तालको पानीलाई जाडो महिनामा विद्युत उत्पादन गर्न बाँधबाट छोड्ने गरिन्छ । इन्द्रसरोवरको लम्बाई ७ किलोमिटर, चौडाई ५०० मिटर र गहिराइ ११५ मिटर रहेको छ ।

तस्बिर : सुरज हजारे दाहाल

पर्यटक आकर्षण गर्न यहाँ बहानाबाट चलाइने काठको डुंगादेखि प्याडलबाट चलाइने प्याडल बोटको व्यवस्था गरिएको । हाल यहाँ ४५ वटा सामान्य डुंगा र ५ वटा प्याडल बोटहरु रहेका छन् । काठको डुंगा शयर गरेको घण्टाको २०० रुपैयाँ लाग्छ भने ४ जना यात्रु क्षमता रहेको प्याडल बोटको भने एक घण्टाको १००० रुपैयाँ भाडा कायम गरिएको छ । यात्रुको लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ ।

तस्बिर : सुरज हजारे दाहाल

साथै सम्भावित दुर्घटनामा पर्ने यात्रु तथा चालकको उद्धार गर्न मोटर बोटको व्यवस्था छ । आसपासका क्षेत्रहरुबाट इन्द्रसरोवर घुम्न आउनेहरु दिनभर बोटिङ गरेर माछा खाइ साँझ परेपछि फर्किन्छन् भने टाढाबाट आएकाहरु भने बास बसेर बिहान आफ्नो गन्तव्यतर्फ जान्छन् । यस तालमा सिल्भर कार्प, बिग हेड, बाम माछा, ग्रास कार्प , रहु जस्ता माछाहरु पाइन्छन् । शुक्रबार, शनिबार र अन्य बिदाका दिन काठमाण्डौ तथा हेटौडाबाट घुमन्तेहरु माछा खान तथा डुंगा चढ्न आइपुग्छन् ।

ताल किनार रहेको कलंकी तथा मार्खुुका रेष्टुरेण्टले माछाका विभिन्न परिकारहरु बेच्ने गर्छन् । माछा फ्राई, माछा करी बाहेक नयाँ परिकार पोलेको माछा पनि यहाँ पाइन्छ । रहु माछा भित्र च्याउ र मसला हालेर आगोमा पोलेको माछाको बासनाले साँझपख कुलेखानी क्षेत्र गुलजार हुन्छ ।

तस्बिर :सुरज हजारे दाहाल

राजा वीरेन्द्रको पालामा निर्मित यो मानव निर्मित कृत्रिम तालमा पानी जम्मा गर्न १ सय १४ मिटर अग्लो र १० मिटर चौडा रक फिल (ढुंगा र माटो मिश्रित बाँध) ड्याम निर्माण गरिएको थियो । विजुली निकाल्नका लागि २०३१ सालमा दर्जनौं घरहरुलाई विस्थापित गरि बाँध बाँधिएको इन्द्रसरोवरमा २०३३ सालदेखि पानी जमाउन थालिएको थियो । स्थानीय डुंगा चालक सन्तबहादुर कुँवरका अनुसार प्रति रोपनी रु १३०० को दरले मुआब्जा दिएर तत्कालिन मार्खु गाविसबाट ५२५ र कुलेखानीबाट २५०० घर धुरीलाई पाखापखेरामा सारेर तत्कालिन सरकारले कुलेखानीमा पानी भराएको थियो ।

यो कुलेखानीमा ७ वटाको खोलाको पानी मिसिन्छ । ठाड खोला, पालुङ खोला, चित्लाङ खोला, सुकौरा खोला, बिसिनखेल खोला, चल्खु खोला, धस्को खोली गरि सात खोला अनि वर्षाले कुलेखानी भरिने गर्छ । पटकपटक समाचारहरुमा कुलेखानी भरिएको तथा पानी सतह निकै घटेको सूचनाहरु आउँने गर्दछन् । यस तालमा साउन, भदौ र मध्य असोजसम्म बाढी आएर ताल धमिलो हुने गर्दछ । वर्षेनी धेरै संख्यामा घुम्न आउने पर्यटकहरुको मृत्यु भएपछि तालमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ ।

हाइकिङ वा साइक्लिङ गर्न पनि कुलेखानी क्षेत्र उपयुक्त छ । नजिकैको चित्लाङ गाउँमा बास बस्ने आएकाहरु हाइकिङ गर्न कुलेखानी झरेर साँझ फर्किने गर्छन् । गर्मी याममा शितलताको लागि इन्द्रसरोवर घुम्न आउनेहरु जाडो मौसममा भने आगो बालेर क्याम्प फायर गरि शरीर तताउन आउने गर्छन् । यस्तै साइक्लिङ गर्न पनि काठमाण्डौबाट शनिबार आन्तरिक पर्यटक झर्ने गर्छन् । तालको किनारमा पर्यटकहरु रमाउँदै सेल्फी खिचिरहेका देखिन्छन् ।

सप्ताहन्त शुक्रबार र शनिबार यहाँ थेग्नै नसकिने गरि पर्यटकहरुको हुल देखिन्छ । तालमा केज बनाएर माछापालन समेत गरिएको छ र ति केजहरुको हेरचाह गर्न तालको मध्य भागमा काठको घरहरु निर्माण गरिएको छ । निकै आकर्षक उक्त घरले पर्यटकलाई मोहित पार्ने गरेको छ । इन्द्रसरोवरबाट कुलेखानी १ र २ गरि ९२००० किलोवाट जलविद्युत उत्पादन गरिएको छ । इन्द्रसरोवर नजिकै ऐतिहासिक राणाकालीन दरबारहरु रहेका छन् । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित दरबार मार्खु बजारको मध्य भागमा रहेको छ । यस्तै ताल नजिकैको झोलुंगे पुल तरेर आधा घण्टाको पैदल यात्रा पछि आकर्षक झर्ना देखिन्छ । बाह्य पर्यटक बढाउन यहाँ प्याराग्लाइडिङको सफल परीक्षण गरिए पनि व्यवसायिक रुपमा भने शुरुवात गरिएको छैन ।

खर्च र बसाई ः

काठमाण्डौबाट गाडीमा २ घण्टाको दूरीमा रहेको इन्द्रसरोवर घुम्न दुई दिन छुट्याउँदा उपयुक्त हुन्छ । पोखराबाट जाँदा थानकोटमा झरेर त्यहाँबाट चित्लाङ गाउँ पुगेर आधा घण्टामा ताल आइपुग्छ । नजिकैको होमस्टे वा होटलमा बसेर दुई दिनको खान खर्च तथा गाडी भाडा गरि करिब रु १० हजार रुपैयाँ जति लाग्छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width