सही व्यक्ति छान्ने अवसर : डा. रिजाल

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
nepali congress photo_Fotor

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन्।

पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान् व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए।

‘एकतिर ६० वर्षको राजनीतितमा निष्ठापूर्वक बसेका खेमराज पौडेल खडा हुनुहुन्छ। अर्कोतिर भ्रष्टाचारको सबैभन्दा ठूला प्रतिमूर्ति बनेको कम्युनिष्ट पार्टी बसेको छ’, उनले भने ‘कसलाई रोज्ने तपाइँहरूको हातमा छ। ’ उनले अहिलेको मत खेमराज पौडेलका लागि मात्र नभएर ब्यवस्था परिवर्तन गर्न खबरदारीका लागि पनि आवश्यक रहेको बताए।

त्यस अवसरमा ठूलीस्वाँरा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर राना, समाजसेवी नरबहादुर राना, भीमबहादुर रानाले कांग्रेस नेताहरुलाई स्थानीय समस्या बार गुनासो सुनाएका थिए। कोणसभामा उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल, नेताहरू धनराज गुरुङ, देवराज चालिसे, सोभियतबहादुर अधिकारी, सांसद बृन्दादेवी रानालगायतले बोलेका थिए।

आयोगमा अर्को उजुरी

नेपाली कांग्रेस कास्कीले निर्वाचन उल्लंघनका कार्य भएको भन्दै निर्वाचन आयोगमा अर्को उजुरी दिएको छ। केही दिन अघि पोखरा–१५ मा जनप्रतिनिधिले नै कम्वल वितरण गरेको भन्दै उजुरी दिएको कांग्रेसले शनिबार पुनः अर्को उजुर दिएको हो।

उजुरीमा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा–१७ कै होटल सांग्रीलादेखि महतगौंडासम्मको बाटोमा डोजर प्रयोग गरी पाइप विछ्याउने कार्य गरेको उल्लेख छ।

सो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विपरितको हुने कांग्रेसको दावी छ। नियमानुसार वडाध्यक्ष अधिकारीलाई कार्वाहीको माग समेत कांग्रेसले गरेको छ। आयोगमा उक्त उजुरी उपनिर्वाचन मूल प्रचारप्रसार समिति कास्की क्षेत्र नं. २ का संयोजक देवेन्द्र रानाभाटले दर्ता गराएका हुन्।

अबको कमाण्ड शर्मा

नेपाली कांग्रेसका केन्द्रीय नेताहरू पोखराको चुनावप्रचार र सभा सकेर बाग्लुङतर्फ लागेका छन्। केही नेता शनिबार र केही नेता आइतबार बिहान बाग्लुङ पुगेका हुन्। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, गगन थापालगायतले पोखराको चुनावी सभा सकेर छन्।

सोमबारदेखि पोखराको चुनावीसभा पार्टी प्रवक्ता र डा. मिनेन्द्र रिजाललगायतका नेताहरूले सम्हाल्ने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।

उनका अनुसार प्रवक्ता शर्मा सोमबार बिहान पोखरा आउने कार्यक्रम छ। उनी दिउँसो १२ बजे पोखरा–११ र ३ बजे पोखरा–१७ को चुनावीसभालाई सम्वोधन गर्ने कार्यक्रम छ।

यस्तै, मंगलबार नेता शर्माले बिहान पोखरा–८, दिउसो पोखरा–२० र २१ को चुनावीसभालाई सम्वोधन गर्ने कार्यक्रम छ। यसैगरी बुधबार २१ र ३३ को चुनावीसभालाई नेता शर्माले सम्वोधन गर्ने कार्यक्रम तय भएको पार्टी सभापति केसीले बताए। नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रम जारी छ।

यस अभियान अन्तर्गत चुनावी सभा र मतदातालाई पार्टीको प्रतिवद्धता जनाउने कार्यक्रम हो। योसंगै घरदैलो अभियान पनि जारी छ। केही वडामा उम्मेदवारसहितको र केही वडामा नेता कार्यकर्ता सहितको घरदैलो जारी छ।

कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो। जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७/७ दिनको छ।

पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित गर्यो। तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए। उनले यो चरणमा चुनावीसभामार्फत् पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए। ‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ। जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं’, सभापति केसीले भने, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं। पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं। ’

आइतबार पोखरा–२० भलाममा उम्मेदवारसहितको घरदैलो अभियान भएको छ। पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।

पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता एवं चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले जानकारी दिए। वडा भित्र पनि कलष्टर छुट्याएर अभियान सञ्चालन गरिएको संयोजक शर्माले बताए। उनले भने, ‘टोलै पिच्छे छुट्टाछुट्टै समिति गठन गरेर अभियान अघि बढाएका छौं। साथै पार्टीका सबै संयन्त्रलाई पनि परिचालन गरेका छौं। ’

यस्तै, पोखरा–११ मा पनि चुनाव प्रचार अभियान जारी छ। चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समितिहरू बनाएर अघि बढाइएको छ। उनका अनुसार सोमबार यस वडामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा चुनावीसभा हुँदैछ।

यसैगरी पोखरा–९ मा घरदैलोमार्फत मतदाता भेटघाट कार्यक्रम सकिएको चुनाव प्रचार समितिका संयोजक वीरेन्द्रनारायण विजुक्छेले जानकारी दिए। पोखरा–९ मा विगतका चुनावमा भन्दा धेरै भन्दा धेरै कत तान्न कांग्रेस सक्रिय भएर लागेको र मतदाता पनि निकै उत्साहित रहेको संयोजक विजुक्छेले बताए।

यसैगरी पोखरा–१७ मा पनि चुनावी अभियान जारी छ। यस वडामा आइतबार केन्द्रीय सदस्य धनराज गुरुङ, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो। आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताए।

यता, पोखरा–३३ मा आइतबार बिहानैदेखि घरदैलो अभियान भएको छ। अभियानमा उम्मेदवार खेमराज पौडेललगायत कास्कीका नेताहरू सहभागी छन्। उम्मेदवार पौडेलले पोखरा–३३ सबै क्षेत्रमा आइतबार घरदैलो र चुनावीसभा हुने कांग्रेसका केन्द्रीय सदस्य एवं सो क्षेत्रका चुनावी कमाण्डर जीवन परियारले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width