विश्वकप छनोटको लागि नेपाली टोलीको घोषणा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
Nepali National FootBall Team_Fotor

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ को कतार विश्वकप छनोट अन्तर्गत अस्ट्रेलियासँगको खेलका लागि २३ सदस्यीय खेलाडीसहित नेपाली टोलीको मंगलबार घोषणा गरेएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले टोलीमा दुई जना खेलाडी परिवर्तन गरेका छन्। कालिनले यसअघि चाइनेज ताइपेइविरुद्धको खेल गुमाएका अजित भण्डारी र नवयुग श्रेष्ठलाई टोलीमा समावेश गरेका छन्। चोटका कारण यसअघि अजित र नवयुग टोलीमा परेका थिएनन्। रवि सिलवाल र विमल राना फेरि टिमबाट बाहिरिएका छन्।

यस पटक प्रशिक्षक कालिनले नेपाली टोलीको कप्तानमा किरण चेम्जोङलाई नै छनोट गरेका छन्। किरण नेपाली टोलीका लागि पहिलो गोलकीपर समेत हुन्। त्यसपछि विकेश कुथु र विशाल श्रेष्ठ समेत गोलकीपरको भुमिकामा रहनेछन्।

टोलीको डिफेण्डरहरुमा सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छनोटमा परेका छन्। त्यसैगरी, मिडफिल्डरहरुमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन्। स्ट्राइकरहरुमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठलाई छनोट गरिएको छ।

विश्वकप खेलिसकेको अस्ट्रेलियालाई नेपालले बलियो प्रतिद्वन्द्वीका रुपमा हेरेको छ। नेपालले अस्ट्रेलियासँग असोजको २३ गते खेल्दैछ। खेल क्यानबेरामा असोज २३ गते (१० अक्टोबर) नेपाली समयअनुसार दिउँसो सवा २ बजे (अस्ट्रेलियाको समयअनुसार राति साढे ७ बजे) हुनेछ। फिफा वरीयतामा ११७ स्थान माथि रहेको अस्ट्रेलियाविरुद्ध खेल्नु नेपालका लागि कठिन चुनौती हुनेछ। फिफा वरीयतामा नेपाल १६१ र अस्ट्रेलिया ४४ स्थानमा छन्।

त्यसपछि नेपालले असोजको २८ गते जोर्डनसँग अवे खेल खेल्नेछ। जोर्डनसँगको खेलपनि यही टोलीले खेल्नेछ। नेपाली टोली अस्ट्रेलियाबाट सिधै जोर्डन जाने बताइएको छ। छनोट खेलअघि अस्ट्रेलियामा नेपाली टोलीले प्रशिक्षण र अभ्यास खेल समेत खेल्ने एन्फाले उल्लेख गरेको छ।

नेपाली टोली बुधबार अस्ट्रेलियातर्फ प्रस्थान गर्नेछ। अस्ट्रेलियामा नेपाली टोलीको प्रशिक्षण र अभ्यास खेलको व्यवस्थापन अस्ट्रेलिया नेपाल फुटबल संघले गर्ने जनाइएको छ।

एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० गोलको लज्जास्पद हार खेपेको थियो। दोस्रो खेलमा नेपालले ताइपेइमाथि उसकै मैदानमा २–० गोलको जित निकालेको थियो।

सन् २०१९ सेप्टेम्बर ५ देखि सुरु भएको दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ तारिखसम्म सञ्चालन हुनेछ। नेपालले अस्ट्रेलिया र जोर्डन पछिका चार खेल भने घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ। नेपालले कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा खेल्नेछ।

यसैगरी, नेपालले चाइनिज ताइपेइसँग सन् २०२० को मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ तारिखमा दशरथ रंगशालामा खेल्नेछ। नेपालले अस्ट्रेलियासँग दोस्रो खेल सन् २०२० को मार्च ३१ मा खेल्नेछ। छनोट खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच टोली छन्।

होम एन्ड अवेका आधारमा खेलिने खेलमा दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका समेत पाउनेछन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width