सूर्योदयको दृष्यावलोकनका लागि चर्चित गन्तव्यको रुपमा परिचित कास्कीको सराङ्कोटमा एकपछि अर्को पर्यटकीय सम्पदा थपिन थालेपछि यस क्षेत्रमा पर्यटकको बसाइँ अवधि लम्बिने आशा बढेको छ।
पोखरा घुम्न आउने अधिकांश पर्यटक सराङ्कोट जान रुचाउँछन्। पोखरा महानगरपालिकाको लेकसाइडबाट साढे १३ किलोमिटर टाढा रहेको सराङ्कोट प्याराग्लाइडिङ उडानका लागि समेत चर्चित रहेको छ। दैनिक सयौं पर्यटकले यहाँबाट उडान भरी फेवा ताल किनारमा अवतरण हुने गरेका छन्। प्याराग्लाइडिङका कारण दिउँसोको समयमा सराङ्कोटको आकास नै रंगीचंगी देखिने गरेको छ। यसैगसरी, सराङ्कोटमा जीपफ्लायरको सुविधा पनि केही वर्षदेखि संचालनमा रहेको छ। हाइग्राउण्ड एड्भेञ्चर्स प्रालि नेपालले संचालन गरेको जीपफ्लायरमा नेपाली र विदेशी उत्तिकै रमाउने गरेका छन्। सराङ्कोटबाट शुरु हुने जिपफ्लायरको यात्रा तल हेमजामा पुगेर अन्त्य हुन्छ। एक हजार ८ सय ६० मिटर लामो तार यात्रा ९५ सेकेण्डमा पूरा हुने गरेको छ।
यतिमात्र नभई पोखराको सेदीबाट सराङ्कोटसम्म केवलकार समेत संचालन गर्ने तयारीस्वरुप निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अन्नपूर्ण केवलकारको निर्माण सम्पन्न भएपछि पर्यटक र स्थानीयलाई सराङ्कोट पुग्न निकै सहज हुने छ। अहिले मोटरबाट सराङ्कोट पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। पोखरा महानगरपालिकाकै पहलमा सराङ्कोट क्षेत्रमा शहीद पार्क समेत स्थापना भइसकेको छ। त्यहाँ घुम्न पुग्ने पर्यटकको संख्या समेत पछिल्ला महिनामा बढ्न पुगेको छ।
तर सराङ्कोटका सार्वजनिक जग्गाहरु अतिक्रमणमा पर्न थालेको भन्दै पोखरा महानगरपालिका वडा १८ का वडाध्यक्ष रणबहादुर थापाले त्यस्तो प्रवृत्तिविरुद्ध जुद्धै ती स्थलहरु पर्यटनको विकासका लागि प्रयोग गर्ने सोच वडाको रहेको बताए। सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार सराङ्कोट क्षेत्रमा पर्यटनको विकासका लागि वडाले महानगरसँग मिलेर सहकार्य गरिरहेको र थप योजनाहरु संचालन गर्ने तयारी भएको उनले सुनाए।
धेरै पर्यटकले मन पराएको गन्तव्य भए पनि सराङ्कोटमा रात बिताउने पर्यटकको संख्या भने अहिले निकै कम हुने गरेको छ। यस्तो प्रवृत्ति अन्त्य गर्न सराङ्कोटमा थपिएका पर्यटकीय सम्पदाले सघाउ पुग्ने विश्वास अध्यक्ष थापाको रहेको छ। सराङ्कोट पुग्ने पर्यटकको तथ्यांक राख्ने नगरिएको भन्दै उनले सो स्थलमा बसाइँ अवधि बढाउन के गर्न सकिन्छ भन्ने विषयमा वडाले सक्दो पहल गर्ने बताए।
सराङ्कोटमा पहिला निकै कम मात्र होटल तथा लजहरु रहेकोमा अहिले सुविधासम्पन्न होटलहरुको संख्या समेत बढेका कारण पर्यटकलाई रात बिताउन कुनै अफ्ठ्यारो नहुने व्यवसायीहरु बताउँछन्। सराङ्कोट माउण्टेन लज, हिमालय फ्रन्ट होटल, होटल अन्नपूर्ण भ्यू लगायत दर्जन बढी होटल अहिले सराङ्कोटमा संचालनमा रहेका छन्। एकपछि अर्को गरी होटलह थपिने क्रम बढेसँगै पर्यटकको बसाइँ अवधि पनि बढ्ने विश्वास व्यक्त गरिएको छ। बाराही ग्रुपका सिष्टम एण्ड डेभलपमेण्ट म्यानेजर प्रदीप न्यौपाने पर्यटकलाई रात बिताउन आवश्यक होटलहरु थपिएसँगै पर्यटकको बसाइँ अवधि पनि सराङ्कोटमा बढ्ने बताए। पहिला होटलहरु पनि कम थिए, बस्न पनि समस्या थियो, अब त्यो समस्या यहाँ छैन, उनले भने।
समुद्र सतहबाट १ हजार ६ सय मिटर उचाईमा रहेको सराङ्कोटबाट लामो हिमाली श्रृंखला, फेवा ताल, पोखरा बजार र सेती नदी लगायतको सुन्दर दृष्य समेत अवलोकन गर्न सकिन्छ। डाँडाको चुचुरोमा रहेको भ्यू टावर र मन्दिर समेत यहाँका आकर्षण हुन्। पोखराको लेकसाइडबाट झण्डै २ घण्टा पैदलयात्रा गरेर समेत सराङ्कोट पुग्न सकिन्छ। पुरानो हाइकिङ रुटले लेकसाइड र सराङ्कोटलाई जोडेको छ।
विगतमा पदयात्रीहरु यही रुट वा विन्ध्यवासिनी मन्दिर नजिकबाट सराङ्कोट हुँदै नाउँडाँडा निस्केर चर्चित अन्नपूर्ण पदयात्रामा समेत सरिक हुने गर्थे। सराङ्कोट नजिकै कास्कीकोटमा शाहवंशकालीन कास्कीकोट दरबार र त्यसको फेदीमा कश्यप ताल समेत रहेको छ। यी सम्पदाले समेत पर्यटकको मन जित्ने गरेका छन् । हरियाली डाँडाहरु, चिसो हावा र चरा अवलोकनका लागि समेत सराङ्कोट निकै आकर्षण हिल स्टेसन मानिन्छ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा
सांग्रिला होटल संस्थापक पाण्डेको निधन
कोरोनाले फेरिएको ढिकीडाँडा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
hero news full width
मुख्य समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१