पर्यटक र भक्तजन रोजाइ छाब्दीबाराही

अञ्जनराज न्यौपाने
मंसिर २०, २०७६
Chhabdi_Fotor

प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको छाब्दीबाराही देवीक‍ो मन्दिर आन्तरिक एवं बाह्य पर्यटकको महत्वपूर्ण रोजाइको केन्द्र बनेको छ। दैनिक ७ सयदेखि १ हजार २ सयसम्म आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो यहाँ लाग्ने गरेको छ।

छाब्दीबाराही मन्दिर जाने भक्तालु र पर्यटक प्रशस्त हुने गरेका छन्। कामविशेषले होस् या आफन्तको भेटघाटमा होस् वा तनहुँका कुनै धार्मिक एवं ऐेतिहासिक एवं पर्यटकीय महत्व बोकेको यो गन्तव्यको भ्रमण गर्न भनेर आएका आन्तरिक एवं बाह्य पर्यटकहरु नै किन नहुन्–एकपटक छाब्दीबाराहीको दर्शन गर्ने, गराउने चाहना अधिकांश पर्यटकको हुने गरेको छ।

प्राकृतिक छटाले भरिपूर्ण, मनमोहक हरियाली, डाँडाकाँडा, मन्दिर नजिकैको अग्लो छहरा, विभिन्न जातजातिका माछा, बहुजातीय, बहुभाषिक सहिष्णुता, कृषिजन्य, स्थानीय अर्गानिक उपभोग्य वस्तुको पर्याप्त बिक्री वितरण, स्थानीयस्तरमा उत्पादित सामग्रीहरुले पाएको बजार भाउ, बेचबिखनका लागि प्रशस्त पसल, होटलमा राखिएको पूजा सामग्रीको पर्याप्तता देख्दा मन्दिर परिसर आसपासका भूभागमा हरेक दिन कुनै हाटबजारमा लागेको भान हुन्छ।

काठमाडौंको सिनामंगलबाट छाब्दीबाराही मन्दिर घुम्न आएकी यशोदा महर्जन भन्छिन्, ‘मेरो यस मन्दिर घुम्ने रहर १३ वर्षको उमेरदेखि नै हो। बुबा कृष्ण महर्जनले गरेको व्यवसाय सफलहोस् भनेर गरेको भाकल पूरा भएपछि ३० वर्षको उमेरका आउन पाउँदा खुसीको सीमानै छैन। ’

यतिबेला छाब्दीबाराही घुम्न आउनेको संख्यामा बढोत्तरी आएको देखिन्छ। बालक, युवा र वयश्क उमेर समूहको रोजाईको मन्दिर पर्ने गरेको छ। दर्शन गरी भाकल गरे वा भाकल गरी दर्शन गरे मनोकामना तुरुन्तै पूरा हुने भन्दै भक्तजनको भीडभाड दिन प्रतिदिन बढ्दै गएको छ।

ब्यास १४ स्थित कर्लुङ भन्ने स्थानमा १८ सय सालको जेठ ९ गते जहर सिंह आलेद्वारा उक्त मन्दिरको संरक्षण, सम्बद्र्धन गर्न खरको झुपडीमा छाब्दी बराहक्षेत्रको स्थापना गरी पूजाआराधना गरी संस्थापक पुजारीका रुपमा स्थापित भएको बुझाइ यस क्षेत्रमा रहेको छ।

श्रद्धालु भक्तजनहरुको आस्था र भरोषाको केन्द्रका रुपमा रहेका सुनटीकी, बाम, रजबाम, कत्ले माछा, चुच्चे माछाको दर्शन गरेर भाकल गरे मनोकामना पूरा हुने आमविश्वास छ। कुल ६१ रोपनी १० आना १२ पैसा ३ दाम क्षेत्रफल ओगटेको छाब्दीबाराहीमा ३ हजारदेखि ५ हजारको दैनिकजसो देश विदेशका विभिन्न धार्मिक संम्रदायका भक्तजनको घुइँचो लाग्ने गरेको पुजारी चोलबहादुर आलेले बताए।

मन्दिरका अर्का पुजारी कृष्णबहादुर आलेका अनुसार भाकल गरेपछि मनोकामना चाँडै नै पूरा हुने जनविश्वास रही आएकाले दैनिकजसो विभिन्न स्थानबाट मन्दिरलाई भाकलका रुपमा माछा, शंख, नरिवल, फूलपाती, घण्टी, अक्षता, हाँस, बाख्रा, कुखुरा र परेवा समेत भाकल पूरा नहुँदै र भाकल पूरा भएपछि भक्तजनले मन्दिरमा चडाउने गरेको आलेले बताए।

छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापा (प्रेम) का अनुसार, गण्डकी प्रदेश सरकारबाट मन्दिरको प्रवेश द्वारका लागि १० लाख रकम उपलब्ध भएको छ। यसैगरी मन्दिरको स्तरोन्नतिका लागि पर्यटन मन्त्रालयबाट १० लाख, ढल निकास विभागबाट १० लाख प्राप्त र ४ करोडको गुरुयोजनाअन्तर्गत ४ लाखको डीपीआर तयार भैसकेको अध्यक्ष थापाले जानकारी दिए।

छाब्दीबाराही मन्दिरको वार्षिक कुल आम्दानी ३० लाख ५५ हजार रहेकोमा ३४ प्रतिशत पुजारीलाई दिइने र ६६ प्रतिशत समितिको कोषमा दाखिला गरिने नियम रहेको मन्दिर विकास कोषले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width