होचो हिमताल कफुचेप्रति नेपालीको आकर्षण बढ्दो

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
Ice Lake_Fotor

कास्कीको मादी गाउँपालिका– १ मा रहेको कफुचे हिमताल। तस्वीर : आदर्श समाज।

संसारकै होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको उत्तरपूर्वी भागमा अवस्थित कफुचे हिमताल आन्तरिक पर्यटक माझ पछिल्ला वर्षहरुमा आकर्षणको गन्तव्य बन्न थालेको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले २०७४ को पुस महिनामा ताल पुग्ने पदयात्रा मार्ग औपचारिक रुपमा प्रवद्र्धन गरेपछि यस क्षेत्रले लोकप्रियता पाउन थालेको हो।

ताल प्रचारमा आउन थालेपछि कफूचे जान चाहने नेपालीको संख्या ह्वात्तै बढेको सिक्लेस स्थित नमस्ते गेष्ट हाउसका संचालक धन गुरुङ (माइला) ले जानकारी दिए। सञ्चार माध्यममा समाचार तथा तस्वीर र युट्युवमा कफुचे सम्बन्धी भिडियो पोष्ट हुन थालेपछि त्यस्तो आगमन झनै बढेको उनको अनुभव छ। तर ताल पुग्ने पर्यटकको तथ्यांक भने राख्ने गरिएको छैन। कफुचे पुग्ने पदयात्रा मार्ग भने उति सहज नभएको स्थानीयले बताए। टान, एक्यापलगायत पर्यटन सम्बद्ध सरकारी तथा गैरसरकारी संस्थाले बाटो सुधार गर्न पहल गर्नुपर्ने सुझाव उनको छ। ताल समु सतहबाट दुई हजार चार सय ५० मिटरको उचाइमा अवस्थित छ। हिमतालले पर्यटनको अथाह संभावना बोकेका कारण तत्कालिन समयमा ताल र सो मार्गको प्रबद्र्धन गरिएको टानका निवर्तमान अध्यक्ष दीपकराज अधिकारी बताउँछन्। अधिकारी टानमा अध्यक्षको जिम्मेवारीमा हुँदा यो मार्गको प्रवद्र्धन गरिएको हो।

पोखरा महानगरपालिकाको दीपबाट पदयात्रा सुरु गरी अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै एक हप्ताको यात्रापछि कफुचे पुग्न सकिन्छ। तर लामो पदयात्राका लागि कम समय हुनेहरु मोटरबाटोबाट सीधै सिक्लेस पुगी पदयात्रा सुरु गर्ने गरेका छन्। सिक्लेसबाट सात घण्टामा हुगु गोठ र त्यसपछि एक घण्टामा ताल पुग्न सकिन्छ।

पदमार्गमा पर्ने गाउँ, पानीका स्रोत, झरना, भन्ज्याङलगायतलाई समेटेर टानले एक नक्सासमेत तयार पारिसकेको छ। पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ। गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृंखलाको दृश्य, कोटहरू, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो। टान पश्चिमाञ्चल संघ पोखराले रजत महोत्सवको अवसरमा एक्याप र मादी गाउँपालिकाको सहयोग तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सो पदमार्ग खोज कार्य गरेको हो। क्याम्पिङ र होमस्टेमा आधारित यो पद मार्गलाई १० दिनमा विस्तार गरी कास्कीको मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको व्यवसायीले बताएका छन्।

कतिपय गाउँलेले भर्जिन आइस लेक नाम दिएको कफुचे हिमतालमा पछिल्ला वर्षहरूमा विदेशी पर्यटकसमेत केही मात्रामा पुग्ने गरेका छन्। कास्कीको थाकबाट तारा हिल खण्ड र सिक्लेसबाट कफुचे ताल खण्डको बाटो मर्मत सम्भारको आवश्यकतासमेत स्थानीयले औंल्याएका छन्।

गुरुङ लवजमा क्हफुचे समेत भनिने यो तालको नामाकरणमा ‘क्ह’ भनेको हिउँ, ‘फू’ भनेको झर्नु र ‘चे’ भनेको समतल मिलेर बसेको भन्ने अर्थ लाग्ने थाक गाउँका व्यवसायी विकास गुरुङले बताए। यो ताल मादी नदीको प्रमुख जलाधारको रुपमा समेत रहेको छ। चालू पदमार्ग सडकमार्गको चपेटामा पर्दै जान थालेपछि वैकल्पिक मार्गका रुपमा कफुचे मार्ग विकास गरिएको तत्कालिन पदमार्ग खोजी दलका सदस्य रामचन्द्र अधिकारीको भनाइ छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width