धर्म चौतारीमा विधर्मीको राज’

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७६
dharmasava

एक कार्यक्रमका वक्ताले धर्म चौतारीमा विधर्मीको राज भएकाले देशमा अराजकता बढेकोमा चिन्ता व्यक्त गरे ।

पोखरामा बुधवार आयोजित राष्ट्रिय धर्म सभा नेपालको सम्मान तथा आजीवन सदस्यता वितरण समारोहका वक्ताले सो चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रमका अधिकांश वक्ताले हरेक नागरिकले आफ्नो कर्म बुझेर धर्म नछोड्ने हो भने सुशासनको पाठ कसैलाई पढाउनु नपर्ने धारणा राखे ।

उनीहरुले पछिल्लो समय धर्म, संस्कार र संस्कृतिका कुरा आउने बित्तिकै हिन्दू धर्मसँग जोडेर अनेक वहानाबाजी हुनु हरेक सचेत नागरिकले आफ्नो जिम्मेवारी र दायित्व बहन नगर्दा समस्या उत्पन्न भएको बताए । वक्ताले पछिल्लो समय १३ दिन हुनैपर्ने कर्मकाण्ड पाँच सात दिनमा हुनु, दसैं बहिस्कारका कुरा उठनु, गाई राष्ट्रिय जनावर होइन काटेर खान पाउनुपर्छ भन्नु, दीपावलीको टीकाको साइतमा विवाद निकाल्नु जस्ता गतिविधि सनातनमाथिको आक्रमण मात्रै नभएर राष्ट्रियतामाथिको प्रहार भएको राज्यले बुझ्न आवश्यक रहेको धारणा राखे ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय धर्म सभाका संस्थापक केन्द्रीय अध्यक्ष वडानायव गुरु प्राडा माधव भट्टराईले धर्मसभा स्थापना, काजक्रिया र विवाह सन्दर्भका धारणा राखेका थिए ।काजक्रिया तथा विवाह सन्दर्भलाई सम्बोधन गर्दै उनले पाँच सात दिनमा किरिया कर्म हुनु, दसैं र चौमासमा विवाह हुनु पछाडि पण्डित र ज्योतिषीको दोष रहेको बताए ।

दुई चार पैसाका लोभमा नहुने कर्मलाई ‘हुन त हुँदैन, गर्दा पनि फरक पर्दैन’ भन्ने पण्डित र ज्योतिषीबाटै संस्कार बिग्रेका छन् भने । त्यस्ता व्यक्ति फटाहा र धर्मका नाशक भएकाले हरेक व्यक्ति आफू असल बन्न र अर्कासँग निहुँ नखोज्न आग्रह गर्दै उनले भने ‘दसैं, चौमासमा संस्कार विवाह हुँदैन, ल अप्ठ्यारो परेछ गर्नैपर्ने भए अदालती विवाह गरौं, त्यो घरभित्रको स्वतन्त्रता हो, हिजो भगवान् कृष्णले राक्षस विधिबाट विवाह गरेका थिए ।’ केही जिल्लामा अझै पनि विवाहका लागि केटी मागेर ल्याउने फकाउँदा नमाने दुई चार दिनपछि फर्केर जान पाउने परम्परा अझै छ । हामीमा त्यो भावको विकास कहिले हुने ? प्रश्न गरे ।

धर्म सभा स्थापनाको सन्दर्भमा भट्टराईले भने, ‘हिजो पञ्चाङ्ग समितिको अध्यक्ष हुँदा सरकारले ११ महिनाको वर्ष बनाउनू भन्यो । समितिमा सबै असल मात्रै आउँदैनन् भोलि धर्मको जागरण र निर्णय परम्परालाई संरक्षणको सट्टा विधर्मी काम गर्छन् कि भनेर धर्म सभा गठन गरेको हुँ ।’

धर्म सभाका शाखाको आर्थिक व्यवस्थापनका लागि महायज्ञ लगाउन आग्रह गर्दै धर्म सभालाई सनातन धर्मको ठेकेदारका रूपमा हेर्ने नियत खराब भएकोमा चिन्ता व्यक्त गर्दै धर्म सभामा त्यो खालको विभेद नभएको बताए । उनले असल खराब सबैसँग समन्वय गरे मात्र अगाडि बढ्न सहज हुने भन्दै ‘विभिन्न धर्मका अनुयायीले आफ्नै प्रकृतिको बस्त्र लगाउछन्, मैले दौरासुरुवाल, कोट पाइन्ट तर हामीमा भेदभाव छैन त्यसैले साझा समस्यामा एक हुन आवश्यक छ ।’

नागेश्वरमणि आश्रम आर्वा १३ का पिठाधीश स्वामी शिवराम गिरीले सानैमा नेपाल हिन्दू राज्य भनेको सुन्दा विश्वमा नेपाल हिन्दू राष्ट्र रहेछ भनेर छुट्टै आनन्द आएको स्मरण गर्दै ठूलो भएपछि नेपाल आउँदा यहाँको अवस्था देख्दा दुःख लागेको बताए । उनले हिन्दू राष्ट्रमात्रै होइन, नेपालका नेपालीमा राष्ट्रिया नै नरहेकाले हिन्दू राष्ट्र, समाज, संस्कृतिको गौरवपूर्ण इतिहास ओझेलमा परेको धारणा व्यक्त गरे । स्वामी गिरीले हाम्रा हिजोका ग्रन्थका नियम पालन नगर्दा धर्म संकटमा परेको बताउँदै जसले जे जस्ता कर्म गरे तापनि सबै परमात्माको अंश भएकोमा जोड दिँए । स्वामीले भने, ‘पहिलो कुरो राष्ट्रियता संरक्षण आवश्यक छ । त्यो भए सबैको रक्षा हुन्छ ।’

गोरखनाथ बाबा स्वामी बलभद्र पौडेलले बाउभन्दा छोरो जान्ने भएकाले देशमा एक अर्का फुट अनि राज गर संस्कार मौलाएको विचार व्यक्त गरे । अतिथि पौडेलले, ओमकार परिवारको हिजोको गौरव जोगाउन आवश्यक छ भने । देशको समसामयिक परिवेशबारे बोल्दै उनले देश बिग्रेको मात्रै होइन, पछिल्लो समय आएको गणतन्त्र गनाएको तन्त्र जस्तो भएकाले परिस्थिति असहज भएको छ भने । वेदको तत्वज्ञान नजान्दा भेद भएको बताउँदै उनले गोलीले त भौतिक शरीर मात्र ढल्ने हो, मृत्यु हुँदैन तर, शिक्षा र संस्कार बिगारे सबै बिग्रने भएकाले हिजोको संस्कारलाई बिर्सनु र बिगार्नु हुँदैन भने ।

स्वामीले थपे, ‘भेषभूषा, भाषा र संस्कृति मासिए सबै मासिन्छ, आफ्ना कुकर्मको प्रायश्चित गरे सबै सुकर्म हुन्छन् । हिन्दू धर्म नभएर सनातन भएकाले जे जहाँ बसेपछि सबै हिन्दू हुन् ।’गुप्तेश्वर गुफा धार्मिक क्षेत्र विकास समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले धर्म सभाको प्रमाणपत्र लिने र सच्चाइमा जाने द्वैधचरित्रले धेरै कुरा संकटमा परेकाले हरेक व्यक्तिमा आत्मानुशासन हुन आवश्यक छ भने । साथै उनले विगतमा प्रायः घरका भित्तामा ‘अतिथि देवो भवः’ लेखिएका आदर्शवाणी हुने गरेकोमा हिजोआज ‘कुकुरदेखि सावधान’ लेखिएका ठूला–ठूला बोर्ड झुण्डाइएका पाइने र गौमाताले चाटे घाउ ठिक हुने संस्कारमा हुर्केका हामी पैसाको लालसमा लागेर नेताले धर्म छाडेकाले संस्कृति नष्ट भएको भन्दै दुःख व्यक्त गरे ।

ज्योतिष पत्रकार डा बलराम उपाध्याय रेग्मीले गण्डकी प्रदेश सबै हिसाबले सम्पन्न भएकाले धर्म सभाले धर्म, ज्योतिष, अनुवाद, संस्कृतिलगायतका विभाग गठन गर्न गरी धर्म र संस्कृतिको संरक्षणमा अगाडि बढ्न आवश्यक रहेको बताए ।समाजसेवी हेरम्बप्रसाद कोइरालाले हरेक व्यक्तिले आफ्नो जन्मभूमि र कर्म भूमि देवभूमि भएकाले त्यसको मर्म बुझेर एकतामा बल हुन्छ भनी आफ्नो कर्तव्यमा लागे सबै कुरा सकारात्मक मार्गमा हिँड्नेमा जोड दिए ।

गायत्री पण्डित उपाधिबाट विभूषित ठाकुरप्रसाद बरालले गायत्री मन्त्र के हो हामीले त्यो राम्ररी बुझ्न आवश्यक रहेको धारणा राखेका थिए । यस्तै, महाकाव्यकार र स्वर्ण पदकसहित महाकविरत्न उपाधिबाट विभूषित व्यक्तित्व रामनाथ अधिकारी संगीले वैदिक ज्योतिष र धर्म सभा दुवै संस्थाप्रति आभार व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष केशवराज भण्डारीले पछिल्लो समय सनातन धर्ममाथि सबैपक्षबाट आक्रमण भइरहेकोमा चिन्ता व्यक्त गरे । सत्तामा बसेका नै सनातनको विरुद्धमा लागेकाले कहिले होली वाइन र कहिले सच्चाइका नाममा प्रहार भइरहेको बताउँदै भने, ‘पछिल्लो समय टोलटोलमा खोलिएका सच्चाई क्रिश्चियन धर्म प्रचारका नर्सरी विद्यालय हुन् ।’अध्यक्षको आसनबाट बोल्दै राष्ट्रिय धर्म सभा कास्कीका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद चापागाईले असल कर्म नै धर्म भएकाले धर्ममा विखण्डन ल्याउन नदिन सचेतना आवश्यक रहेकोमा जोड दिए ।
असफल गौतम

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width