ब्यालेटभित्र नयाँ सांसद ! साढे ४५ हजार मत खस्यो

प्रकाश ढकाल
मंसिर १५, २०७६
067A4982_Fotor

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र २ को पोखरा १७, छोरेपाटन माविमा शनिबार मतदान गर्दै एक वृद्धा। तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज।

अन्यथा नभए २४ घण्टा नबित्कै कास्की २ ले नयाँ जनप्रतिनिधि पाउने छ। शनिबार भएको उपनिर्वाचनमा आफूलाई मन परेका उम्मेदवार मतदाताले रोजिसकेका छन्। प्रतिनिधिसभा सदस्य अन्तर्गत ९ महिनासम्म रिक्त पद अहिले पूरा हुन लागेको हो। गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि यहाँ उपचुनाव गरिएको हो।

कास्की २ मा स्वतन्त्र र राजनीतिक दल गरी २१ जना चुनावी प्रतिष्पर्धामा छन्। उपनिर्वाचनमा ६४ प्रतिशतमात्रै मत खसेको छ। कुल ७१ हजार ८ सय ७१ मतदातामध्ये ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका हुन्। २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदानमा भाग लिएका निर्वाचन कार्यालय कास्कीले जनाएको छ। वडागत तथ्यांक भने कार्यालयले दिएको छैन।

प्रारम्भिक रुपमा ४५ हजार ६ सय १७ मत खसेको अनुमान थियो। जसअनुसार वडा २ मा १ हजार ५ सय ४० मत, वडा ७ मा २ हजार ९ सय १७, वडा ८ मा ३ हजार ९ सय ३९, वडा ९ मा ३ हजार ३८, वडा ११ मा ३ हजार ८ सय २१, वडा १५ वडामा ४ हजार ८ सय ४ मत खसेको छ। यस्तै, वडा १६ मा ६ हजार ५ सय २६, वडा १७ मा ६ हजार ३ सय ९२, वडा २० मा २ हजार २ सय ४१, वडा २१ मा ४ हजार ७ सय ५८ र वडा ३३ मा ५ हजार ६ सय ४१ मत खसेको छ। प्रतिशत आधारमा सबैभन्दा धेरै ३३ मा मतदान भएको छ। यद्यपि यो तथ्यांक केही फेरबदल हुन सक्छ।

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन बामगठनबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले जितेका थिए। उनले २७ हजार २ सय ७ मत पाउँदा उनका निकटतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बलियो उपस्थिति जनाएनन्। कुनै पनि उम्मेदवारले १ हजार मत समेत कटाएका थिएनन्। अहिलेको चुनावमा अरु उम्मेदवारले पनि राम्रै मत ल्याउने अनुमान छ। खासगरी समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी र स्वतन्त्र उम्मेदवारी दिएको विवेकशीलको मतमा धेरैको ध्यान छ। यो चुनावमा नेकपा र नेपाली काँग्रेसबीचमै रस्साकस्सी छ। दुवै उम्मेदवारले आफैले जित्ने दाबी गरिरहेका छन्। नेकपा पुरानै विरासत जोगाउने दाउमा छ भने काँग्रेस पनि नेकपाको विरासत तोड्न कम्मर कसेको छ। यद्यपि दुवै दलले आ–आफ्नै आँकलन गरिरहेका छन्। अरु दल पहिलेभन्दा मत बढाएर अस्तित्व रक्षा गर्न मरिमेटेका छन्।

त्रासबीच मतदान

उपचुनावका लागि मतदान चलिरहेकै बेला पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोट भयो। जसका कारण मतदाता ढुक्क भएर मतदान गर्न आउने अवस्था नै बनेन। पोखराका ४ ठाउँमा ५ पटक विस्फोट भएको थियो। पोखरा ३३, भरतपोखरीस्थित सरस्वती टीका मावि, पोखरा ९ को नवप्रभात मावि, पोखरा १६ को शान्ति मावि र चण्डिका मतदान केन्द्रमा विस्फोट भएको हो। शान्ति माविमा २ पटकसम्म विस्फोट भयो।

क्षति गनेर्भन्दा पनि मतदाता तर्साएर मतदान प्रक्रिया बिथोल्ने मनसायका साथ विस्फोट गरेको बुझिन्छ। विस्फोटबाट मानवीय क्षति नभए पनि त्रास दिनैभरी रह्यो। यसले सुरक्षा व्यवस्थाप्रति प्रश्नचिन्ह उठेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विस्फोट भए पनि कुनै क्षति नभएको भन्दै अनुसन्धान गरिने बताउँछ। ‘अहिले नै यसै भन्न सकिने अवस्था छैन। तर यति कडा सुरक्षा घेराभित्रबाट पनि विस्फोट हुनु सामान्य होइन, ’ उनले भने, ‘यसबारे छानविन हुन्छ। ’

७ उम्मेदवारले गरे मतदान

२१ उम्मेदवार चुनावी प्रतिष्पर्धामा भए पनि ७ जनाले मात्रै मतदान गर्न पाएका छन्। नेकपा उम्मेदवार विद्या भट्टराईले पोखरा ३३ को शान्ति उदय माविबाट भोट हालिन्। उनी अरु मतदातासँगै लाइन बसेर मतदान गरेकी हुन्। साझा पार्टीकी रजनी केसीले पोखरा ४ स्थित नवीन माविबाट मतदान गरिन् भने राप्रपाका रोमबहादुर भण्डारीले पोखरा १५ बाट मतदान गरे।

यस्तै, नेकपा मालेका टेकनाथ भण्डारीले पोखरा २१ तथा राप्रपा संयुक्तकी गंगा मल्लले पोखरा ७ बाट मत जाहेर गरिन्। स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइरालाले पोखरा ४ र रनबहादुर दमैले पोखरा १७ बाट मतदान गरेका हुन्। अन्य उम्मेदवारको कास्की २ मा मताधिकार थिएन।

किन कम खस्यो मत?

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशतभन्दा बढी मत खसेको थियो। ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले निकै कम मत खसेको छ। अहिले खसेको मत कास्की २ मा कम मध्ये हालसम्मकै तेश्रो हो। २०६४ सालमा सबैभन्दा कम मत खसेको थियो। मतसंख्या केही धेरै भए पनि प्रतीत आधारमा यो सबैभन्दा कम हो। कास्की २ मा २०४८ सालमा ६४ प्रतिशत मत खसेको थियो भने ०५१ मा ५७ प्रतिशत मात्रै खसेको थियो।

२०५६ मा ६५ मत खसेको यहाँ २०६४ मा ५६ र २०७० मा ७७ प्रतिशत मत खसेको थियो। २०७४ मा चाहीँ ७० प्रतिशत मत खसेको थियो। अहिले मत कम खस्नुको ठ्याक्कै कारण मूल्यांकन गर्ने अवस्था छैन। यद्यपि मतदानको समयदेखि नै विभिन्न ठाउँमा भएको बम विस्फोट कारण कम मत खसेको हुन सक्ने आँकलन छ। केहीले चाहीँ मतदातामा नै मतदानबारे कम चासो भएका कारण मतदान गर्न नगएको तर्क पनि गरेका छन्।

मत गन्न फलामे जाली

मतगणना अघि सर्वदलीय बैठक बसी राति साढे १० देखि मतगणना शुरु गर्ने निर्णय गरेको छ। शहीदचोकस्थित जिल्ला समन्वय समिति, कास्कीको सभाहलभित्र मतगणना गर्ने व्यवस्था मिलाइएको छ। सभाहलभित्रै तारजाली लगाइएको छ। उम्मेदवारका प्रतिनिधि र कर्मचारीलाई बस्ने छुट्टै व्यवस्था मिलाइएको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width