न्याय सम्पादनका लागि वडावडामा संयोजक चयन

रासस
कार्तिक १८, २०७६
interior-design-office-space-studio-course1-866×487

वालिङ, १८ कात्तिक । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडावडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ ।

न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं नमूनायोग्य कार्य गर्दै आएको न्यायिक समितिले न्याय सम्पादनमा अझ सहजता ल्याउनका लागि प्रत्येक वडामा संयोजक तोकिएको नगर उपप्रमुख एंव न्यायिक समिति संयोजक कल्पना तिवारीले बताइन् । नगरपालिकाका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी न्याय सम्पादन प्रक्रियालाई सहज बनाउने मुख्य उद्देश्य रहेको संयोजक तिवारीले बताए ।

“नगरपालिकाका १४ वटै वडाबाट छ÷छ जना छनोट गरी ८४ मेलमिलापकर्तालाई आधारभूत तालिम दिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले भन्नुभयो, “तालिममा सहभागी भएकामध्ये प्रत्येक वडाका छ जनामध्येबाट एकजनालाई छ महिनाको अवधि रहने गरी आलोपालोमा संयोजक चयन गरेका हौँ ।”
“न्यायिक समितिले मेलमिलापकर्तालाई सूचीकृत हुन सूचना जारी गरेको छ”, कानून शाखा प्रमुख नरबहादुर पौडेलले भने “४८ घण्टे आधारभूत तालीममा सहभागी भएका मेलमिलापकर्ताले नगरपालिकाको न्यायिक समितिमा सूचीकृत भएपछि मात्रै मुद्दा मिलाउने जिम्मेवारी प्रदान गरिन्छ ।”

वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचीकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्न सक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफैँ सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताए । मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था गरिएको छ ।

“मेलमिलाप गराउन पाइने मुद्दा सबै अब वडामा स्थापना भएको मेलमिलाप केन्द्रबाट निरुपण हुन्छन”, कानून शाखा प्रमुख पौडेलले भने “आफ्नै वडामै मुद्दा मिलाउन पाइने वातावरण बनेपछि वादी प्रतिवादीलाई सहजता भएको छ भने वडामा मुद्दाको निरुपण नभएमा न्यायिक समितिमा आउने व्यवस्था रहेको छ ।”
प्रत्येक वडाबाट पहिलो चरणमा संयोजक हुनेमा वडा नं १ मा तुलसीराम ढुङ्गाना, २ मा किशोरप्रसाद रेग्मी, ३ मा जमबहादुर गुरुङ, ४ मा लोकनाथ खनाल, ५ मा हुमनाथ लामिछाने, ६ मा माया पाण्डे, ७ मा होमनाथ रेग्मी, ८ मा हुमनाथ अर्याल, ९ मा उमाकुमारी पौडेल क्षेत्री, १० मा चूडामणि सुवेदी, ११ मा नरेन्द्रप्रसाद पराजुली, १२ मा कमल कुँवर, १३ मा यज्ञप्रसाद पाठक र १४ मा टीकाराम लुइँटेल रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width