विद्यार्थी ‘ड्रपआउट’ रोक्न अक्षयकोष

रासस
मंसिर ४, २०७६
dmc-980×360

बलेवा, ४ मंसिर । आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाटै बाहिरिने विद्यार्थीको सहयोगका लागि धौलागिरि बहुमुखी क्याम्पसमा ‘बाउवा सङ्घ–धबक्या शैक्षिक कोष’ स्थापना हुने भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले आगामी पुसमा सञ्चालन गर्ने ‘बागलुङ महोत्सव–२०७६’ को आम्दानीबाट उक्त कोष खडा गर्न लागिएको हो ।

क्याम्पसको प्राङ्गणमा हुने महोत्सवको आम्दानीले क्याम्पससँग सहकार्य गरेर कोष खडा गर्न लागिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । गरीब र जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले कोष खडा गर्न लागिएको क्याम्पस प्रमुख प्रा डा रामप्रसाद उपाध्यायले बताए ।

“हामीले मैदान उपलब्ध गराएबापत केही रकम दिने मनसाय प्रकट गरेका थियौँ”, राजभण्डारीले भने “क्याम्पस प्रशासनले आर्थिक क्षमता कमजोर भएका कारण पढाइ छोडेर हिँड्ने विद्यार्थीको सहयोगका लागि काम गरौँ भन्यो, सोहीअनुसार कोष खडा गर्न लागेका हौँ ।” यस पटक रु पाँच लाखको कोष स्थापना गर्ने र प्रत्येक महोत्सवमा यो कोषमा रकम बढाउँदै जाने सहमति दुवै पक्षबीच भएको छ ।

बागलुङमा उपयुक्त जग्गाको अभावका कारण प्रत्येक दुई वर्षको अन्तरमा हुँदै आएको महोत्सव धौलागिरि बहुमुखी क्याम्पसकै प्राङ्गणमा हुँदै आएको छ । यस वर्ष पुसको ११ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको छ । एक करोड ५१ लाख रुपैयाँ आम्दानी एक करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको सङ्घले बचत रकमबाट विभिन्न सामाजिक कार्य गर्ने उद्घोष गरेको छ । त्यस्तै यो वर्षको महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट चार रुपैयाँ मानवसेवा आश्रम बागलुङलाई उपलब्ध गराउने महासचिव नरेश कँडेलले बताए ।

“सडक मानवमुक्त बनाउने आश्रमको अभियानमा सानो भए पनि हामीले सहयोग गर्दैछौँ”, कँडेलले भने “यो हाम्रो सामाजिक उत्तरदायित्व हो ।” केही वर्ष पहिले बागलुङ नगरपालिकासँगको सहकार्यमा बागलुङ बजारमा सिसिक्यामेरा जडान गरेको सङ्घले पुराना क्यामेराको मर्मत र केही नयाँ क्यामेरा जडानको योजना पनि बनाएको छ । त्यसका लागि खर्चको प्रबन्ध पनि महोत्सवको आम्दानीबाट गरिने छ ।

पत्रकार महासङ्घ बागलुङसँग यसअघिकै महोत्सवमा सहकार्य गरेको सङ्घले यस वर्षको आम्दानीबाट ‘आर्थिक पत्रकारिता खोजमूलक पुरस्कार कोष’ स्थापना गर्ने घोषणा गरेको छ । “हामीले आर्थिक गतिविधिका विषयमा खोजमूलक सामग्री तयार गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने योजना बनाएका छौँ”, महासचिव कँडेल भन्नुहुन्छ, “पत्रकार महासङ्घसँग सहकार्य गरेर यो कोष सञ्चालनमा ल्याइने छ ।”

कोष सञ्चालनका लागि कार्यविधि बनाउने र हरेक महोत्सवमा कोषको रकम वृद्धि गर्दै जाने उनले बताए । सङ्घले धौलागिरि बहुमुखी क्याम्पसमा सौर्य ऊर्जाको जडान र व्यवसायीलाई वित्तीय साक्षरता तथा ‘हाम्रो बागलुङ, समृद्ध बागलुङ’ विषयक बहस कार्यक्रम गर्ने पनि योजना सार्वजनिक गरेको छ । दुई सय स्टल राखेर दुई दर्जन बढी प्रतियोगिता आयोजना हुने महोत्सवको तयारी तीव्र बनाइएको उपाध्यक्ष राजनकुमार शाक्यले बताए ।

पहिलेका महोत्सवमा भन्दा यस वर्ष केही प्रतियोगितात्मक कार्यक्रम र प्याराग्लाइडिङलगायतका आकर्षण थपिने छन् । आयोजकले कला संस्कृतिको संरक्षण र पर्यटनको प्रवद्र्धनमा महोत्सवले टेवा पुर्याउने बताएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को उद्घाटन पनि महोत्सवकै अवधिमा गरिने अध्यक्ष राजभण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width