नेपाललाई थप २ रजत, ४ कास्य

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७६
tara and laxmi wightlifting

पोखरा, २१ मंसिर । १३ औं साग भारोत्तोलन अन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । यो सँगै जारी संस्करणमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ ।

रोचक के छ भने, पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य जितेका हुन् । २० स्वर्ण सहित ६० पदकका लागि भएको स्पर्धामा नेपालले अझै पुरुषतर्फ टु वेट क्याटागोरीमा अन्तिम दिन आइतबार खेल्दैछ ।पोखरामा शनिबार भएको प्रतियोगितामा नेपालकी अस्मिता राई (८७ प्लस) र विशालसिंह विष्ट (९६ केजी) तौल समूहमा रजत पदक जितेका हुन् ।

पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन् । रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २४७ भार बहन गरे । १९ वर्षे विष्ट कञ्चनपुरका हुन् । चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

यस्तै, भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटानले सो इभेन्टमा पहिलो कास्य जित्न सफल भयो । उसका लागि किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कुल १ सय ७० भार उठाउन सके । शनिबार नै भएको महिला ८७ प्लस तौल समूहमा श्रीलंकन खेलाडी तिमाली हापुथेनाले स्वर्ण जितिन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०० गरी कुल १८० तौल उठाइन् । नेपालको तर्फबाट नेपाली सेनाकी अस्मिता राईले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२५ तौल भार बहन गर्दै रजत दिलाउन सफल भएकी हुन् ।

सो इभेन्टमा पाकिस्तानकी फेरोज परविनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६० गरी कुल ११५ तौल उठाउँदै कास्यमा सीमित भइन् । यस्तै, महिला ८७ तौल समूहमा भारतले स्वर्ण, पाकिस्तानले रजत र नेपालले कास्य जित्यो । भारतकी अनुराधा पभुन्नराजले स्न्याचमा ९० र क्लीन एण्ड जर्कमा ११० गरी कुल २००, पाकिस्तानकी रब्बीया राजाकले ६३, ७८ र १४१ तथा नेपालकी मनकुमारी कुमालले ६०, ७६ गरी कुल १३६ तौल उठाउँदै क्रमशः स्वर्ण, रजत र कास्य जितेका हुन् । तनहुँकी कुमालले आठौं राष्टिय खेलकुदमा रजत जितेकी थिइन् ।

उता, पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । प्रतियोगितामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो । पाकिस्तानी खेलाडीले स्न्याचमा १५० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै, बंगलादेशका इस्लामले स्न्याचमा १०८ र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २५० भार बहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १०० र क्लीन एण्ड जर्कमा १३५ सहित कुल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन् । चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन् । उनी आठौं राष्टिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् ।

शनिबार बिहान भएको खेलमा नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्य पदक जितेका छन् ।महिला ७६ केजी तौल समूहमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८५ तौल उठाउँदै स्वर्ण जितिन् । त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १०१ गरी कुल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन् । १२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १७२ तौल उठाएकी हुन् ।

त्यस्तै, ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन् । उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन् । ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width