कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

रासस
असाेज ४, २०७६
Kaligandaki-corridor

पर्वत, ४ असोज । निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ ।

सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । ठेकेदारको लापर्वाहीका कारण काम सम्पन्न हुन नसकेको पाइएको छ । नौ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँको ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिवानासहित म्याद थप गरिएको हो । प्रतिदिन रु ४५ हजार ९०० का दरले जरिवाना लगाएर म्याद थप गरेको चार महीना बितिसके पनि अझै काम पुनः सञ्चालन नगरेको कार्यालयले जनाएको छ ।

उक्त खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले ट्र्याक खोल्ने ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै छ करोड भुक्तानी लगिसकेको छ भने तीन करोड १७ लाख भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ ।
पटक पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुुवेदीले जानकारी दिए । उनका अनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि बेवास्ता गरेको हो । उनले अझै पनि आफूले पहल गरिरहेको बताउँदै अब पनि शुरु नगरे कानूनबमोजिम कारवाही गरिने बताए । उनले भने “हामीले निरन्तर सूर्य कन्ट्रसनका सञ्चालक सूर्यबहादुर खड्कालाई सम्पर्क गरेर काम नियमित गर्न दबाब दिइरहेका छौँ, तर अहिलेसम्म शुरु गरेको छैन ।” अब अन्तिम पटक चेतावनी दिइने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्द गरिने उनले बताए । साउन, भदौ, असोजभित्र काम गर्छु भनेर लिखित प्रतिबद्धता जनाएपनि अहिलेसम्म शुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाइ छ ।

यता सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौँ भन्दै उनले अब केही पहरा कटान गरेर ट्र्याक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महीनाभित्र सम्पन्न हुने दाबी गरे । हाम्रा निर्माण उपकरण साइटमै रहेको उनको भनाइ थियो । उनले भने “अहिले बर्खा लागेर काम भएको छैन आगामी पुस १५ भित्र काम सक्छौँ ।” राष्ट्रिय गौरवको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ठेकेदारले तीन महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।

उता कालीगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले ठेकेदारले काम गर्छु गर्छु भनेको तर अझै बेवास्ता गरेकाले पत्रिकामा सूचनानै जारी गरेर कारवाहीको प्रक्रिया अघि बढाउन लागेको बताएको छ । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रुपमा हेरिँदै आइएको छ ।

पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेबाससम्म स्तरोन्नतिको काम ७० प्रतिशत पूरा भएको छ । करिडोरको पर्वतखण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भइरहेको छ ।

यसैबीच अलपत्र अवस्थामा रहेको उक्त सडकका कारण मोदीवेणी घाटमा शव दाहसंस्कारका लागि जाने मलामी समस्यामा परेका छन । सडकले पुरानो पैदल बाटो पुरिदिएका कारण जोखिम मोलेर घाटमा जानुपर्ने अवस्था रहेको छ । उक्त घाटनमा दैनिक आधा दर्जनको हाराहारीमा विभिन्न ठाउँबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन् ।

उक्त सडकको केही समय अघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अवलोकन गर्दै समयमै सम्पन्न गर्न आग्रह पनि गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width