मच्छिम र काफलडाँडामा बिजुली बलेपछि खुशीयाली

रासस
मंसिर १२, २०७६
p 12

म्याग्दी, १२ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार यसअघि ताकम, हिलापोखरी र शिवाङका ३५० घरमा बिजुली बलिसकेको छ । बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको काफलडाँडाका बालकृष्ण आचार्यले बताए । काफलडाँडाका बासिन्दाले विद्युत् प्राधिकरणका प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरेका थिए ।

उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीय शिक्षक हेमराज शर्माले बताए । खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । फर्निचर, ब्लक, राइसमिल, कुखुरापालन सञ्चालन गर्न सकिने भएको छ । यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट, सौर्य उपकरण र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । ताकम विद्युतीकरण योजनामार्फत ५५२ घरमा विद्युतीकरण गर्ने लक्ष्य थियो ।

आरखोला टोल र छिटपुट ४२ घरबाहेक वडाका सबै बस्तीमा विद्युतीकरण भएको सचिव थापाले बताए । आरखोलामा पनि बिहीबार बिजुली बाल्ने तयारी भएको छ । यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए । विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो ।

गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए । धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष विनियोजन गरेको रु चार करोड ५० लाख बजेटबाट दुई ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । पहिलो चरणमा ढुङ्गाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए । दुवै कम्पनीमार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी गर्ने र करीब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width