रवीन्द्रको चाहना अनुसार नै विद्याले काजकिरिया नगरेकी हुन् –करण

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७६
bidhya photo

पोखरा, ७ मंसिर । नेकपा कास्कीका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका छन् । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै चाहना अनुसार विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका हुन् ।

संस्कृति मन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृतिपनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नु भएको थियो,‘उनले भने,‘उहाँ संस्कृति सरल र सहज होस् भन्ने चाहनुहुन्थ्यो, संस्कृतिको नाममा कसैलेपनि दुःख नपाओस् भन्ने उहाँको चाहना थियो, त्यही अनुसार उहाँले संस्कृति रुपान्तरण गर्ने प्रयास गरिरहनु भएको थियो । उहाँको चाहना अनुसारै विद्याले काजकिरिया गर्नु भएन, यसलाई अन्यथा लिनु भएन ।’ कांग्रेसले आफूले हार्ने देखेर विद्यालाई काजकिरिया गरेन भनेर अनर्गन प्रचार र भ्रम छरिरहेको उनले बताए । जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्छ,‘उनले थपे,‘संस्कृतिलाई सरल र सहज बनाउँदा अनर्गल प्रचार गर्ने कांग्रेस आफै संस्कृतिबिरुद्ध छ भन्ने पुष्टि गर्छ ।’

कास्की २ को उप निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेकी विद्या भट्टराई अधिकारीले महिलालाई सीप र प्रविधीसँग जोडेर समृद्धि खोज्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा भलामको पीपलडालीमा आयोजित कोणसभामा बोल्दै उनले देशको विकास र समृद्धिमा महिलाको भूमिका उत्तिकै हुने भएकाले उनीहरुलाई सीप र प्रविधीसँग जोड्नुपर्नेमा जोड दिएकी हुन् । महिलालाई सीप र प्रविधीसँग जोड्नका लागि म नेतृत्वदायी भूमिका खेल्छु,‘उनले भनिन्,‘महिला दिदीबहिनीहरुलाई सीप र प्रविधीसँग जोड्न अत्यन्त आवश्यक छ, त्यसबाट मात्रै देशको विकास र समृद्धि सम्भव छ ।’

नेकपा उम्मेदवार विद्याले कास्की २ मा आफूलाई जिताएर महिला नेतृत्व स्थापित गर्ने अवसर सदूपयोग गर्न आग्रह गरिन् । आज सरसर्ती हेर्दा विद्या उम्मेदवार भएजस्तो लाग्छ,‘उनले भनिन्,‘तर त्यसो होइन, बरु कांग्रेस, कम्युनिष्टदेखि नयाँ दललेसमेत विद्यालाई जिताएर महिला नेतृत्व स्थापित गर्ने यो सुवर्ण अवसर हो, यसलाई खेर फालियो भने महिला नेतृत्व स्थापित गर्ने अवसर गुम्छ, यसप्रति सबै दलका महिलाहरु सचेत हुन जरुरी छ ।’ उनले महिला जत्तिको ईमान्दार अरु कोही नहुने भन्दै आफूलाई जिताएर पोखरा र समग्र कास्कीको विकासले फड्को मार्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् ।

उम्मेदवार विद्याले राजनीतिलाई विकाससँग नजोडेसम्म विकास र समृद्धि असम्भव भएकाले त्यसलाई जोड्ने काम आफूले गर्ने बताइन् । उनले महिला र पिछडीएका वर्गहरुको सशक्तिकरणका लागि सरकारले अघि सारेका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयनका लागि आफूले सकृयताका साथ भूमिका खेल्ने प्रतिबद्धता जनाइन् । उनले भलाम–बेंसी–आँटीघर मौजा जोड्ने बाटो स्तरोन्नतिको काम शुरु भइसकेको बताउँदै यसलाई पूर्णता दिने काम गर्ने बताइन् ।कार्यक्रममा नेकपा पोखरा महानगर कमिटीका सचिव तथा नेकपाका पोखरा– २० का चुनावी कमाण्डर विश्वप्रकाश लामिछानेले विद्यालाई जिताएर विकास र समृद्धिको यात्रालाई निश्कर्षमा पुर्याउनुपर्ने बताए ।

भलामको नेकपा निर्वाचन सम्पर्क कार्यालय र्यालेचौरबाट शुरु भएको चुनावी घरदैलो घारी, डाँडाघर, थानापतिहुँदै पीपलडालीमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोअघि विद्याले स्थानीय थानापति मन्दिरमा पूजा अर्चनासमेत गरेकी थिइन् । सो अवसरमा उनले सबै धर्म र संस्कृतिलाई सँधै सम्मान गर्ने बताउँदै भलामको थानापति मन्दिर र शिव मन्दिरसहित अन्य सांस्कृतिक सम्पदा संरक्षणको लागि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width