ढिकुरपोखरीमा दसैं मेला शुरु

श्रीभद्र पौडेल
असाेज १५, २०७६
dhikurpokhari football photo (1)_Fotor

प्रथम दसैं मेलाअन्तर्गत बल हस्तान्तरण गरी फुटबल प्रतियोगिता उद्घाटन गर्दै एसपी दानबहादुर कार्की। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज

अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा मंगलवारदेखि प्रथम दसैं मेला शुरु भएको छ। मेलाको प्रमुख आकर्षण खुला सेभेन ए साइड फुटबल प्रतियोगितासमेत शुरु भयो।

मंगलवार आयोजक ढिकुरपोखरी ‘सि’ तथा गुरुङ मोबाइल लुम्लेबीच भएको उद्घाटन खेल २–१ अन्तरले आयोजक समूहले जितेको छ। आयोजकको जितका लागि रविन नेपाली र विनोद परियारले समान १ गोल गरेका थिए। त्यस्तै गुरुङ मोवाइलका अमृतले सान्त्वना गोल फर्काए।

त्यस्तै म्याग्दीचोक र एन्वाईसी लेखनाथबीच भएको दोस्रो खेल टाइब्रेकरमा ५–४ को गोलअन्तरले म्याग्दीचोकले जितेको छ।

रहेले युवा क्लब र न्यू दीपशिखाबीच तेस्रो खेल ३–० अन्तरले दीपशिखाले आफ्नो पक्षमा पार्न सफल भयो। उसको जितमा प्रवेश कुँवर, सागर कुँवर र नीरज नेपालीले गोल गरे।

यस्तै, डब्लुआरसी तथा एपेक्स काँडेबीच चौँथो खेल भयो। जितमा अमृत नेपालीले गरेको १ गोल नै जितका लागि पर्याप्त बन्यो।

त्यस्तै आयोजकको ‘बी’ समूह र माछापुच्छ्रेबीच अन्तिम खेल २–० अन्तरले आयोजकले जितेको छ। जितमा मुन्ना भण्डारी र लक्ष्मण केसीले गोल गरे।

मेला उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख एस्पी दानबहादुर कार्कीले खेलकुद माध्ययमबाट स्वास्थ रहन सहयोग पुग्ने बताए। उनले खेलाडीको बिमा गर्नुपर्नेमा जोड दिँदै मेलालाई निरन्तरता दिनुपर्ने खाँचो पनि औँल्याए।

अन्नपूर्ण २ का वडाध्यक्ष चूडामणि अधिकारीले भर्खरै स्थापना भएको क्लबले रचनात्मक काम गरेको उल्लेख गर्दै मेलालाई सभ्यरुपमा सम्पन्न गर्नुपर्ने बताए।

ढिकुरपोखरी युवा संजाल अध्यक्ष सुशील भट्टचनले खेलमा अनुशासनको महत्व अधिक रहने जनाउँदै नयाँ खेलाडी उत्पादनमा सेभेन ए साइड फुटबलको भूमिका अहम् रहने चर्चा गरे।

माछापुच्छ्रे मावि सहायक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले स्वास्थ्य जनशक्ति उत्पादनमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको जनाए।

असोज १८ सम्म जारी रहने मेलाअन्तर्गत रक्तदान, ठेलो हान्ने, रस्साकस्सी प्रतियोगिता हुनेछ।

त्यस्तै राष्ट्रिय साथै स्थानीय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने क्लब सचिव रमेशराज भण्डारीले बताएका छन्। फुटबलतर्फ प्रथमले ८१ हजार, द्वितीयले ४१ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्। त्यस्तै सर्वाधिक गोलकर्ता, सवोर्त्कृष्ट खेलाडी, अनुशासित टीम, उदियमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलाई पुरस्कार व्यवस्था गरिएको क्लबले जनाएको छ।

मेला संयोजक मोहन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खेल संयोजक सन्दीप भण्डारीले स्वागत र क्लब सचिव रमेशराज भण्डारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width