सौराहामा रात्रिकालीन जिप सफारी

रासस
कार्तिक २, २०७६
Guide+Training+2
  • सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी
  • सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी
  • भ्रमण वर्ष २०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज 

भरतपुर, २ कात्तिक । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उनले बताए । “सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ”, उनले भने “पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ ।” उहाँले छिट्टै सांसद, जनप्रतिनिधि, निकुञ्ज, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जीप सफारीको अन्तिम निर्णय लिइने बताए ।

सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ । राप्ती नदीको किनारमा करीब चार घण्टाको जीप सफारी गर्न सकिने भट्टराईले बताए । सौराहादेखि लोथरसम्म करीब ३० किलोमिटरको दूरी पर्छ । “पर्यटन भ्रमण वर्ष २०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेका हौँ”, उनले भने “यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले रात्रिकालीन जीप सफारीले मध्यवर्ती सामुदायिक वनको आयआर्जन वृद्धि हुने बताए । “आम्दानीको ६० प्रतिशत वनकै संरक्षणमा खर्च गर्ने गरेका छौँ”, उनले भने “रात्रिकालीन जीप सफारीसँगै संरक्षणका थप कार्यक्रमसमेत ल्याउने तयारी गरेका छौँ ।” जङ्गल सफारीका लागि आउने पर्यटकका लागि यो रात्रिकालीन सफारी नयाँ प्रयोग हुने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले राज्यले घोषणा गरेको महाअभियान पर्यटन वर्षका लागि चितवन राष्ट्रिय निकुन्जको साथ रहने बताए। उनले भने “हामी निकुञ्जको ऐन नियमको परिधिमा छौँ, त्यसका आधारमा मात्र विभिन्न गतिविधि गर्न सक्छौँ, संरक्षणसँगै पर्यटनका गतिविधि हुन्छ ।” उहाँले निकुञ्जमा जीप सफारी र अन्य गतिविधि गर्दा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने बताए ।

“निकुञ्जमा पर्यटक घुमाउन प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टीकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ”, उनले भने । निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय निकुञ्जभित्र प्रवेश गर्ने सवारीसाधनमा निकुञ्जले ट्राकिङ डिभाइस जडान गरेको उहाँले जानकारी दिए । उनले डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी निकुञ्जको कार्यालयमै बसेर हेर्न सकिने बताए ।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक सौराहा आउने गरेका छन् । साना तथा ठूला १५० होटल र ८० रेष्टुराँ रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width