गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ५ महिनाभित्र सञ्चालन लक्ष्य

शरच्चन्द्र भण्डारी, रासस
मंसिर १५, २०७६
gautam buddha international airport nepal

कुनै अप्रत्याशित एवं अकल्पनीय घटना नभए आगामी ६ महिनाभित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको छ।

भवितव्य नभएमा यो विमानस्थलमा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् जसले नेपालको नागरिक उड्डयनको क्षेत्रमा नयाँ इतिहास रचना गनेर्छ भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भरपर्दो विकल्प बन्नेछ।

एशियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआइडी) र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा दुईसय ७० जनाभन्दा बढी कामदार परिचालन भएका छन्। तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ थालिएको छ, जुन आगामी साता पूरा हुनेछ। विमानस्थल सञ्चालन भएपछि मौजुदा १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई सनान्तर ट्याक्सी वेका रूपमा उपयोग गरिनेछ।

हाल विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको छ भने कन्ट्रोल टावर, अन्तराष्ट्रिय टर्मिनल भवन, विमान राख्नेस्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ। घाघरा खोलाको मार्ग परिवर्तन, सवारीसाधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ। एकथरि कामदार विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दर्य बढाउन साजसज्जाका काममा खटिएका छन्।

विमान उडान र अवतरण, तिनको व्यवस्थापनका साथै विमानको अवस्था तथा अवस्थितिबारे जानकारी दिने उपकरण, विमानलाई मार्गदर्शन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विद्युत्लगायत विमानस्थलका निम्ति आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान आगामी तीन महिनाभित्र पूरा गरिने भएको छ। एरोनटिकल रेडियो अफ थाइल्यान्डले सबै काम निर्धारित समयभित्र पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

कोरियाली कम्पनी योशिन इन्जिनीयरिङ कर्पोरेशन परामर्शदाता रहेको विमानस्थलको भौतिक संरचनाको निर्माणको ठेक्का पाएको चीनको नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपनका प्रबन्धक सू बेजिङ निर्धारित समयमा परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्छन्।

रुग्ण परियोजनाका रूपमा परिचित यो विमानस्थल निर्माणमा यसअघि विविध समस्या झेल्नुपरेको थियो भने मुख्य लगानीकर्ता एडिबी नै परियोजनाबाट बाहिरिएको थियो। दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको यो परियोजना तेस्रोपटक म्याद थपेर हालको अवस्थामा पुर्याइएको हो। भैरहवामा दोस्रो अन्तराष्ट्रिय विमानस्थल जसरी पनि निर्माण गर्ने सरकारको दृढ निश्चयको प्रतिफल हो– गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भएको भौतिक प्रगति। नेपाल सरकारको सक्रियता र अनुरोधपछि एडिबीले ऋण तथा अनुदान सहयोग गरेको हो। परियोजनाको ६ अर्ब २२ करोड ५१ लाख २० हजार १ सय २८ मध्ये एडिबीले ४०.५ ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने (ओएफआइडी)को ३०.५ प्रतिशत र बाँकी सरकारको लगानी छ।

नेपाल भ्रमण वर्ष २०२० जारी रहेकै बेला यो विमानस्थल सञ्चालन गर्ने लक्ष्य सरकारको छ। प्राविधिक काम पनि निर्धारित समयमा नै पूरा गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकजना वरिष्ठ अधिकारीलाई खटाइसकेको छ।

विमानस्थल बन्ने बित्तिकै तत्काल सञ्चालन नहुने तर परीक्षण उडानलगायत अन्य प्राविधिक परीक्षणपछिमात्र स्वदेशी विदेशी विमान कम्पनीलाई सेवा सञ्चालनका लागि आह्वान गरिने महानिर्देशक राजन पोखरेल बताउँछन्। अनौपचारिक रूपमा श्रीलङ्का, कतार, थाइल्यान्ड, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र फ्लाई दुबईले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आफ्नो सेवा विस्तार गर्न रुचि देखाएका छन्।

विमानस्थल निर्माण सकिएपछि विमानस्थलले अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट अन्तराष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि केही समय लाग्नेछ। विमानस्थलमा उडान र अवतरण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतसँगको सहकार्यमा भैरहवाको एयर रुट अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा प्रमाणीकरणका लागि पठाएको छ, त्यो पनि सङ्गठनबाट प्रमाणित भएर आउन बाँकी नै छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width