बन्दीपुरमा पर्यटक चहलपहल

कृष्ण न्यौपाने
असाेज २८, २०७६
bandipur-456_Fotor

फाइल फाेटाे

मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ। चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो।

असोजदेखि मंसिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिए। भदौसम्म विदेशी पर्यटक नआउने बन्दीपुरमा असोज मध्यदेखि भने दैनिक तीन÷चार सय पर्यटकको आगमन भइरहेको गुरुङले बताए। “भदौसम्म स्वदेशी पर्यटकको मात्रै चहलपहल हुन्छ, असोजदेखि भने विदेशी पर्यटक राम्रै सङ्ख्यामा बन्दीपुर आउँछन्”, गुरुङले भने।

गुरुङका अनुसार चाडपर्वका कारण घुम्ने संस्कृतिको विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय रहेको छ। “दशैँ, तिहारलगायत सार्वजनिक बिदाका कारण बन्दीपुरमा यतिबेला दैनिक ५ सयभन्दा बढी स्वदेशी पर्यटक आइरहेका छन्, ” गुरुङले भने। बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन्। बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थीहरू आउने गरेका छन्। बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ। ती सबै होटलमा एकै पटक १ हजार ३ सयदेखि १ हजार ४ सय जना पर्यटकले रात बिताउन सक्नेछन्। बन्दीपुरका होटलमा करीब १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन्।

घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ। यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन्।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ।

सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँले जानकारी दिए। यहाँ रहेका परम्परागत घरका कारण पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर यहाँको मुख्य आकर्षणका रूपमा रहेको थापाको भनाइ छ। १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए। बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ। बन्दीपुर बजारमा भएका पुरानो घरहरूको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ।

थापाले भने, “बन्दीपुरको प्राचीन कला तथा संस्कृति झल्किने घरको कारणले नै आज बन्दीपुर विश्वभर प्रख्यात भएको छ, बन्दीपुरको मौलिकता जोगाउन आधुनिक घर निर्माणमा रोक लगाएका छौँ। ” गत वर्ष १ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए। बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका विदेशी पर्यटक बढी आउने गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width